Comments Add Comment

‘डाउन सिन्ड्रोम रोग होइन मानवीय अवस्था हो’

१० चैत,काठमाडौं । डाउन सिन्ड्रोम कुनै रोग होइन मानवीय अवस्था हो भन्ने सन्देश प्रवाह गर्दै नेपालमा पनि विश्व डाउन सिन्ड्रो दिवस मनाइएको छ ।

दिवसको मूल नारा ‘मेरो आवाज मेरो समुदाय’ रहेको छ । काठमाडौंको कपुरधारास्थित डाउन सिन्ड्रोम समाज नेपालको अगुवाईमा मनाइएको यो दिवसमा डाउन सिन्ड्रोमबारे जनचेतना जगाउन र्‍याली समेत आयोजना गरिएको छ ।

हरेक वर्ष २१ म्ार्चलाई डाउन सिन्ड्रोम दिवसका रुपमा अन्तर्राष्ट्रिय रुपमा मनाउने गरिन्छ । नेपालमा डाउन सिन्ड्रोम भएका मान्छेहरुको कुनै यकिन तथ्यांक छैन । पछिल्लो पटक डाउन सिन्ड्रोम समाजले यस्ता अवस्थाका विशेष गरि बालवालिकाहरुलाई संरक्षण र सहयोग दिँदै आएको छ ।

के हो डाउन सिन्ड्रोम

मानव शरीरमा सामान्यतः ४६ ओटा क्रोमोजोम हुन्छन् । डाउन सिन्ड्रोम अवस्थामा ४७ ओटा क्रोमोजोम हुन्छन् । यसले मानिसलाई शारीरिक रुपमा अशक्त बनाउँछ ।

यस्तो एउटा बढी क्रोमोजोम हरेक २१औं जोडीमा देखिने भएकाले विश्व डाउन सिन्ड्रोम दिवस मार्च २१ म्ा मनाउन थालिएको हो ।

डाउन सिन्ड्रोमलाई रोग मानेर बस्ने परम्पराको अन्त हुनुपर्ने सन्देश यो दिवसमा दिइएको छ । महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव महेन्द्र थापाले डाउन सिन्ड्रोम अवस्थालाई बौद्धिक अपांगताभित्र राखिएको र उनीहरुलाई राज्यबाट दिइने सुबिधा उपलव्ध गराइने बताए ।

नेेपालमा डाउन सिन्ड्रोम भएकाहरु संगठित हुने क्रम बढेको समाजका अध्यक्ष शीला थापाले बताइन् । डाउन सिन्ड्रोम दिवसका अवसरमा यो अवस्थाका युवालाई आत्मवल बढाउन तालिम उपलव्ध गराउने लैनचौरस्थित सिल्भर माउन्टेन स्कूल अफ म्यानेजमेन्टलाई सम्मानसमेत गरिएको थियो ।
दिवसका अवसरमा डाउन सिन्ड्रोमबारे जानकारीमूलक अन्तरक्रिया,खेलकुद,नृत्य जस्ता रचनात्मक कार्यक्रम समेत आयोजना गरिएको आयोजकले बताएका छन् ।

यस वर्षबाट डाउन सिन्ड्रोमबारे जानकारीमूलक क्लालेन्डर, पोस्टर लगायतका जानकारीमूलक प्रचार सामाग्री समेत सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment