Comments Add Comment

दर्ता भएका निजी हतियार खोज्न सुरु

१० चैत, काठमाडौं । गृह मन्त्रालयले इजाजत लिएर राखिएका निजी हतियार फिर्ता लिन दिएको निर्देशन अनुरुप स्थानीय प्रशासनले हतियार  खोज्न सुरु गरेको छ ।

आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षामा चुनौती बन्न सक्ने भन्दै गृहले हतियार खोज्न केही दिनअघि जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो । चुनाव अवधिभरका लागि ती हतियार फिर्ता लिने गृहको निर्देशन छ । त्यस अनुसार जिल्लास्थित प्रशासन कार्यालयहरुले सर्वसाधारणले दर्ता गरेर घरमा राखेका हतियार खोज्ने काम सुरु गरेका छन् ।

मोरङ जिल्ला प्रशासनले पनि गृहको निर्देशन अनुसार निजी हतियारको विवरण प्रहरीलाई उपलब्ध गराई खोजी कार्य अगाडि बढाएको सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले बताए ।

‘जिल्लामा लाइसेन्सप्राप्त हतियारसहितको विवरण जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराइसकेका छौं’, पौडेलले भने, ‘अब सुरक्षा समितिको बैठकबाट हतियार फिर्ताको लागि जिल्लावासीलाई अनुरोध गर्नेछौं ।’

मोरङमा प्रशासनसँग अनुमति लिएर ७ सय २६ जनाले निजी हतियार राखेका छन् । तीमध्ये अहिलेसम्म कसैले पनि प्रहरीलाई हतियार नबुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उता जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि अनुमति लिएर राखिएका हतियारहरु बुझाउन सर्वसाधारणलाई चैत २० गतेसम्मको समय दिएको छ ।

‘चैत २० गतेभित्र सर्वसाधारणले आफूसँग राखेको सम्पूर्ण हातहतियार बुझाउन आग्रह गरेका छौं’, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले अनलाइनखबरलाई बताए, ‘सो अवधिभित्र कसैले हतियार नबुझाएमा कारवाही गर्नेछौं ।’

विराटनगरबाट ध्रुव भट्टराई र भैरहवाबाट सलमान खान 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment