Comments Add Comment

चीन जानुअघि मोर्चासँग सहमति गर्ने प्रधानमन्त्रीको प्रयास, ओली र यादवसँग छलफल

आजै बेलुका बालुवाटारमा प्रमुख दलवीच वार्ता हुने

१० चैत, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विहीबार साँझ चीन प्रस्थान गर्नुअघि नै मधेसी मोर्चासँग लिखित सहमतिपत्रमा हस्ताक्षर गर्ने प्रयास अघि बढाएका छन् । यसका लागि सिंहदरबारमा मधेसी मोर्चा र एमालेका नेताहरुसँग प्रधानमन्त्रीले बेग्लाबेग्लै छलफल गरेका छन् ।

मोर्चाका नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीले एमाले नेताहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीसँगको छलफलपछि मधेसी मोर्चाका नेताहरु पनि आन्तरिक बैठकमा जुटेका छन् ।

दिल्लीबाट आजै फर्किएका मधेसी गठबन्धनका नेता उपेन्द्र यादवले विहीबार अपरान्ह सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन् । सो छलफलमा मधेसी मोर्चाका नेता राजेन्द्र महतोलगायत सहभागी थिए ।

यादव र महतो प्रधानमन्त्रीसँगको छलफल सकेर बाहिरिनासाथ प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष बामदेव गौतमसँग छलफल थालेका छन् ।

सभामुख ओनसरी घर्ती भने रोल्पामा भएकाले शीर्ष नेताको बैठकमा सहभागी छैनन् ।

यसैवीच मोर्चा र अन्य दलसँग बेग्लाबेग्लै छलफल गरिसकेपछि विहीबार साँझ नै बालुवाटारमा मोर्चा, एमाले र सत्तापक्षका नेताहरुको संयुक्त बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले अनलाइनखबरलाई जानकारी दियो ।

सो बैठकमा मधेसी मोर्चासँग लिखित सहमतिपत्रमा हस्ताक्षर गर्ने प्रधानमन्त्रीको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment