Comments Add Comment

जन्मदिनमा कंगनाः बाबु-आमासँग झगडा गरेर बनेकी थिइन् नायिका


बलिउडकी चर्चित एवं सफल नायिका कंगना रनौट ३० वर्ष लागेकी छिन् । यसपटक उनले आफ्नो जन्मदिन मुम्बईमा मनाउने भएकी छिन् । गएको वर्ष कंगनाले आफू जन्मेको गाउँ भाँबला गएर परिवारका सदस्यसँग जन्मदिन मनाएकी थिइन् ।

सुटिङको कारण यसपाली उनी गाउँ जान नपाएको केही भारतीय समाचार संस्थाले उल्लेख गरेका छन् । पछिल्लो समय कंगना बलिउडको एक्ली अभिनेत्री हुन्, उनले अभिनय गरेको चलचित्र हेर्ने दर्शकले फिल्म भित्र हिरोको खोजी गर्दैनन् । उनले अभिनय गरेका केहि चलचित्रले एक सय करोड भन्दा बढीको ब्यापार गरेका छन् ।

२३ मार्च सन् १९८७ मा हिमाञ्चलको मण्डी जिल्लामा एक राजपुत परिवारमा उनको जन्म भएको थियो । उनको परिवारमा उनकी दिदी रंगोली र भाइ अक्षत छन् । उनकी आमा आशा रनौत शिक्षिका हुन् भने बुबा ब्यापारमा संलग्न छन् ।

कंगनाको बुबाको चाहना थियो छोरी डक्टर बनोस् तर, १२ कक्षामा उनी फेल भइन् । त्यहि वेला उनको बुबा आमासँग उनको झगडा पर्‍यो । बाबु आमासँग झगडा गरेर उनी करिअरको खोजी गर्दै मुम्बई पुगेकी थिइन् ।

मुम्बई पुगे लगत्तै उनले ४ महिना अभिनयको प्रशिक्षण लिइन् । उनले पहिलो चलचित्रबाटै ग्लोबल इण्डियन फिल्म अवार्डमा बेष्ट फिमेल डेब्युको अवार्ड पाउन सफल भईन् ।

उनले अहिलेसम्म ३० चलचित्रमा अभिनय गरेकी छिन् । चलचित्र ‘तनु वेड्स मनु र क्वीन’मा अभिनय गरेपछि तारिफ बटुल्न सफल भइन् । शानदार अभिनयकै कारण तीन पटक नेशनल अवार्ड पनि उनले पाईन् ।

चलचित्र ‘फेशन’बाट पहिलो पटक सन् २००८ मा उनले नेशनल अवार्ड पाएकी थिइन्, जतिवेला उनी २२ वर्षकी थिईन् । कम उमेरमा नेशनल अवार्ड पाउने उनी पहिलो भारतीय महिला हुन् । अचम्म लाग्दो कुरो उनले अहिलेसम्म जम्मा १० वटा मात्रै चलचित्र हेरेकी छिन् । उनलाई चलचित्र हेर्न मनै लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment