Comments Add Comment

६४ जिल्लामा मतदानस्थल तय, चैत १७ बाट मतदाता शिक्षा कार्यक्रम

११ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा मतदानस्थल निर्धारण भएको छ । निर्वाचन आयोगले बिहीबारसम्म विवरण पठाइसक्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो ।

६४ वटा जिल्लाले मतदानस्थल निर्धारणको विवरण पठाए पनि मतदान केन्द्रबारे भने अझै टुंगो लागेको छैन । आयोगले गाउँपालिका र नगरपालिकाको वडामा रहेका मतदाता नामावलीको अन्तिम टुंगो लगाउन बाँकी रहेकाले मतदान केन्द्र टुंगो लाग्न नसकेको हो । आयोगले एउटा मतदान केन्द्रमा बढीमा एक हजार मतदाता हुने गरी मतदान केन्द्र तोक्ने गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

दुई नम्बर प्रदेशका ८ जिल्लासहित तीन पहाडी जिल्लाबाट भने विवरण आउन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । प्रदेश नम्बर दुईका आठवटा जिल्लाले एक–दुई दिनभित्रै मतदानस्थलको विवरण पठाउने आयोगका कर्मचारीले दाबी गरेका छन् । २ नम्बर प्रदेशमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट छन् ।

छुट भएका दलले निर्वाचनमा सहभागी हुन पाउने

निर्वाचन आयोगमा जिल्लामा दर्ता छुट भएर निवेदन दिने दलहरूलाई स्थानीय निर्वाचनमा सहभागी हुन पाउने निर्णय गरेको छ । आयोगको बैठकले जिल्लामा दर्ता गर्न छुट हुनुको चित्तबुझ्दो कारणसहित निवेदन दिएका दललाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको हो ।

आयोगले जिल्लामा दर्ताका लागि छुटेका दललाई २६ फागुनमा तीन दिनको म्याद दिएर निवेदन दिन सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा म्यादभित्र निवेदन दिएका दलहरूबारे आयोगले निर्णय लिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, जनमोर्चालगायतका दलले केही जिल्लामा दर्ता गर्न छुटाएका थिए ।

बिहीबारदेखि मतदाता शिक्षा अभियान

आयोगले १७ चैतबाट मतदाता शिक्षा कार्यक्रम देशभर सञ्चालन गर्दै छ । यसैको तयारी गर्न आयोगले क्षेत्रीयस्तरमा शनिबार र आइतबार तालिम सञ्चालन गर्दै छ । जिल्लाबाट आएका प्रतिनिधिलाई १२ समूहमा विभाजन गरी विराटनगर, सिन्धुली, हेटौँडा, काठमाडौं, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढीमा तालिम दिने तयारी आयोगले गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment