Comments Add Comment

गोलीका छर्रा चिलाए, क्रान्तिका सपना विलाए !

प्रधानमन्त्रीज्यू, कहिले बन्छ नयाँ नेपाल ?

चौध वर्षको उमेर छँदा काँधमा बन्दुक भिरेको फोटो दुई ठूला अखबारको बाहिरी पृष्ठमा छापिँदा उनी कम्ति हौसिएका थिएनन् । ‘दुश्मनलाई सिध्याएर’ नयाँ नेपाल बनाइछाड्ने उनको अठोट अझै दृढ भएको थियो । तर, अहिले समयले कोल्टे फेरिसकेको छ ।  ती बाल छापामार थिए, अछाम रामारोशनका कमानसिंह साउद (क.जोशिला) । उपनाम जस्तै उनी जोशै जोशले भरिएका थिए ।

पार्टीले दिएको निर्देशन पालना गर्दै सानो उमेरमा ठूला लडाईमा सामेल भए । बेनी, पाल्पा, बुटवल, कपिलवस्तु, रुकुम, पाण्डुसेन लगायत थुप्रै ठाउँका लडाईमा लड्दा उनको ज्यान धन्न जोगियो । उमेर र अनुभव वढ्दै जाँदा जिम्मेवारी पनि थपिँदै गयो । प्लाटुन भिसीसम्म भए ।

तर विगतमा शोषक र सामन्ती भनेर ‘कारवाही’ गरिएका पात्रहरु नै पछि स-सम्मान पार्टीमा भित्रिन थालेपछि साउदमा निराशा बढ्यो । सांगठनिक असन्तुष्टि पनि चुलिँदै गएपछि अन्ततः उनी निस्कृय बनिदिए ।

जनयुद्ध लडेको दल शान्ति प्रक्रियापछि सत्तामा पुग्यो । आफ्नै पार्टीको सरकार आएपछि साउद आफ्नो शरीरमा लागेका गोलीका छर्राका दाग देखाउँदै धेरैपटक काठमाडौं धाए । पार्टी नेताहरुको दैलो चहारे । तर, केही हात लागेन ।

क्रान्तिको सपना देखेर जीवनमरणको लडाईमा होमिएका यी पूर्वछापामार अन्ततः म्यानपाावरलाई एक लाख ६० हजार रुपैयाँ वुझाएर मलेसियाको एक कम्पनीमा सेक्युरिटी गर्न आइपुगे । तलव पनि ठीक टाइममा नआउने कम्पनीमा उनले दैनिक १२ घण्टा विताउन थाले ।

करीव दुई वर्ष जसोतसो विताए । तर उनले सोचेजस्तो भएन । उनी त्यसै पनि रोगी थिए । बिस्तारै शरीरमा लागेका गोलीका छर्राहरु चिलाउन थाले । हुँदा-हुँदा शरीर नै सुकेर जान थाल्यो । कम्पनीले दिने मासिक पचास रिंगेट उपचार गर्दैमा सकिन्थ्यो, तर पनि रोग झन् बल्झँदै गयो ।

आफूलाई नेपाल फिर्ता झिकाउनको लागि उनले वारम्वार म्यानपावरलाई फोन गरिरहे, तर म्यानपावरले सुनेन । अन्ततः साउदले कम्पनी छाडिदिए । साथीभाइसँग चन्दा सकंलन गरेर नेपाल पुगे ।

यतिबेला फेरि पनि उनी सिंहदरबार धाउँदैछन् । विगतमा आफूले सुरक्षा दिएका पुराना नेताहरुलाई भेट्दैछन् । सकभर प्रधानमन्त्रीलाई नै भेट्ने चाहना छ उनको तर पूरा भएको छैन ।

उनका आँखामा अहिले आँशु छचल्किएको देख्न सकिन्छ । भावुक बन्दै भन्छन्, ‘राज्य बदल्न भनेर बन्दुक वोकाइएका मजस्ता हजाराैं  युवाहरु खाडीमा हाड घोटिरहेका छन् । नेताहरु सत्ताको सिरक ओढेर आरामले निदाइरहेका छन् । के यही हो नयाँ नेपाल ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment