Comments Add Comment

‘हट सिट’मा कर्ण लिम्बूः नवयुगलाई बिर्साउने चुनौती

एसियन कपको छनोट चरणअन्तरगत नेपाल र फिलिपिन्सबीचको म्याचपूर्व ‘हट सिट’ मा छन् कर्ण लिम्बु । ३१ वर्षीय स्ट्राइकरसामू सुपरस्टार नवयुग श्रेष्ठको अभावलाई पूर्ति गर्ने चुनौती छ ।

तीन वर्षपछि उनले राष्ट्रिय टीममा मौका पाएका हुन् र उनलाई यो मौका खेल फाल्नु छैन । त्यसैले निःशन्देह दबाव महसुस गरिरहेका होलान् । घरेलु फुटबलमा राम्रो र्फममा रहेका उनीबाट नेपालले धेरै आशा गरेको छ ।

घरेलु फुटबलका ‘दादा’

करिव आधा शताव्दी लामो इतिहास बोकेको काठमाडौंको मछिन्द्र क्लबले २०७० सालमा सम्पन्न शहीद स्मारक ए डिभिजन फुटबल लिगमा ऐतिहासिक प्रदर्शन गर्दै लिगको उपबिजेता बन्यो । राउण्ड रोविन लिगमा पाचौं स्थानमा रहेर सुपर सिक्समा पुगेको मछिन्द्र त्यसयताका सबै खेल जितेर दोस्रो स्थानमा आएको थियो । टिमलाई त्यहाँसम्म ल्याउन सबैभन्दा बलियो हात रह्यो पूर्वेली स्ट्राइकर लिम्बुको ।

१० बर्षदेखि काठमाडौंमा रहेर संघर्ष गरिरहेका लिम्बुको उदय त्यही लिगदेखि भएको हो । उनले लिगमा ११ गोल गर्दै मछिन्द्रलाई मात्र उपविजेता मात्र बनाएनन्, आफू पनि लिगको उत्कृष्ट स्ट्राइकरमा दरिए ।

२०७० को ए डिभिजन लिगमा उत्कृष्ठ स्ट्राइकरको उपाधि लिँदै कर्ण । तस्वीरः गोलनेपाल डट कम

त्यसयता घरेलु फुटबलमा उनको दबदबा आजपर्यन्त जारी छ । मछिन्द्र एन्फाको कारबाहीमा परेपछि घरेलु क्लब झापा ११ मा उनी अनुबन्ध भए । उनैको एकछत्र प्रदर्शनको बलमा झापा ११ ले पछिल्लो तीन सिजनमा ५ उपाधि जितेको छ भने त्यति नै प्रतियोगितामा उपबिजेता बनिसकेको छ ।

राष्ट्रिय टोलीबाट नजरअन्दाज

घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शनका बाबजुद पनि कर्ण राष्ट्रिय टोलीमा स्थान बनाउन भने संघर्षरत नै रहे । सन् २०१४ को मार्चमा यमनसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली टोलीबाट डेब्यु गरेका उनले त्यसपछि अहिलेसम्म अन्तर्राष्ट्रिय खेलमा अवसर पाएका थिएनन् ।

छरिता कदका स्ट्राइकर कर्णले हरेक सिजन व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्थे तर, राष्टिय टोलीमा भने पर्दैनथे ।

तर यसमा उनको गुनासो छैन । ‘जव मैले राम्रो खेलिरहेको थिएँ, टोलीमा मेरो पोजिसनका मभन्दा राम्रा खेलाडी थिए । जुमानु राई, सन्तोष साहुखल, अनिल गुरुङ जस्ता खेलाडीसामू म कमजोर नै थिएँ होला सायद’ कर्णले चिक्त बुझाउँछन् ।

भारतमा सम्पन्न गत संस्करणको साफमा राष्ट्रिय टोलीबाट नपरेको क्षणमा चाहीँ उनी निकै निराश भएका रहेछन् । निराशा व्यक्त गर्ने माध्यम उनले सामाजिक सञ्जाललाई पनि बनाएका थिए । जीवनमा एक पटक साफ खेल्ने चाहना पूरा नभएपछि निराशा व्यक्त गरेको कर्ण स्वीकार्छन् ।

‘यत्रो बर्ष फुटबल खेलेँ, एकपटक साफ त खेल्छु जस्तो लागेको थियो तर, २४ जनाबाट २० जनाको टोली निकाल्दा म फालिएँ, फुटबल नै किन खेल्नेजस्तो लागेको थियो’ कर्णले सम्झन्छन्, ‘त्यतिबेला म राम्रो र्फममा पनि थिएँ ।’

प्रमाणित गर्ने दबाव

तीन बर्षपछि कर्णले एसियन कप छनौट अन्तर्गत अर्को साता फिलिपिन्ससँग हुने खेलका लागि नेपाली टोलीमा स्थान बनाएका छन् । दुई पटक छनौट गरेर प्रशिक्षक ग्योतोकु कोजीले अन्तिम टोलीमा उनलाई समावेश गरेका हुन् । नवयुग श्रेष्ठ घाइते हुनु र अनिल गुरुङ ड्रप हुनुले उनको बाटो खुलेको हो ।

दोस्रो पटक राष्ट्रिय टोलीमा परेका कर्ण आफूलाई राम्रो प्रदर्शनको दबाव रहेको स्वीकार्छन् । ‘टोलीमा युवा खेलाडीहरुको बर्चश्व छ । मैले ढिलै भए पनि अवसर पाएको छु, राम्रो खेल्नुपर्ने चुनौती छ,’ उनले भने ।

नेपाली टोलीका कप्तान बिराज महर्जनले पनि राष्ट्रिय टिमबाट कर्णलाई राम्रो खेल्न चुनौती रहेको बताउँछन् । ‘ढिला गरी टिममा आएको छ, उसले आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती छ,’ कप्तानले भने ।

एक बर्षदेखि नेपाली टोलीको प्रशिक्षण सम्हालिरहेका ग्योतोकु कोजीसँग कर्णले पहिलोपटक प्रशिक्षण लिँदैछन् । ‘मेरो खेल्ने शैली र कोचले सिकाउनुभएको शैली मिलेको छ । कोचले बल पोसेसन राखेर टच खेल्न मन पराउनुहुन्छ,’ कर्णले भने ।

फिलिपिन्सबिरुद्धको खेल नेपालका लागि निक्कै चुनौतिपूर्ण हुने कर्णको अनुमान छ । भन्छन्, ‘हामीभन्दा ४६ पोजिसनमाथि भएको टोलीले कुनै पनि बेला गोल निकाल्न सक्छ, हामीले सचेत भएर खेल्नुपर्छ, कतिपय अवस्थामा रक्षात्मक पनि बन्नुपर्छ ।’

फुटबल जीवनका संघर्ष

झापाको चन्द्रगढीमा जन्मिएका कर्णले झापाको पुरानो मुनाल कपबाट फुटबल करिअर सुरु गरेका हुन् ।

करिव डेढ दशकको फुटबल जीवनमा उनले थुप्रै संघर्ष झेलेका छन् । ‘करिअरको सुरुवातमा निक्कै गाह्रो भयो, फुटबल किन्ने पैसा हुँदैनथ्यो, प्रतियोगिता पनि नहुने’ कर्णले भने, ‘सामान्य किसाको छोरा हुँ म, त्यसैले खेल्नका लागि आफैंले पैसा जोहो गर्नुपथ्र्यो ।’

पूर्वाञ्चलका नकआउट प्रतियोगितामा आफ्नै छाप छोड्न सफल मुनाल क्लबमा रहँदा प्रशिक्षक तथा पूर्व राष्ट्रिय फुटबलर गम्भीर राईबाट खारिएका थिए कर्ण ।

२०६१ सालमा काठमाडौं आएर उनले मछिन्द्र क्लबवाट शहीद स्मारक बी डिभिजन लिग खेल्न थाले । २०६२ सालमा युनाइटेड युथ क्लवबाट बी डिभिजनमै खेले । २०६३ सालमा उनले एनआरटी क्लबबाट ए डिभिजन लिगमा डेब्यू गरे । २०६६ सालमा उनी पुरानै क्लबमा फर्किए र एक सिजन वित्न नपाउँदै २०६७ देखि जावलाखेलबाट दुई सिजन खेले ।

२०६९ र ७० को सिजन भने उनले मछिन्द्रमै बिताए । मछिन्द्रको गोल्डेन जेनेरेसनका सदस्य उनी पछिल्लो तीन सिजनदेखि झापा ११ बाट खेलिरहेका छन् । ए डिभिजन लिगमा उनले तीन दर्जनभन्दा बढी गोल गरेका छन् भने सबै प्रतियोगितामा गरेर उनले एक सय भन्दा बढी गोल गरिसकेका छन् ।

घरेलु फुटबलको अवस्थाबाट निराश

घरेलु फटबलको अवस्था देख्दा दिक्दार लाग्छ कर्णलाई । २०७२ बैशाखमा गएको भूकम्पदेखि नेपालमा भएको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला पनि खेल्न नमिल्ने गरी बिगि्रएको छ । घरेलु लिग सुरु हुन सकेको छैन ।

अरु खेलाडीजस्तै उनको निराशाको प्रमुख कारण यही हो । ‘नयाँ खेलाडीको उत्पादनमा मूख्य प्रतियोगिता भने लिग हो, तर हामीकहाँ त लिग नभएको धेरै भइसक्यो, गोल्डकपले मात्र देशको फुटबल कति धान्ला ?’ कर्ण प्रश्न गर्छन् ।

मोफसलमा हुने गोल्डकप फुटबलले नयाँ खेलाडीको उत्पादन त परै जाओस् भएका खेलाडीहरुका लागि पनि उत्पादक नहुने कर्णको तर्क छ । उनले थपे, ‘गोल्डकप फुटबल खेल्न गयो, दुई खेलमा जितिन्छ तेस्रोमा हारेर फिर्ता आएपछि केहि न केहि, पैसा आउनको लागि उपाधि जित्नै पर्छ, नत्र उस्तै हो ।’

यद्यपि, आफ्नो फुटबल जीवनबाट उनी पूर्ण असन्तुष्ट भने छैनन् । सामान्य पारिवारिक पृष्ठभूमिबाट उनले फुटबलबाटै कमाएको पैसाले जीवन धानिरहेका छन् ।

‘चन्द्रगढीमा घर बनाउँदै छु,’ उनले सुनाए, ‘व्यवसायमा पनि लगानी गरेको छु ।’

तस्वीरः श्रीधर पाैडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment