Comments Add Comment

हेमन फाउण्डेसनले दुबईमा सांस्कृतिक कार्यक्रम गर्ने

दुबई । ‘अँध्यारोबाट उज्यालोतिरको यात्रा, शिक्षाको लागि सांगीतिक अभियान’ लिएर हेमन फाउन्डेसनले दुबईमा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा गायक हेमन मोक्तान, गायिका मल्लिका कार्की र नायिका रजनी केसीको धमकेदार प्रस्तुति रहनेछ ।

उनीहरुलाई युएईमा कार्यरत नेपाली कलाकारहरुले पनि साथ दिने आयोजकले बताएका छन् ।

अनाथ, असहाय तथा विपन्न बालबालिकाहरुको शिक्षा सहयोग गर्ने लक्ष्य लिएर फाउन्डेसनले आगामी अप्रिल ७ तारिख दुबईको देरा स्थित काल्टन टावर होटलमा उक्त कार्यक्रम गर्न लागेको आयोजकले अनलाइनखबरलाई बताए ।

कार्यक्रमका आयोजक हेमन फाउण्डेसनका संस्थापक तथा मानवजीवन संरक्षण मञ्चका अध्यक्ष हेमन मोक्तानले कार्यक्रमको तयारीका लागि युएईमा क्रियाशील सबै नेपाली संघसंस्थाहरुसँग सहकार्य गरिरहेको जानकारी दिएका छन् ।

कार्यक्रम व्यवस्थापनको तयारी अन्तिम अवस्थामा पुगेको बताउँदै उनले कार्यक्रममा प्रवेशका लागि युएईमा क्रियाशील विभिन्न संघसंस्थाहरु मार्फत् टिकट वितरण गरिने बताए । युएईमा क्रियाशील नेपाली संस्थाहरु नेपाल आदिवासी जनजाति महासंघ, युएई, एनआरएनए युएई र नेपाली समाज युएईको विशेष सहयोग रहने र युएईमा सक्रिय सम्पूर्ण संघसंस्थाहरुसँग छलफल भइरहेको बताउँदै सम्पूर्ण संस्थाहरुको सहयोग रहनेमा फाउन्डेसन आशावादी रहेको पनि बताए ।

कार्यक्रमको उदेश्य सामाजिक रहेका कारण नेपाल पत्रकार महासंघ युएईले पनि सक्रियतापूर्वक सहयोग गर्ने नेपाल पत्रकार महासंघ युएई शाखाका उपाध्यक्ष लक्ष्मण खनालले अनलाइनखबरलाई बताए ।

कार्यक्रमबाट संकलित रकम अनाथ, असहाय, विपन्न बालबालिकाहरुको शिक्षामा, पुस्तकालय निर्माणमा लगानी गरिने आयोजकको लक्ष्य रहेको छ । बालबालिकाको शिक्षामा सहयोग गर्ने उदेश्य बोकेको यस्तो पवित्रकार्यमा सहयोग र साथ दिनका लागि युएईका सम्पूर्ण नेपाली संघसंस्थाहरु तथा सर्वसाधारण सबैलाई फाउन्डेसनले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment