Comments Add Comment

३० महिनामा यस्तो बन्दै छ भैरहवा शहर

फुटपाथ, सोलार बत्तीदेखि ग्रिन बेल्टसम्म


११ चैत, भैरहवा । ०२० को दशकसम्म गाउँको रुपमा रहेको भैरहवा ५० वर्षको अन्तरालमा आज देशकै नमुना शहर बनेको छ । नगरक्षेत्रमा विकासको रफ्तार अझै जारी नै छ ।

पछिल्लो समय भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया–बुटवल ६ लेन सडक, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला लगायत विकासका कामहरु तीव्र रुपमा भइरहेका छन् । यस्तै, ठूल्ठूला भवन, सुविधाजनक होटलहरु पनि धमाधम निर्माण हुने क्रमले शहरको स्वरूप परिवर्तन हुँदै छ ।

रुपन्देहीको सदरमुकाम सिद्धार्थनगर नगरपालिका (भैरहवा क्षेत्र) अबको साढे दुई वर्ष (३० महिना) मा कायापलट हुँदै छ । नगरपालिकाका १३ वटै वडामा विकासे योजना सञ्चालित छन् भने केही वडामा सुरु हुने प्रक्रियामा छन् । विकासका काम तीव्र गतिमा भइरहँदा स्थानीयहरु उत्साहित छन् ।

सडकमा व्यवस्थित फुटपाथ र हरियाली

भैरहवा शहरमा विकासको झलक सडकबाटै मिल्नेछ । सडकको दुवैतर्फ नाला, फुटपाथ, सोलार बत्ती र खानेपानीको पाइप लगाइनेछ । फराकिलो सडक छेउछाउमा ‘ग्रिन बेल्ट’ छुट्याएर हरियाली बढाइनेछ ।

एसियाली विकास बैंकको (एडीबी) सहयोगमा जारी एकीकृत शहरी विकास योजना (आईयुडीपी) अन्तर्गतको लगभग काम सकिएको छ । यस आयोजना अन्तर्गत खजहाना, उदयपुर, जनकपथ, चिल्ड्रेन पार्क रोड लगायतस्थानमा दुवैतर्फ नालासहितको सडक निर्माण भइसकेको छ ।

नारायणपथ र गल्लामण्डीमा अबको केही महिनामा काम पूरा हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख गोपालप्रसाद रेग्मीले बताए । उनका अनुसार, आयोजना अन्तर्गत करिब नालासहितको साढे १० किलोमिटर चिल्लो सडक निर्माण भइसकेको छ ।

आईयुडीपी जाँदै, आरयुडीपी आउँदै

एकीकृत शहरी विकास योजना (आईयुडिपी) को काम लगभग सम्पन्न हुन लागेको अवस्थामा एडीबीले नगरको विकासको लागि अर्को आयोजना थपेको छ । दुई अर्ब ३८ करोड रुपैयाँको अर्को क्षेत्रीय शहरी विकास आयोजना (आरयुडीपी) थप गरेको आयोजना प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिए । यसमा कुल बजेटको ७ प्रतिशत लागत सिद्धार्थनगर नगरपालिको रहनेछ ।

‘यस आयोजनाको लागि टेण्डर आह्वान भइसकेको छ’, आयोजना प्रमुख श्रेष्ठले अनलाइनखबरसँग भने, ‘निर्माण कम्पनीसँगको सम्झौतापछि काम सुरु हुनेछ ।’ आयोजनाको काम साढे दुई वर्षमा सक्ने लक्ष्य छ ।

अब थपिने आरयुडिपी आयोजना अन्तर्गत नगरभित्रको नाला, फुटपाथ र सोलार बत्ती, हरियाली सहितको २५ किलोमिटर सडक निर्माण गरिनेछ । अबको ३० महिनामा विभिन्न ३५ स्थानमा सडक निर्माण हुने आयोजनाका इञ्जिनियर यमलाल पाण्डेले बताए । यस्तै, यसअघि बनाइसकिएको साढे दस किलोमिटर सडकमा निर्माण गर्न बाँकी रहेको फुटपाथ बनाउने र सोलार बत्ती लगाउने पनि योजना छ ।

यो आयोजना अन्तर्गत पनि सडकको छेउमा दुवैतर्फ नाला, फुटपाथ, बिजुली, टेलिफोनका पोल, खानेपानीको पाइप र सोलार बत्ती लगाइनेछ । यस्तै, सडक छेउछाउमा ग्रिन बेल्ट पनि हुनेछ । मुख्य सडक कालोपत्रे गरिनेछ भने भित्री सडकलाई आरसीसी गरी निर्माण गरिनेछ ।

बसपार्क स्तरोन्नति गरिने, पिकनिक स्पट छुट्टै

भैरहवा बसपार्कलाई अबको केही महिनामा आधुनिक र व्यवस्थित देख्न पाइनेछ । बसपार्कको स्तरोन्नतिका लागि शहरी विकास मन्त्रालयले टेण्डर आह्वान गरिसकेको छ ।

अहिलेसम्म भैरहवा क्षेत्रमा पिकनिक स्पट नरहेको अवस्था पनि अब धेरै रहने छैन । सिद्धार्थनगर नगरपालिको वडा नम्बर २ स्थित करिब ३ विघा १८ कठ्ठा क्षेत्रफलमा फैलिएको पञ्चवाटिका क्षेत्रलाई पार्क र पिकनिक स्पटको रुपमा निर्माण गर्ने योजना छ ।

‘भैरहवावासीले पिकनिकका लागि पनि भैरहवा क्षेत्र बाहिर जानुपर्ने अवस्था छ’, आयोजनाका इञ्जिनियर यमलाल पाण्डेले भने, ‘यसैले हामीले पञ्चवाटिका क्षेत्रलाई पिकनिक स्पट बनाउने काम छिटै थाल्दै छौं ।’

फाइल फोटो

डुबानको समस्या समाधान हुने

भैरहवा क्षेत्रको अहिको अवस्था के छ भने, २४ घण्टा लगातार वर्षा भयो भने बजार नै डुबानमा पर्छ । यो समस्या निराकरणका लागि नगरक्षेत्रमा १२.२५ किलोमिटरमा ढल निर्माण हुने भएको छ ।

इञ्जिनियर पाण्डेका अनुसार, अन्नपूर्ण थप देखि घाघरा खोलासम्म, संस्कृति विद्याश्रमदेखि डण्डा खोला, बसडिलियाको रहमान चोकदेखि बौद्ध गुम्बा, गुम्बो उत्तर दिशादेखि लुम्बिनी रोड हुँदै घाघरा खोला, बृहस्पति कलेजदेखि डण्डा खोला, खजहाना देखि ओमकोलनी हुँदै मेउडिहावा लगायतका स्थानमा मुख्य नाला निर्माण हुने भएको हो ।

५० करोड बजेटले थप काम

सरकारले तराईका जिल्ला सदरमुकामको विकासका लागि छुट्याएको ५० करोड बजेटले पनि भैरहवाको विकासमा उपयोग गर्ने योजना छ । सो रकमबाट आईयुडीपी र आरयुडीपी आयोजनामा नपरेका सडकलाई प्राथमिकतामा राखेर काम गरिने बताइएको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गत आउने सो बजेटले खासगरी नगरभित्रको विपन्न बस्ती र ग्रामीण क्षेत्रका सडक निर्माण हुनेछ । नगरभित्रको ग्रामीण क्षेत्रका अत्यावश्यक ५७ वटा सडक (३०.३८ किलोमिटर) निर्माणको लागि योजना बनाइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख गोपालप्रसाद रेग्मीले बताए । यसको लागि लागत इस्टिमेट, डिजाइन र नक्साको काम भइरहेको छ ।

उनका अनुसार, प्रत्येक वर्ष ५० करोड रुपैयाँ आउने भएकाले आउने बजेट फ्रिज हुन नदिन बहुवार्षिक आयोजना बनाउने प्रक्रिया समेत सुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment