Comments Add Comment

पर्वतमा अर्को कीर्तिमानी अग्लो पुल बन्ने

कुश्मा-मुडिकुवा झोलुङ्गे पुल । यो एसियाकै लामो र अग्लो स्थानमा भएको दाबी गरिएको छ ।

११ चैत, पर्वत । पछिल्लो समयमा अग्ला र लामा पुलहरुको जिल्लाका रुपमा चिनिएको पर्वत जिल्लामा फेरि अर्को कीर्तिमानी पुल निर्माण हुने भएको छ ।

ऊर्जा नदी माथि कुश्माको खरेहादेखि ज्ञादीको अधिकारीफाँट जोड्ने झोलुंग पुल निर्माणको तयारी थालिएको हो । मोदी नदीमाथि निर्माण हुन लागेको पुलको लम्बाई ३ सय ५९ मिटर अनुमान गरिएको छ ।

२ करोड २० लाख लागतमा उक्त पुलको निर्माण कार्यका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर शिव बरालले जानकारी दिए । ‘झोलुंग पुल निर्माणका लागि पहिलो चरणको लागत इस्टिमेटसहित डिटेल सर्भे सकिएको छ,’ उनले भने ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले उक्त सर्भेको रिपोर्ट जिल्ला प्राविधिक कार्यालयमा उपलब्ध गराएको छ । उक्त रिपोर्टलाई ट्रेल वि्रज सपोर्ट युनिटको अन्तर्गतको आरटीएपीले प्रमाणित गरेपछि पुल निर्माणको प्रक्रिया थप अगाडि बढ्ने छ ।

पुलको निर्माण पूरा भएपछि पिपलटारी, कटुवाचौपारी, ठुलिपोखरी, कार्किनेटा र थापाठानाका स्थानीयलाई आवत-जावतमा सहज हुनेछ ।

यो झोलुंग पुलको निर्माणसँगै कुश्मामा चार वटा नेपालका अग्ला झोलुंग पुल निर्माण हुनेछन् । यसअघि कुश्मा-ज्ञादी झोलुंगे पुल, बडागाँउ-कैया झोलुंगे पुल र कुश्मा-मुडिकुवा झोलुंगे पुल सञ्चालनमा आइसकेका छन् ।

कुश्मा-मुडिकुवा झोलुङ्गे पुल सिंगल स्पानबाट निर्मित एसियाकै लामो र अग्लो स्थानमा भएको दाबी गरिएको छ ।

पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गएको कुश्मा बजारमा बन्जि जम्पको लागि कालीगण्डकी नदीमाथि पुल निर्माण कार्य भैराखेको छ । जेठ महिनाभित्र उक्त पुल सम्पन्न भए जिल्लामा पर्यटक खचाखच भरिने विश्वास लिइएको छ ।

-महेन्द्र केसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment