११ चैत, चितवन । चितवनको भरतपुर अस्पतालका लागि छुट्टाइएको ३० विगाहा ११ कठ्ठा ६ धुर जग्गामध्ये अधिकांश बाँडेर सकिएको छ । तर, एक हजार शय्यामा बिस्तार गर्ने गुरु योजना भए पनि जग्गा अभावले अस्पताल प्रशासन छटपटिएको छ ।
अस्पतालबाट बिभिन्न नाममा जग्गा लिएकामध्ये पुरानो मेडिकल कलेज बाहेक अधिकांशले भाडा तिर्दैनन् । भरतपुर आँखा अस्पतालले आफ्नो जग्गा रिसोर्ट सञ्चालकलाई भाडामा लगाएको छ र भरतपुर अस्पतालको जग्गा निःशुल्क प्रयोग गरिरहेको छ ।
भरतपुर अस्पतालका लागि नयाँ भौतिक संरचना थप गर्न जग्गा अभाव देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले बताए ।
लालपूर्जामा ३० बिगाहा ११. कठ्ठा ६ धुर जमिन भरतपुर अस्पतालको नाममा देखिन्छ । तर, अस्पतालले करिव जम्मा १० बिगाहा मात्रै जमिन उपयोग गर्न पाएको छ । बाँकी जमिन अन्य निकायहरुले प्रयोग गर्दै आएका छन् ।
तत्कालीन राप्ती दुन बिकास कार्यक्रम अन्तर्गत जग्गा वितरण गर्ने आयोग टोली संयोजक कृष्ण बम मल्लले भरतपुर अस्पतालको लागि झण्डै ३१ विगाहा जग्गा छुट्टाइदिएका थिए । भरतपुर अस्पतालले निर्माण गर्न लागेको गुरुयोजनामा जग्गा नाप गर्दा जम्मा २९ विगाहा जति मात्रै जमिन देखिन आएको छ । झण्डै डेढ विगाहा जग्गा अतिक्रमणको मारमा परेको देखिन्छ ।
पुरानो मेडिकल कलेज अघिल्तिर भएको नहरको जग्गासमेत भरतपुर अस्पतालको नाममा छ । तर नहर पुरेर सो क्षेत्रमा अहिले सडक बनाइएको छ । अब सो जग्गा सधैंका लागि अस्पतालको स्वामित्वबाट गुम्ने खतरा छ । भरतपुर अस्पताललाई मेडिकल कलेज वा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लैजानुपर्ने अवस्थामा निर्माण गर्नुपर्ने पूर्वाधारका लागि जग्गाको अभाव हुने स्पष्ट देखिन्छ ।
मदन भण्डारी ट्रमा सेन्टर, ओपीडी भवन, शैक्षिक कार्यक्रम सञ्चालनका लागि भवन र प्रशासनिक भवन निर्माणका लागि अस्पतालसँग जमिन छैन ।
क-कसले कति लिएका छन् अस्पतालको जग्गा ?
बिभिन्न संघसंस्थालाई बाँडिएको जग्गाको विवरण हेर्दा लाग्छ विरामीलाई जीवनदान दिँदै आएको अस्पतालको अर्को परिचय जग्गादाता पनि हो ।
भरतपुर अस्पतालको सबैभन्दा बढी जग्गा भाडा नतिरी लिनेमा स्कुल अफ हेल्थ साइन्स छ । भरतपुर अस्पतालकै मूल गेट प्रयोग गर्दै आएको यस संस्थाले निःशुल्क रूपमा ६ विगाहा १९ कठ्ठा १० धुर जग्गा प्रयोग गर्दै आएको छ । सोही जग्गामा अहिले सीटीईभीटीको मध्य क्षेत्र कार्यालय स्थापना गरिएको छ । स्कुल अफ हेल्थ साइन्सले भरतपुर अस्पताललाई न त जग्गा भाडा तिर्ने गरेको छ न त शैक्षिक कार्यक्रम सञ्चालनका लागि सहयोग गरेको छ ।
भरतपुर अस्पतालको जग्गा प्रयोग गर्नेहरुको विवरण
क्र. सं. | निकाय | प्रयोग गरेको जग्गा | कैफियत |
---|---|---|---|
१. | पुरानो मेडिकल कलेज | ९ विगाहा | वार्षिक भाडा तिर्ने गरी |
२. | स्कूल अफ हेल्थ साइन्स (सीटीईभीटी) | ६ विगाहा १९ कठ्ठा १० धुर | भाडा नतिर्ने गरी |
३. | भरतपुर आँखा अस्पताल | ३ विगाहा १७ कठ्ठा १० धुर | भाडा नतिर्ने गरी |
४. | साझा औषधि पसल | १ कठ्ठा १० धुर | वार्षिक भाडा तिर्ने गरी |
५. | रक्त सञ्चार सेवा केन्द्र | २ कठ्ठा १० धुर | भाडा नतिर्ने गरी |
६. | जिल्ला जनस्वास्थ्य कार्यालय | १० कठ्ठा १० धुर | भाडा नतिर्ने गरी |
भरतपुर अस्पतालसँग बाँकी जग्गा | करीब १० विगाहा |
स्कुल अफ हेल्थ साइन्ससँग भरतपुर अस्पतालको जग्गा सम्वन्धी विवाद रहँदै आएको छ । प्रारम्भमा चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत एएनएम कोर्ष अध्ययन अध्यापन गराउने उद्देश्यका साथ सञ्चालित अ.न.मी. विस्तारका लागि क्याम्पसलाई सरकारले यो जग्गा दिएको थियो । पछि त्रिविले उक्त कार्यक्रम स्थगित गर्यो । तर पछि पहुँचका भरमा भरतपुर अस्पतालसँग कुनैपनि सम्झौता नगरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले शैक्षिक कार्यक्रम चलाउँदै आएको छ । यसले गर्दा भरतपुर अस्पतालको जग्गा खुम्चिन गएको छ ।
अस्पतालले सेवा प्रवाह गर्नुपर्ने ठाउँबाट बाध्य भएर प्रविणता प्रमाणपत्र तह र बीएन कार्यक्रम चलाइरहेको छ । एमएन कक्षा सञ्चालन गर्ने तयारी अस्पतालले गरेको छ, तर त्यसका लागि आवश्यक भौतिक पूर्वाधारका लागि जग्गा छैन ।
‘हामीसँग शैक्षिक कार्यक्रम सञ्चालन गर्न छुट्टै भवन छैन । अस्पतालको ‘बी ब्लक’को सबैभन्दा माथिल्लो तलामा कार्यक्रम चलाइरहेका छौं,’ अस्पतालका मेसु डा. मरासिनीले भने, ‘अस्पतालले आफ्नो प्रयाप्त जमिन भएर पनि आफैले उपभोग गर्न पाएको छैन ।’
बिरामीलाई सेवा दिने ठाउँबाट कक्षा सञ्चालन गर्नुपर्ने अबस्था आउनु बिडम्वना भएको मरासिनीको दुखेसो छ ।
अस्पतालले स्कुल अफ हेल्थ साइन्ससँग केही शैक्षिक कार्यक्रमका कक्षाहरू सञ्चालनका लागि कोठा उपलब्ध गराउन माग गरेपनि बेवास्ता गर्दै उल्टै मध्य क्षेत्रिय कार्यालय ल्याएर थपेको छ ।
अस्पतालले आफ्नो केही जग्गा फिर्ताका लागि पटक-पटक वार्ता र ताकेता गरेपनि अझैसम्म सुनुवाई भएको छैन । अस्पतालका तत्कालिन अध्यक्ष बिजय सुवेदीले गत असोज ५ गते सीटीईभीटीले प्रयोग गरेको गर्दै आएको ६ बिगाहा १९ कठ्ठा १० धुर जग्गामध्ये न्युनतम ३ विगाहा १० कठ्ठा जग्गा उपलब्ध गराइदिन पत्र लेखेका थिए । चितवनका राजनीतिक दलको २०७१ असोज ६ गते बसेको सर्वदलीय बैठक र २०७२ जेठ ११ गते बसेको अस्पताल बिकास समितिको बैठकले पनि सो परिमाणको जग्गा माग गर्ने निर्णय गरेको थियो ।
जग्गा माग्नेको लर्को
भरतपुर अस्पतालको जग्गामा धेरैले आँखा गाड्ने गरेका छन् । अस्पतालका अध्यक्ष भएर आउने कतिपय ब्यक्ति र मेडिकल सुपरीटेण्डेन्टले अस्पताल बिकास समितिको बोर्ड बैठकबाट पनि बिभिन्न सामाजिक संघसंस्थाका नाममा जग्गा बाँड्ने गरेका छन् ।
थालेसेमिया सोसाइटी, रोटरी क्लव, बिभिन्न बैकहरु, चिकित्सक संघ, नर्सिङ संघ, ब्लड बैंक, चितवन स्पाइनल इन्जुरी सेन्टर, क्षयरोग निवारण संस्था लगायतका दर्जन भन्दा बढी संघसंस्थाले अस्पतालको जग्गा माग गर्दै आएका छन् । सित्तैमा अस्पतालको जग्गा उपभोग गर्न पनि पाइने, भाडा पनि तिर्न नपर्ने र एकपटक लिएपछि सधैंका लागि कब्जा गर्न पाइने भएकाले अस्पतालसँग जग्गा माग गर्नेको ओइरो लाग्ने गरेको छ ।
रोटरी क्लबलाई चितवन स्पाइनल इन्जुरी सेन्टर चलाउन साढे ५ कठ्ठा जग्गा दिने निर्णय भएको थियो । केही समय अघि भवन निर्माणस्थल भनेर बोर्ड ल्याएर टाँगेको भएपनि क्लबले भवन निर्माण गर्न भने सकेको छैन ।
मदन भण्डारी ट्रमा सेन्टर स्थापना गरी बिषेशज्ञ सेवा प्रदान गर्दै आएपछि रोटरी क्लबका नाममा छुट्टै चितवन स्पाइनल इन्जुरी सेन्टर स्थापना गर्नुको कुनै पनि औचित्य देखिँदैन । रोटरी क्लबले नै अस्पतालको ओपीडी भवन नजिक रोटरी मैत्री पार्क बनाउने जिम्मा दिएको थियो ।
भरतपुर अस्पतालमा विगत ३४ वर्षदेखि कार्यरत बरिष्ठ रेडियोग्राफी निरीक्षक रुमाकान्त भण्डारीले सरकार र अस्पतालको नीति निर्माण तहमा बस्ने ब्यक्तिहरुले अस्पतालको भोलिको सम्भावना र बिकासको गतिलाई मापन गर्न नसक्दा निहीत स्वार्थमा लागेर जग्गा बाँडेको गुनासो गरे ।
कुनै खास प्रयोग बिनै सरकारी जग्गाको जसले संरक्षण गर्नुपर्नेहरुबाटै यस्ता गतिविधि भएको टिप्पणी भण्डारीको छ ।
अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष विजय सुवेदीले अस्पतालको जग्गा फिर्ताका लागि आफूले पहल गरे पनि सफल नभएको बताए । सरकारी निकायहरु नै यसमा उदासिन भइदिँदा समस्या भएको उनको भनाइ छ ।
‘अस्पताल बिकास समितिको तर्फबाट सर्वदलीय र सर्वपक्षिय निर्णय पनि गरियो,’ निवर्तमान अध्यक्ष सुवेदीले भने, ‘सरकारी निकायहरु नै यो मामिलामा अति उदासिन छन् ।’
सुवेदीले अध्यक्ष भएको बेला स्कुल अफ हेल्थ साइन्सले प्रयोग गर्दै आएको करीव ७ विगाहा जमिनमध्ये साढे ३ विगाहा जमिन अस्पतालको शैक्षिक कार्यक्रम सञ्चालन गर्न माग र पहल गरेका थिए । तर उनी सफल हुन सकेनन् ।
आफ्नो जग्गा भाडामा लगाएर अस्पतालको जग्गामा मोज
भरतपुर अस्पतालको ३ विगाहा १७ कठ्ठा १० धुर जग्गा भाडा नतिर्ने गरी भोगचलन गर्दै आएको भरतपुर आँखा अस्पतालले आफ्नो जग्गा भने भाडामा लगाएको छ ।
भरतपुर उकालोमा रहेको आइल्याण्ड जंगल रिसोर्ट सञ्चालनमा रहेको १ बिगाहा ७ कठ्ठा १५ धुर जग्गा भरतपुर आँखा अस्पतालको हो । भरतपुर आँखा अस्पतालले २५ वर्ष अघि मासिक ३५ हजार भाडा लिने गरी आइल्याण्ड जंगल रिसोर्ट चलाउन दिएको नेपाल नेत्र ज्योति संघ भरतपुरका अध्यक्ष चिजकुमार मास्केले जानकारी दिए ।
सम्झौता यही चैत महिनामा सकिँदै छ । आफ्नो जग्गाको भाडा उठाउँदै आएपनि आँखा अस्पतालले भरतपुर अस्पताललाई भने एक पैसा पनि भाडा तिर्ने गरेको छैन । आफ्नो जग्गा भाडामा लगाएर अर्काको जग्गा निःशुल्क रुपमा उपभोग गर्नु उचित नभएको भरतपुर अस्पतालका मेसु डा. मरासिनी बताउँछन् ।
पुरानो मेडिकल कलेजको मनपर्दी
भारतीय नागरिक भी.नटराजले सञ्चालन गर्दै आएको भरतपुर मेडिकल कलेज (पुरानो मेडिकल कलेज) ले भरतपुर अस्पतालको जग्गा कौडीको भाउमा उपयोग गर्दै आएको छ । भरतपुरको केन्द्र भागको प्राइम लोकेशनमा ९ विगाहा जग्गाको प्रतिविगाहा १ लाख रुपैयाँ मात्रै भाडा बुझाउँदै आएको छ मेडिकल कलेजले । त्यही भाडा पनि समयमा कहिल्यै पनि भुक्तानी गरेको पाइदैन ।
२०५३ सालमा जग्गा भाडा सम्वन्धी सम्झौतामा ५० हजार प्रतिविगाहा दिने उल्लेख छ । राप्रपा जिल्ला अध्यक्ष बद्रि तिमिल्सिना अस्पताल विकास समितिको अध्यक्ष भएका बेला २०६२ कात्तिकमा प्रतिविगाहा १ लाख रुपैयाँ बढाउने पुरक सम्झौता गरिएको छ । तर तिमिल्सिनाले ‘यसपछि कहिल्यै पनि भाडा बढाइने छैन’ भनेर मेडिकल कलेजकै पक्षमा सम्झौता गराएका छन् ।
मेडिकल कलेजले भरतपुर अस्पतालको ९ विगाहा जग्गा लिजमा लिएपछि भौतिक संरचना निर्माण भने भरतपुर अस्पतालतर्फ नै च्यापेर बनाएर अर्कोतर्फ जग्गा खाली राखेको छ । त्यो जग्गा उपयोगविहीन बनेको छ ।
जग्गा प्रयोगका लागि गुरुयोजना तयार
भरतपुर अस्पतालको नाममा रहेको जग्गा निःशुल्क वा सशुल्क रुपमा प्रयोग गरिरहेका संघसंस्थाहरुसँग बाँकी बचेको जमिन अस्पतालले उपयोग गर्ने गरी अस्पतालले गुरुयोजना निर्माणको काम अघि बढाएको छ । केही समय अघि चितवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने घोषणा गरेका थिए । केन्द्रीय अस्पताल बनाउने उद्देश्यका लागि नै २०६१ सालमा निर्माण गरिएको गुरुयोजनाको पुनरावलोकन गरिएको छ ।
अस्पतालमा स्वास्थ्य सेवा प्रवाह गर्ने क्षेत्र, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने क्षेत्र र आवास क्षेत्र गरी ३ भागमा बाँडेर गुरुयोजना तयार गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले बताए ।
गुरुयोजना अनुसार भरतपुर अस्पताललाई १ हजार शय्यामा बिस्तार गर्ने लक्ष्य छ । तर, त्यसका लागि जग्गा अभाव भएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले अस्पतालले यसअघि गरेका सहमति पुनरावलोकन गरी बाँकी खाली जग्गा उपयोग गरिने दावी गरे । ‘हामीलाई अहिले नै जग्गाको अभाव छ,’ अस्पताल विकास समितिका अध्यक्ष राजभण्डारीले भने, ‘केन्द्रीय अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालनका लागि त अरु जग्गा चाहिन्छ नै ।’