Comments Add Comment

को थिइन् दुलारी देवी ? जसको निधनले एमालेलाई क्षति पुग्यो

ओलीले भने– मधेसी र दलित समुदायकी अगुवा महिला नेता गुमायौं

११ चैत, काठमाडौं । एमालेको मेची–महाकाली अभियानका क्रममा सप्तरी घटनापछि २ नम्बर प्रदेशको कार्यक्रम स्थगित भयो । तर, त्यसबेला सांसद दुलारी देवी मधेसी समुदायले पार्टीमाथि लगाएका आरोप खण्डन गर्दै गाउँतिर डुलिरहेकी थिइन् ।

अरु नेताहरु मधेसी मोर्चाको निशानामा परिरहेका बेला दुलारी गाउँमा निर्बाध रुपमा एमालेको अभियानबारे प्रचार गरिरहेकी थिइन् ।

सर्लाही ब्रह्मपुरीबाट घरायसी किनमेलका लागि सीमावर्ती भारतीय शहर मोतिहारी जाने क्रममा भारतीय भूमिमा उनी चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दियो । चैत ३ गतेको सो घटनामा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भयो ।

गम्भीर घाइते भएकी सांसद दुलारीलाई उपचारका लागि काठमाडौं ल्याइयो । बीएण्डबी अस्पतालमा उनको एउटा खुट्टा पनि काटियो । तर, बिहीबार राति १० बजे उनको निधन भयो । दुलारीको निधनको खबर सुने लगत्तै एमाले नेता माधवकुमार नेपाल राति नै अस्पताल पुगेका थिए ।

दुलारीको निधनबाट एमालेले मधेसी दलित समुदायकी एक अगुवा नेता गुमाएको छ । दुलारीको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालयमा राखिँदा उनलाई श्रद्धाञ्जली दिन अध्यक्ष ओलीसहित नेता–कार्यकर्ताको ठूलो भीड लागेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एक सशक्त मधेसी महिला तथा दलित नेतृ गुमाउनुपरेको भन्दै गहिरो शोक व्यक्त गरेका छन् ।

मधेसी दलित, त्यसमा पनि महिला समुदायमा एमालेले नेता खोज्ने क्रममा ०५० को दशकमा दुलारी देवी नेताहरुको सम्पर्कमा आएकी थिइन् । उनी ०५२ सालदेखि एमालेमा संगठित भएको सर्लाही निवासी एमाले केन्द्रीय सदस्य रविन्द्र बैठाले जानकारी दिए ।

यस बीचमा दुलारी अखिल नेपाल महिला संघ, उत्पीडित जातीय मुक्ति समाज हुँदै एमाले जिल्ला कमिटीको सदस्यका रुपमा कार्यरत थिइन् । ०७० सालको दोस्रो संविधानसभामा उनलाई एमालेले समानुपातिकबाट सभासद बनाएको थियो ।

०२७ साल वैशाख ३ गते सर्लाहीको ब्रह्मपुरी गाविसमा जन्मिएकी दुलारीका पति सुखारी अघोरी तथा दुई छोरा र दुई छोरी छन् ।

एमाले अध्यक्ष ओलीले दुलारीका बारेमा भने– ‘मधेसी दलित समुदायमा जन्मिएर उहाँले तराई-मधेसका सबै जनसमुदायमा पार्टीको निर्माण तथा विस्तारका लागि पुर्‍याएको योगदान स्मरणीय छ ।’

ओलीले विज्ञप्तिमा अगाडि भनेका छन्– ‘नेपालको भौगोलिक एकता, जातीय र सामाजिक सद्भाव लगायत पार्टीका विचार, दृष्टिकोण र अडानलाई दृढतापूर्वक लागू गराउनमा निर्वाह गरेको भूमिकाका कारण जनताको सच्चा प्रतिनिधिका रुपमा कमरेड दुलारी देवी स्मरण भइरहनुहुनेछ ।’

दुलारीको निधनसँगै संसद्‌मा एमालेको एक सिट घटेको छ । हाल १८२ सिट रहेकोमा अब एमालेको संख्या १८१ मा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment