Comments Add Comment

स्थानीयवासी गिद्ध संरक्षणमा जुटे

११ चैत, पाल्पा । प्रकृतिको कुचिकारका रुपमा चिनिने लोपोन्मुख अवस्थामा रहेको गिद्ध संरक्षणमा स्थानीयवासी जुटेका छन् ।

रामपुर नगरपालिका–८ खैरेनी सामुदायिक वनमा वर्षौंदेखि वासस्थान बनाएर बसोबास गर्ने गिद्धको सङ्ख्या घट्दै गएपछि यहाँका स्थानीयवासी संरक्षणका लागि अग्रसर भएका हुन् ।

कालीगण्डकीको तटमा अवस्थित करिब १८ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वन क्षेत्रमा गिद्धको वासस्थान रहेको छ । वनभित्र रहेका सिमलका रुखमा गिद्धले गुँड बनाएर बस्दै आएका छन् ।

सो वन समूहका अध्यक्ष कृष्णप्रसाद अर्याल सिमलका रुख फँडानीमा वन समूहले प्रतिबन्ध लगाएर गिद्ध संरक्षण अभियानमा जुटेका बताउँछन् ।

‘पहिला यहाँ चारसयदेखि पाँचसयको हाराहारीमा गिद्ध रहेका थिए, अहिले सङ्ख्या ह्वात्तै घटेर एकसय हाराहारीमा पुगेको छ,’ उनले भने । स्थानीय बासिन्दा र वन समूहका उपभोक्ता मिलेर सिमलका रुख संरक्षण गर्न थालेपछि गिद्धको सङ्ख्या विस्तारै बढ्दै गएको अर्यालले बताए।

स्थानीयवासीले जङ्गल फँडानी गरेपछि गिद्धको वासस्थान नै खलबलिँदा यसको सङ्ख्यामा कमी आएको हो । सो वनमा करिब एकसय ५० को हाराहारीमा साना ठूला सिमलका रुखमा गिद्धले गुँड बनाएर बसेका छन् ।

खैरेनी सामुदायिक वनले गिद्ध संरक्षणका लागि सिमलका रुख संरक्षण गर्नुका साथै गिद्धको आहारा व्यवस्थापनका लागि मरेका पशु परीक्षण गरेर मात्र सो वनमा फ्याँक्ने गरेका स्थानीयवासी एकराज अर्याल बताउँछन् । हिजोआज लोपोन्मुख अवस्थामा रहेका गिद्ध अवलोकनका निम्ति यस क्षेत्रमा विभिन्नस्थानबाट आन्तरिक पर्यटक दिनहुँ आउने गरेका उनले बताए ।

नेपालमा पाइने नौ प्रजातिका मध्ये पाल्पामा चार प्रजातिका गिद्ध पाइने गर्छ । जिल्ला वन अधिकृत दधीलाल कँडेलका अनुसार यहाँ सुनगिद्ध, डँगर, हिमाली र सानो खैरो प्रजातिका गिद्धको बसोबास रहेको छ ।

मदनपोखराको अँधेरी छरछरे सामुदायिक वन र रामपुर नगरपालिकाको खैरेनी सामुदायिक वन क्षेत्रलाई गिद्ध संरक्षणको क्षेत्र घोषणा गरिएको छ । विसं २०६६ देखि जिल्ला पशुसेवा कार्यालयले डाइक्लोफेनिक नामक औषधि प्रयोगमा प्रतिबन्ध लगाएको छ । सो औषधि पशुमा प्रयोग भएपछि मरेका पशु गिद्धले आहारा सेवन गर्दा गिद्ध मर्न थालेपछि उक्त औषधिमा प्रतिबन्ध लगाएको वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्रबहादुर रानाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment