Comments Add Comment

निर्वाचन केन्द्रमै मतगणना गर्न सुझाव

'७४४ स्थानीय तहको चुनाव एकै चरणमा गर्न कठिन'

११ चैत, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्न सुझाव दिएका छन् । उनले त्यसका लागि स्थानीय तह निर्वाचन व्यवस्था ऐनमा संशोधन गर्न सरकारलाई सुझाव दिए ।

शुक्रबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उप्रेतीले भने, ‘मतपरिणाम अन द स्पट गणना गर्दा राम्रो हुन्छ, मतपत्र बोकेर सदरमुकाम धाउने काम गर्नुहुँदैन, यस्तो भयो भने तीन घण्टाभित्रै निर्वाचनको परिणाम आउँछ ।’

विश्वका धेरै देशहरुमा स्थानीय तहको निर्वाचनको मतगणना निर्वाचन केन्द्रमै हुने गरेको भन्दै उनले भने, ‘हाम्रो देशमा पनि अब यसलाई लागू गर्नुपर्छ ।’

७४४ वटा स्थानीय सरकारको निर्वाचन एकै चरणमा गर्नुभन्दा पनि दुई वा तीन चरणमा गर्दा राम्रो हुने उनले धारणा राखे । उनले भने, ‘संघको चुनाव एक दिनमा गर्दा राम्रो हुन्छ, प्रदेशको चुनाव ७ दिनमा गर्दा राम्रो हुन्छ, तर ७४४ वटा स्थानीय सरकारको चुनाव एकै चरणमा गर्नु भनेको गाह्रो छ ।’

उनले निर्वाचनको लागि वातावरण बनाउन दलहरुलाई गाउँ-गाउँमा सुझाव दिए । उप्रेतीले भने, ‘काठमाडौं र सिंहदरबारमा बसेर हुँदैन । निर्वाचनको वातावरण तय गर्नका लागि त गाउँमै जानुपर्‍यो नि ।’

धेरै लामो समयपछि स्थानीय तहको निर्वाचन हुन गइरहेकाले उक्त निर्वाचन ऐतिहासिक निर्वाचन हुने बताउँदै उनले भने, ‘८५ लाख नयाँ मतदाता छन्, त्यसैले कुनैपनि स्थानमा निर्वाचन रोक्नुहुँदैन । तर रोक्नुहुँदैन भन्ने नाममा लोकतन्त्रमा जबरजस्ती गर्ने कुरा पनि आउँदैन ।’

प्रान्त र संघीय संसदको निर्वाचनसम्बन्धी ऐन हेर्न बाँकी नै रहेको बताउँदै उनले लोकतन्त्रको जग हाल्ने, लिडरसिप चयन गर्ने, ४० प्रतिशत महिलाहरुले उम्मेद्वारी दिने अवसर भएकाले चुनावको मौकालाई कसैले पनि खेर फाल्न नहुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment