Comments Add Comment

शहीद गोविन्द गौतमको परिवारलाई १२ धुर जग्गा दान

अहिलेसम्म कसले कति सहयोग गरे ?

 

११ चैत, कैलाली । भारतीय सुरक्षाकर्मी एसएसबीले चलाएको गोली लागेर सहादत प्राप्त गरेका शहीद गोविन्द गौतमको परिवारलाई स्थानीय एक व्यक्तिले १२ धुर जग्गा दान गरेका छन् ।

नेपाली सेनाका पूर्वसुवेदार दामोदरप्रसाद अधिकारीले कञ्चनपुरको डोकेबजार नजिकै रहेको करिब ८ लाख मूल्य पर्ने १२ धुर जग्गा सहिद पत्नी लक्ष्मी गौतमको नाममा शुक्रबार नामसारी गरिदिएका हुन् । उनले आफ्नो एक महिनाको पेन्सन वापत पाउने १५ हजार रुपैयाँ समेत दिएका छन् ।

अधिकारीले गरेको यो सहयोग नेपालका ठूला पार्टी भनिएका नेकपा एमाले र हाल सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रले दिएको भन्दा धेरै हो । एमालेले पाँच लाख र माओवादी केन्द्रले ६ लाख नगद गौतमको परिवारलाई दिएका छन् ।

शहीद गौतमका तीन छोरीहरु संरक्षक रहने गरी जग्गा दान गरेको अधिकारीले बताए । अधिकारीले घाइते टीकाराम चापागाईको परिवारलाई भेटेर ५ हजार रुपैयाँ समेत सहयोग गरेका छन् ।

कसले कति सहयोग गरे

पुनर्वास नगरपालिका-८ आनन्द बजारको भारतसँग सीमा जोडिएको क्षेत्रमा कलभर्ट निर्माणको विषयमा विवाद हुँदा एसएसबीले गोली चलाउँदा गत फागुन २६ गते ३० वर्षीय गौतमको मृत्यु भएको थियो । उनलाई सरकारले सहिद घोषणा गरेर नगद १० लाख दिने निर्णय गरेको थियो ।

त्यसलगत्तै विभिन्न राजनीतिक दल, संघसंस्था र व्यक्तिबाट गौतमको परिवारलाई सहयोग आउन थालेको छ । बिभिन्न पक्षबाट हालसम्म १३ लाख ३१ हजार नगद गौतम परिवारलाई सहयोग भइसकेको छ ।

नेकपा एमालेले ५ लाख रुपैयाँ, माओवादी केन्द्रले ६ लाख रुपैयाँ, लायन्स क्लब अफ धनगढी सुदूरपश्चिमले ५१ हजार, सुदूरपश्चिम मकाउ समाजले ४० हजार, कञ्चनपुर कारागारमा रहेका कैदी-बन्दीहरुले २५ हजार, राष्ट्रिय जनमुक्ति पार्टीले २५ हजार र धनगढीका जितेन्द्र बोगटी बोसले ५ हजार रुपैयाँ गौतमको परिवारलाई सहयोग गरेका छन् ।

साथै सांसद दिवानसिंह बिष्टले १५ हजार, माओवादी केन्द्र पुनर्वासले २५ हजार, कलाकार संघ नेपालले २५ हजार र पपुलर इंग्लिस स्कुल भीमबस्तीले ५ हजार शहीद परिवारलाई सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment