Comments Add Comment

कथा: फेसबुक र प्रेम  

एउटा जोडीको विशुद्ध प्रेम कहानी । यसको सुरुवात फेसबुकका म्यासेज, फोनका आवाज वा कहिलेकाहीँ हुने भेटहरुबाट भए होलान्, यस विषयमा धेरै चर्चा नगरौं । तर, प्रेम निकै चोखो भने थियो । यो प्रेमको म एक भोगी अर्थात् एक पात्र ।

हामीबीच अटुट सम्बन्ध थियो । मेरो नजरमा उनी संसारकै सबैभन्दा आकर्षक महिला थिइन् । कहिलेकाहीँ म उनलाई मेरी आमासँग तुलना गर्थेँ । लाग्थ्यो, संसारमा मेरा यी दुई महिला मात्र छन्, एकले मलाई जन्म दिइन् र अर्कीले जीवन दिइन् ।

प्रेमको सुरुवातदेखि नै उनी मलाई भन्थिन्, ‘तिमी धेरै रिसाहा छौ । सानो कुरामा धेरै रिसाउँछौ । यस्तो रिसको सुरमा कुनै दिन मलाई छोड्छौ कि झैं लाग्छ !’

म चाहिँ भन्ने गर्थेँ, ‘तिमी धेरै जिद्दी छौ । आफूले भनेको कुरा हुनैपर्छ भन्ने ठान्छौ । कुनै दिन तिमीले भनेको कुरा मैले पूरा गर्न सकिनँ भने तिमीले ब्रेकअप गर्छौ कि झैं लाग्छ ।’

हाम्रो धेरै डिस्कस हुने विषय यिनै थिए । तर, हामीबीच प्रेम भने औधि थियो ।

म छिटो रिसाउँछु भन्ने मलाई थाहा थियो । तर, म रिसाउँदा उनी फकाउन सक्दिनथिन् । उनी जिद्दी थिइन् भनेर उनलाई थाहा थियो । तर, उनले भनेका धेरै कुरा मैले पुर्‍याउन सकेको थिएँ ।

कथाकार

एकदिन उनले मसँग मेरो फेसबुकको पासवर्ड मागेकी थिइन् । म यो कुरामा प्रतिबद्ध थिएँ, प्रेममा सबैभन्दा महत्वपूर्ण आधार नै विश्वास हो । प्रेम विश्वासमै टिकेको हुन्छ ।

उनले फेसबुकको पासवर्ड माग्नुलाई मैले मप्रतिको अविश्वास झैं लाग्यो । मलाई धेरै रिस उठ्यो । मैले भनेँ, ‘विश्वास छैन भने नबोल, तर म पासवर्ड दिन्नँ । कति साथी र आफन्तसँग पर्सनल कुरा हुन्छ, जुन तिमीलाई म देखाउन सक्दिनँ ।’

उनको जिद्दी गर्ने बानी थियो । जेसुकै होस्, पासवर्ड दिनैपर्छ भन्न लागिन् । पासवर्ड नदिए ब्रेकअपसम्म हुन सक्ने कुरा उनले गरिन् । पूरै जीवन बिताउने भनेर सोचेको प्रेम नै धरापमा परेपछि पासवर्ड दिएको थिएँ ।

तर, पासवर्ड दिनुपरेकोमा चित्त बुझिरहेको थिएन । भित्रभित्रै रिस भरिएको थियो ।

उनले धेरै जिद्दी गरेकाले मात्र मैले पासवर्ड दिएको अनि पासवर्ड दिएकै कारण म रिसाएको उनले बुझिछिन् । केही दिनपछि पासवर्ड चेन्ज गर भनिन् । मैले चेन्ज गरें ।

त्यसपछि उनको जिद्दीपन मरेको थियो र मेरो रिस पनि । हामीलाई एक-अर्काको कमजोरी थाहा थियो र पनि हामीले त्यसलाई स्विकारेका थियौं । लाग्थ्यो, हामी एक-अर्काकै लागि बनेका हौं । बिस्तारै मलाई उनको जिद्दी गर्ने बानी अनि उनलाई म रिसाउने बानी मन पर्न थालेको थियो ।

समय बित्दै गयो, हामी झन् नजिक हुँदै गयौं । हामीबीच धेरै स-साना कुरा पनि सेयर हुन थाले । पुरुष र महिला धेरै नजिक भएपछि सेक्सको रहर आउँदो रहेछ । एकदिन मैले उनलाई सेक्सको प्रस्ताव राखेँ ।

मलाई सेक्सले प्रेमलाई अझ गाढा बनाउँछ जस्तो लाग्थ्यो । तर, उनी मानिनन् । रिसाइन् ।

‘तिमीले यत्तिको लागि प्रेम गरेको हो ?’ उनले प्रश्न गरिन् ।

‘हो, मैले सेक्सको लागि प्रेम गरेको हो । तर, सेक्सको लागि मात्रै चाहिँ होइन’, मैले जवाफ दिएँ ।

म सेक्सलाई बाइलोजीसँग जोड्थेँ, उनी भने इज्जतसँग जोड्थिन् । म सेक्सलाई आवश्यकता भन्थेँ, उनी रहर मात्रै हो भन्थिन् ।

म जिद्दी गर्न लागेँ, प्रेममा सेक्स हुनैपर्छ भनेर । उनी रिसाउन लागिन् । धेरै समय हाम्रो यसै विषयमा झगडा भइरह्यो ।

पछि मैले भनेकै कुरामा जित भयो, हामीबीच सेक्स भयो । तर, सँगसँगै हाम्रो प्रेमको भने अन्त्य भयो । सेक्स गरेपछि उनी यति धेरै रिसाइन्, कहिल्यै मसँग बोलिनन् ।

‘तिमी धेरै जिद्दी भएछौ !’ उनले मलाई अन्तिम पटक गरेको म्यासेज यही थियो ।

तर, मलाई पनि एउटा कुरा भन्न मन थियो, तिमी पनि धेरै रिसाहा भएछौ ।

अन्त्यमा हाम्रो प्रेमले मलाई उनी जस्तै जिद्दी बनाएछ, उनलाई म जस्तै रिसाहा बनाएछ । मैले उनको बानी लिएछु, उनले मेरो ।

बिचरो प्रेम चाहिँ बीचमा रह्यो । न उनले लगिन्, न मैले ।

इलाम, हाल- पोखरा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment