Comments Add Comment

नयाँ बर्षको स्वागतार्थ पोखरामा फेवा महोत्सव हुँदै

११ चैत, पोखरा । नेपाली नयाँ वर्षको स्वागतार्थ हरेक वर्ष आयोजना हुँदै आएको ‘फेवा नव वर्ष महोत्सव’को १४औं संस्करण आगामी चैत २९ गतेदेखि बैशाख २ गतेसम्म हुने भएको छ ।

आयोजक पश्चिमाञ्चल होटल संघले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी सुरु गरेको जानकारी गराएको हो ।

यसअघि बसुन्धरा पार्कमा हुँदै आएको महोत्सव यस वर्ष कोमागाने पार्कमा हुने आयोजकले जनाएको छ । बसुन्धरा पार्कमा महोत्सव लगायतका कार्यक्रम गर्न निषेध गरिएपछि महोत्सव स्थल फेरिएको हो ।

‘फेवातालको संरक्षण गरौं’ भन्ने मूल नाराका साथ आयोजना हुने १४ औं संस्करणको फेवा नव वर्ष महोत्सवमा पर्यटन, संस्कृति र खाना मूख्य आकर्षणका रुपमा रहने आयोजकले बताएको छ ।

महोत्सवमा पाँच तारे होटलदेखि स्थानीय क्षेत्रमा पाइने सबै प्रकारका खानाहरु एकै ठाउँमा पाइने, प्रत्येक दिन सांगीतिक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरको लोकदोहोरी गीत प्रतियोगिता, पप कन्सर्ट लगायतका कार्यक्रम हुनेछन् ।

त्यस्तै, वाल उद्यान तथा मनोरञ्जनात्मक कार्यक्रम, वैंक तथा वित्तीय संस्थाहरुको स्टलहरु, हास्य कलाकारको प्रस्तुती, कृषि उपज स्टलहरु निःशुल्क प्रदर्शन लगायतका महोत्सवको आकर्षणका रुपमा रहने संघका अध्यक्ष तथा महोत्सव संयोजक बिकल तुलाचनले जानकारी दिए ।

पर्यटन प्रबर्द्धन र वातावरण संरक्षणका लागि कोष संकलन गर्नु पनि महोत्सवको उद्देश्य रहेको अध्यक्ष तुलाचनले बताए । पर्यटक आगमनमा बृद्धि ल्याउन पनि महोत्सवको भूमिका रहने उनको भनाई छ । यस वर्ष करिव १ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र त्यसमध्ये ४० हजार पोखरा बाहिरका पर्यटक आउने उनको अनुमान छ ।

अहिले अफ सिजन भएकाले पर्यटकको आगमनमा कमी आइरहेको समयमा महोत्सवको आकर्षणले पर्यटक आगमनमा बृद्धि हुने र त्यसले पर्यटन ब्यबसायीलाई राहत दिने संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार भरतराज पराजुलीले बताए ।

महोत्सव आयोजना गर्न ४८ लाख ८० हजार खर्चको अनुमान गरिएको र त्यो भन्दा बढी संकलन गरेर बचत गर्ने लक्ष्य लिइएको मेला संयोजकसमेत रहेका तुलाचनले जानकारी दिए । बचत रकम फेवाताल संरक्षण र वातावरण संरक्षणका लागि खर्च गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment