Comments Add Comment

काठमाडौंमा समातिए विदेशी चोर ! तारे होटलमा बस्ने, कारमा हिँड्ने !

चोरीको अभियोगमा इरानी नागरिक पक्राउ

११ चैत, काठमाडौं । राजधानीमा मध्यदिनमा कार लिएर चोर्न हिँड्ने चोरहरुको एउटा समूह फेला परेको छ । इरानबाट काठमाडौं आएको हिन्दी भाषा बोल्ने सो समूह ठमेलस्थित बैशाली होटलमा बस्ने र गाडी भाडामा लिएर चोर्न निस्कने गरेको खुलासा भएको छ ।

कुलेश्वरका पसले पुष्प केसी विहीबार दिउँसो आफ्नो पसलमा ग्राहक कुरेर बसिरहेका थिए । ‘पुष्प स्टोर’ नामको मदिरा पसलमा २ बजेतिर एक जना श्याम वर्णका विदेशी आइपुगे ।

हिन्दीमा बोल्ने ती विदेशीले तीन बोतल रक्सी मागे । सय रुपैयाँ बोतल पर्ने सामान्य रक्सीको पैसा तिर्न उनले एक हजारको नोट निकाले ।

पसलेले रक्सीको तीन सय रुपैयाँ कटाएर बाँकी ७ सय फिर्ता गर्नै लाग्दा ती ग्राहकले काउण्टरमै हात हालेर आफूलाई लालीगुराँस भएको पैसा दिन भने ।

पुष्पले केही नभनी ७ सय रुपैयाँ फिर्ता दिएपछि ती विदेशी फर्किए । अलि पर एउटा कार रोकिएको थियो । केहीबेरपछि अर्को ग्राहक आएपछि पो थाहा भयो, काउण्डरमा रहेको ४३ हजार रुपैयाँको बण्डल अघि नै गायब भइसकेछ ।

केसीको मदिरा पसलकै सामुन्ने किराना पसल पनि छ, हेमन्तलाल डल्लाकोटीको । बिहीबार हेमन्तकी श्रीमती पसलमै थिइन् । यतिकैमा बा ११ च २५१२ नम्बरको गाडीबाट दुईजना मान्छे ओर्लिए । अलि वृद्धजस्तो देखिने एकजना हेमन्तको किराना पसलतिर गए भने अर्का एकजना मदिरा पसलतिर ।

हेमन्तले घटनाबारे अनलाइनखबरलाई सुनाए, ‘श्रीमती पसलमै थिइन्, बुढाले सुरुमै गएर काण्टरमा हात हालेछ । त्यो मैले देखेँ र कठालो समातरेर बाहिर निकालेँ ।’

उनले अघि थपे ‘बुढालाई बाहिर निकालेपछि अर्को केटो आइपुग्यो र आफुलाई सगरमाथा र लालीगुँरासको फूल भएको पैसा चाहिएको बतायो । तर, मैले त्यस्तो पैसा छैन भनेर पछाडि धकेलेपछि गाडीबाट तेस्रो मान्छे आयो र कोल्गेट माग्यो । मेरो पसलमा कोल्गेटको र्‍याक पलि पर छ । म त्यता कोल्गेट लिन गएँ, कोल्गेट किनेपछि उनीहरु गाडी चढेर कलंकीतिर लागे ।’

डल्लाकोटी विदेशीलाई कोल्गेट वेचेर पुष्पको मदिरा पसलतिर लागे । त्यति नै बेला केसीले आफ्नो पसलबाट ४३ हजारको बिटो हराएको सुनाए । यस्तो सुनेर डल्लाकोटी पनि झस्किए र हतार हतार आफ्नो काउण्टरमा आएर हेर्दा उनको पनि गल्लाबाट २५ हजार रुपैयाँ चट भएछ । त्यो बिटोमा पाँच/पाँच सयका नोट थिए ।

कार चढेर आउने विदेशीहरुबाट चोरी भएपछि केसी र डल्लाकोटीले बिहीबार नै तत्काल कालीमाटी प्रहरीसमक्ष पुगेर उजुरी दिए ।

सोही उजुरीका आधारमा प्रहरीले दुईजनालाई पक्राउ गर्‍यो, जो इरानी नागरिक रहेको खुलेको छ । पीडित डल्लाकोटीका अनुसार ती चोरहरुको समूहले कुलेश्वर क्षेत्रमा मात्रै थुप्रै पसलमा त्यसैगरी चोरी गरेका छन् । सबै पीडितहरु शुक्रबार कालीमाटी प्रहरीकहाँ पुगेका छन् ।

होटलमा बस्ने, कार लिएर चोर्न हिँड्ने

कुलेश्वरका स्थानीय नविन रानाभाटका अनुसार पक्राउ परेका इरानी नागरिकहरुको एउटा समूह नै चोरीमा संलग्न भएको देखिएको छ । पीडितहरुसँगै प्रहरी कार्यालय कालीमाटीमा पुगेका नविनले अनलाइनखबरसँग भने- ‘प्रहरीले उनीहरुलाई भर्खर पक्राउ गरेको छ, अनुसन्धान गर्दै होला तर यिनीहरुको अर्को समूह स्वयंभुबाट पनि पक्राउ परेको सुनेका छौं । तीनवटा गाडी भाडामा लिएर चोरी गर्ने धन्दामा संलग्न भएको भन्ने खुलेको छ ।’

रानाभाटले प्रहरीलाई उधृत गर्दै दिएको जानकारी अनुसार यी विदेशी चोरहरु ठमेलस्थित होटल बैसालीमा बस्दै आएका थिए । उनीहरुले साँझ ढोका फुटाएर चोर्ने र दिउँसो मान्छेलाई झुक्याएर चोर्ने गरेका थिए ।

स्वयम्भूमा सपरिवार पक्राउ

कालीमाटीमा जस्तै स्वयम्भू बृत्तले पनि श्रीमान-श्रीमती र छोराछोरीसहित चार जनालाई पक्राउ गरेको छ । स्वयम्भू बृतका डीएसपी कोमल शाहका अनुसार स्वयम्भुका स्थानीयले आफ्नो स्टोरमा चोरी भएको भन्ने जानकारी दिएपछि चारैजनालाई पक्राउ गरिएको हो ।

डीएसपी शाहले भने ‘कालिमाटीको घटना र यताको घटना उस्तै हो कि होइन र यिनीहरुले नै चोरी गरेका हुन् कि हैनन्, हामी खोज्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment