Comments Add Comment

चुनाव बहिस्कार गर्ने उपेन्द्र यादवको आन्तरिक प्रस्ताव

मोर्चाको रणनीतिः कागजमा सही नगर्ने, संशोधन गरेको हेर्ने

११ चैत, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान गर्नुभन्दा केही घण्टा अघिमात्रै विहीबार दिउँसो उपेन्द्र यादव दिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए । त्यहाँबाट सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रचण्ड र उपेन्द्रवीच केहीबेर कुराकानी भयो, त्यसलगत्तै मधेसी मोर्चाको बैठक बस्यो ।

प्रधानमन्त्री प्रचण्ड चीन जानुअगावै विहीबारै मधेसी मोर्चासँग लिखित सहमतिपत्रमा हस्ताक्षर गर्ने योजनामा थिए । यसका लागि उनले विहीबार दिनभरि प्रयास गरे । तर, मोर्चाको आन्तरिक रणनीतिका कारण त्यस्तो हस्ताक्षर सम्भव भएन । एमालेले पनि प्रचण्डलाई साथ दिएन । र, कुनै सहमति नगरी प्रधानमन्त्री चीनतिर लागे ।

दिल्लीबाट फर्केर प्रचण्डलाई भेटिसकेपछि मधेसी मोर्चाको बैठकमा जुटेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अब हुने तीनवटै निर्वाचन बहिस्कार गर्न मोर्चाको बैठकमा प्रस्ताव राखेको एक नेताले अनलाइनखबरलाई बताए ।

प्रधानमन्त्री प्रचण्डले भनेजसरी मोर्चाले कुनै पनि सहमतिपत्रमा हस्ताक्षर गर्न नहुने यादवले बैठकमा बताएका थिए, जसलाई महन्थ ठाकुर र राजेन्द्र महतो लगायतले सबैले सहमति जनाएका थिए ।

प्रधानमन्त्रीले गरेको सहमतिको प्रस्तावलाई लिखित रुपमा स्वीकार नगर्ने तयारीका साथ मोर्चाका नेताहरु साँझ बालुवाटार बैठकमा सहभागी बनेका थिए ।

प्रधानमन्त्रीको असफल प्रयास

प्रधानमन्त्री प्रचण्ड चीन जाने दिनमै मधेसी मोर्चासँग लिखित सम्झौता गर्ने पक्षमा साँझसम्म आशावादी थिए । उनको योजना थियो, चुनावपछि सीमांकनको विषयमा टुंगो लगाउने प्रतिवद्धता जनाउने र अन्य विषयमा चाहिँ चुनाव अगाडि नै संविधान संशोधन गर्ने ।

उता मधेसी मोर्चाले के-के भयो भने चुनावमा आउने सहमति जनाउँछ ? यसबारे ‘ब्ल्याक एण्ड ह्वाइट’ मा दिनोस् भनेर एमालेले प्रधानमन्त्रीसँग राय मागिरहेको थियो । र, यसैका लागि प्रधानमन्त्रीले मोर्चासँग त्यस्तो लिखित सहमति गर्न चाहेका थिए ।

विहीबार दिउँसो सभामुखको च्याम्बरमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष वामदेव गौतम लगायतसँग यसबारेमा छलफल गरे ।

तर, बेलुका बालुवाटारमा आयोजना गरिएको माओवादी, कांग्रेस, एमाले र मोर्चाको बैठकमा प्रधानमन्त्रीले लिखित समझदारी गराउन सकेनन् । अब चीनबाट फर्केपछि सहमति गर्ने भन्दै विहीबार राति उनी चीन प्रस्थान गरे ।

मोर्चाको बटमलाइनः कुनै कागजमा हस्ताक्षर नगर्ने

मधेसी मोर्चाको विहीबार अपरान्ह बसेको बैठकमा कुनै पनि कागजमा सही नगर्ने बटमलाइन बनेको नेताहरु बताउँछन् ।

यसबारे एकजना मधेसी नेताले अनलाइनखबरसँग भने- ‘हामीले बालुवाटारमा धेरै कडा कुरा नगर्ने, एकजनाले मात्रै बोल्ने र विरोधाभाषपूर्ण कुरा नगर्ने सहमति गरेका थियौं । साथै कुनै उधारो सहमतिको कागजमा हस्ताक्षर नगर्ने हामीले बटमलाइन बनाएका थियौं ।’

मोर्चाको आन्तरिक बैठकमा उपेन्द्र यादवले भनेका थिए कि सत्तापक्षले संविधान संशोधन गर्छ भने गरोस्, हाम्रो माग अनुसार भएछ भने समर्थन गरौंला, भएन भने विरोध गरौंला, तर यसका लागि फेरि विगतको जस्तो कुनै लिखित सम्झौता जरुरी नै छैन ।

साँझ परेपछि बालुवाटारमा के भयो ?

प्रधानमन्त्री निवासमा चीन भ्रमणका लागि झिटी गुण्टाहरुको तयारी भइहरेको थियो । त्यहीवीचमा कांग्रेस नेता शेरबहादुर देउवा, प्रधानमन्त्री प्रचण्ड, एमाले नेता वामदेव गौतम र सुवास नेम्वाङहरु बैठकमा जुटे ।

मधेसी मोर्चाबाट उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो लगायत सबै शीर्ष नेताहरु सहभागी थिए ।

तर, सो बैठकमा एमाले अध्यक्ष केपी ओली थिएनन् । दिउँसै सिंहदरबारमा प्रचण्डसँग कुराकानी भइसकेको भन्दै ओली साँझ बालुवाटार गएनन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले मलाई त आजै सबै कुरा टंगो लगाऔं, चुनावपछि सीमांकनमा टुंगो लगाउने गरी बाँकी विषयमा सहमति गरौं भन्ने लागेको छ, एमालेका साथीहरुले पनि मानिदिनुपर्‍यो भन्ने कुरा राखेका थिए ।

तर, एमाले नेताहरुले हामीसँग यसअघि सल्लाह नै नभएकाले आजै त सहमति गर्न भ्याइँदैन र पार्टीमा छलफल पनि भएको छैन भनेपछि चीनबाट फर्केर छलफल गर्नेगरी बालुवाटार बैठक विना निश्कर्ष सकियो ।

मोर्चाका नेताहरुले पनि कडा कुरा गरेनन्, संविधान संशोधन गर्ने नगर्ने तपाईहरुको कुरो हो भन्ने मोर्चाका नेताको प्रतिक्रिया आयो ।

प्रधानमन्त्री प्रचण्ड मोर्चाका मागहरुलाई सम्वोधन गरेर चुनावमा उनीहरुलाई ल्याउन सकिनेमा विश्वस्त रहे पनि उपेन्द्र यादवले मोर्चाको आन्तरिक बैठकमा भनिसकेका थिए कि यिनीहरुले हाम्रा माग सम्वोधन गर्नेजस्तो देखिँदैन, त्यसैले चुनावको तयारी हैन, तीनवटै चुनाव बहिस्कार गर्नेबारेमा सोच्नुपर्छ ।

अब के हुन्छ ?

प्रधानमन्त्री प्रचण्ड चीनबाट चैत १६ गते नर्फकँदासम्म कुनै राजनीतिक निकास निस्कने देखिँदैन । त्यसपछि पनि मोर्चाले सहमतिमा हस्ताक्षर नगर्ने तर संविधान संशोधन गरेको हेर्ने नीति लिने संकेत गरेको छ ।

अर्कोतर्फ चैत १५ गतेदेखि नै आन्दोलनमा जाने मोर्चाको तयारी पनि छ । यसका लागि मोर्चाका नेताहरु मधेस झर्ने तयारीमा देखिन्छन् ।

अर्कोतर्फ एमालेले पनि आफ्नो अडान नछाड्ने संकेत देखिएको छ । सीमांकन बाहेकका विषयमा संविधान संशोधन गरे पनि मोर्चा चुनावमा आउँदैन भन्ने एमालेले दाबी गरिरहेको छ ।

यो स्थितिमा मधेसी मोर्चा पनि सहमतिमा नआउने र सरकार पनि चुनावमा अघि बढ्न बाध्य हुनुपर्ने स्थितिको अनुमान गर्न सकिन्छ । किनभने प्रधानमन्त्री प्रचण्ड बैसाख ३१ को चुनाव क्ुनै पनि हालतमा स्थगन नगरी अघि बढ्ने मुडमा देखिएका छन् । र, प्रचण्डलाई चुनावका लागि राप्रपा र एमालेले साथ दिने वचन दिइसकेको अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment