Comments Add Comment

त्यो रात धेरै लामो भयो

उपन्यास अंश: 'टालाटुली'

उनको विद्यालयबाट फर्किने समय म जस्तै पक्षीहरुले पनि हेक्का राख्थे । रुख-रुखबाट फुत्तफुत्त नाच्दै सङ्केत दिइहाल्थे । कोही-कोही त बाटोमै स्वागत गर्न पुग्थे । मलाई खेलमा व्यस्त छाडेर कुसुम आफ्नै सुसेधन्दामा लागेकी थिइन् । यसरी म तङ्ग्रिनु पनि उनका लागि अलिक फुर्सद निस्कियो । तङ्ग्राइको अर्थ हो, एक्लै पनि खेलिरहन सक्नु !

कालो जुत्ताभित्रका उनका पाइला ढोकातिर बढे । खैरो प्यान्ट, सेतो सर्ट लगाएको उनको शरीर आकर्षक थियो । लामो सिल्की कपाल दुई चुल्ठा बाटेकी थिइन् । झोला अनि झोलाभित्र थिए, ज्ञानका पानाहरु । शान्त उज्यालो लामो अनुहार मात्रै पनि मलाई बचाउने उत्प्रेरणा थियो ।

उनका कलिला लामा औंलाहरुले ढोकामा छुनु अगाडि नै रिमोट थिचिदिएँ । घरभित्र पस्नेबित्तिकै पहिलो नजर मलाई खोजिन् तर देखिनन् । उनका आँखामा मप्रतिको माया छल्कियो । उनका आँखा मलाई खोज्न व्यग्र थिए । कुनै खेल खेल्न मभन्दा उनै  आतुर थिइन् । मलाई भेटेर हत्तपत्त बालसखासँग झैं दिनभरिका तीतामीठा अनुभव सुनाउने उनको उत्कट इच्छा थियो ।

‘हाँ हाँ हाँ हाँ !’

रुखमा लुकेर कोही मान्छे आउला र आक्रमण गरुँला भन्ने दाउमा बसेको बाघले आक्रमण गर्‍यो ।

‘ममीऽऽऽ आबुई !’, बाघले उनीतिर पञ्जा बढाउँदा सातोपुत्लो उडेर चौरमा पछारिइन् ।

‘के भयो हँ ?’, कुसुम आत्तिँदै भित्रबाट निस्किइन् । बाबाको आँखामा मलाई नदेख्दाको डर अनुभूति गरेँ ।

‘हाँ हाँ हाँ !’, बाघले उनलाई झम्टिन छोडेन । कलिलो शरीर एक गाँस पार्ने सुरमा बाघ लगभग आभामाथि चढ्न आँटिसक्यो । उनी प्राण बचाउन हर उपाय लगाउँदै भाग्दा बगैँचाको गमला ढलेर फूलहरु भाँच्चिए । होसहवास उडेर एकाएक उनको अनुहार डरले कालोनीलो भयो । हस्याङफस्याङ गर्दै घिस्रिँदै ढोकातिर गइन् । बाघले उनलाई ढोकैतिर लखेट्यो, ‘हाँ हाँ हाँ !’

डराएर रुँदा उनका कालानीला आँखाबाट आँसुका ढिकाढिका खसे । कसिलो शरीरभित्रको उनको मुटुको धड्कन बाहिरै अनुभूति गर्न सकिन्थ्यो । आँसुले उनको गलासम्म भिज्यो, बाघलाई के वास्ता ! रमाएर आक्रमण गरिरह्यो, ‘हाँ !’ बाघको आक्रमण एकै गाँसमा निलूँला झैं थियो ।

बाघको चर्तिकला नियाल्दै बाबा अलिक वर आइसकेकी थिइन् । एकाएक घरभित्र बाघले आक्रमण गरेको देखेर बाबा आत्तिइन् । उनका आत्तिएका आँखाले मलाई खोज्न थाले, ‘बाबा, बाबा !’, दुवै जना आफूतिर घिस्रिरहेको बाघ देखेर खुब डराए । तर, बाबाको अनुहारको डरको भाव एक्कासि प्रेमिल भयो ।

आभा आत्तिएको देखेर कुसुम पनि डराइन् । उनी दौडिएर कुसुमलाई च्याप्प समाउन पुगिन् । भर्खरैसम्म घिस्रिरहेको बाघ मान्छे जस्तै उठेर दुवैलाई आक्रमण गर्न थाल्यो । कुसुमको छातीमा टाँसिएकी आभालाई पाखुरामा समातेर आफूतिर तान्न थाल्यो, ‘हाँ … !’

बाघको तनाइले आभा झन् डराएर कामिरहेकी थिइन् । बाघले जति झम्टिएर तान्न खोज्यो, कुसुमले उति नै बाहुपासभित्र बचेरालाई जस्तै सुरक्षा दिएर राखिन् । उनी पनि कम डराएकी कहाँ हुन् र ! बाघले दुवै जनालाई आफ्नो पञ्जाभित्र च्याप्यो, ‘हाँ … हाँ … हाँ … !’ बाघ ! अर्थात् मैले च्याप्दा कुसुमले आनन्द लिइन्, आभा डरले कामिरहेकी थिइन् । कुसुमले सम्झाउँदै बालिकाको गालादेखि बगेको आँसु पुछिदिन थालिन्, ‘हाम्रै घरको बाघ हो !’

‘खाँदैन ?’, आभाको रुन्चे आवाजमा जीवनप्रतिको मोह झल्कियो ।

‘खाँदैन !’, बाघले भनेको सुनेर एकाएक उनको डरको भाव बदलियो ।

‘कट्टी !’, उनी हामी दुवै जनासँग साँच्चिकै रिसाइन् ।

‘हाँ हाँ हाँ !’, मेरो दुवै जनालाई तर्साउने क्रम जारी थियो । आभाको डर देखेर बाबाले गाली गरे पनि अटेर गरेर दुवै जनालाई तर्साइरहेँ ‘हाँ …!’

‘यस्ती कलिली बच्चीसँग पनि जिस्किने हो !’, आभालाई सम्झाउने र मलाई गाली गर्ने भाव थियो कुसुमको । आभाको डराएको अनुहार शान्त भएन । कुसुमको बाहुपासबाट उनी निस्किँदै निस्किनन् । उज्यालो अनुहार आँसुका लेग्राले मैलो भयो । म बेलाबेलामा बाघले जस्तो आक्रमण गरिरहेको थिएँ, ‘हाँ …!’

‘भयो, भयो, पुग्यो । कति जिस्काइराको ? … बिचरी अहिलेसम्म कामिरहेकी छे ।’

कुसुमले मैले लगाएको बाघको मुखुन्डो निकाल्न खोजिन् । म पर हटेँ । आभा मलाई डराएका आँखाले हेर्दै बिस्तारै होसियारीपूर्वक आफूलाई सम्हाल्न थालिन् । कुसुमले उनको दागैदाग भएको सेतो सर्ट र खैरो प्यान्ट मिलाउन थालिन् । बालिकालाई सम्झाउँदै भित्र लिएर जाँदा म पनि पछिपछि लागेँ ।

आभाको अनुहारको डर अझै भागिसकेको थिएन । कुसुमले मैले लगाएको बाघको पहिरन छोएर देखाइन् । तैपनि बालिकाको कलिलो मनमा विश्वास भरिएन । विद्यालयबाट फर्किंदाको झोला च्यापेरै सोफामा बसेकी थिइन् । मैले उनको झोला निकाल्न हात बढाएँ । उनी भँगेरा जस्तै फुत्त उफ्रेर पर भागिन् । उनको अनुहारको भाव धुम्मिएको कालो आकाश जस्तो भयो ।

मैले बाघको मुखुन्डो फुकालेँ र मुसुक्क हाँस्दै माफी मागेँ । अर्कोपट्टि फर्किएको आभाको अनुहार बिस्तारै मपट्टि फर्काउँदा मैले सधैंको जस्तो मुसुक्क हाँसिदिएँ ।

‘कट्टी !’, उनी आँखा तरेर रिसाइन् ।

‘सरी !’, मैले बाघको मुखुन्डो राखेर आफ्नो कान समाएँ । मलाई थाहा थियो, आभा एकैछिनमा फक्किन्छिन् ।

‘अर्कालाई किन तर्साको त !’, उनको बोली लाडिएको थियो ।

‘हामी आफ्नो पुतलीसँग खेल्न पनि नपाउने कि क्या हो !’, उनकै बोली अनि हाउभाउको नक्कल गर्दै जिस्काएँ ।

‘अर्कालाई तर्साएर पनि खेल्नी रे !’, उनी कोठाभित्र पसिन् ।

मैले बाघको लुगा फुकालेँ । पुरानो ड्रेस फेला पारेकोमा कुसुम आश्चर्यचकित थिइन् । कलिली नानीसँग त्यसरी जिस्केकोमा उनलाई चित्त बुझेको थिएन ।

‘साँच्चिकै हैन क्यारे । मलाई रमाइलो लागिहाल्यो, के मतलब !’

‘अरुलाई तर्साएर आफू मात्र रमाएर हुन्छ ?’

कपडा फेरेर बाहिर निस्किँदा आभाको अनुहार अलिअलि हँसिलो भइसकेको थियो ।

‘सरी भनेँ त !’

‘इट्स ओके !’, मेरी पुतली उज्यालो अनुहार बनाएर फुरुङ्ग परिन् । बाघको मुखुन्डो भएको छेउमा पुगेर डराएको भावभङ्गिमासहित मुखुन्डोलाई हातमा लिइन् । ओल्टाइपल्टाई सबैतिर हेरिन्, फर्काएर भित्र पनि हेरिन् । बाघको नाक–मुखमा हात हालिन् । कस्तो देखिएला भन्ने रहरले डराउँदै-डराउँदै बाघको मुखुन्डोभित्र आफ्नो टाउको छिराइन् । हामी दुवै जनालाई तर्साइन्, ‘हाँ… !’ हामी दुवै जनाले तर्से जस्तै गर्‍यौं, ‘अबुई !’

बदला स्वरुप निकैबेर आभाले मलाई बाघ बनेर तर्साइन् । म बाघको आक्रमणको डरले तर्सेर भाग्न थालेँ । हामीले अबेरसम्म खेल्यौं, बाघ–मान्छेको खेल ! फरक कति भने, केवल म उनी जस्तो डराएर रोइनँ, बरु उल्टो उनले लगाएको बाघको मुखुन्डो खोस्न थालेँ । निकै बेरपछि आभाले आफ्नो दैनिकीको बागडोर समातिन् । डर र समस्याले मानिसलाई परिपक्व बनाउँछ ।

एक दिन विद्यालय गएकी आभा घर आइनन् । रातिसम्म घर नआएपछि हामी निकै आत्तियौं । निद्रा पनि नलागेर मेरो शरीर कट्कट् दुख्न थाल्यो । खोज्न जाने ताकत थिएन, न त उनकी आमाको नम्बर थियो । आँखाबाट आँसु बगिरह्यो । कुसुम शान्त रहन सकिनन्, न म निर्भय हुन सकेँ । त्यो रात धेरै लामो भयो ।

हरेक बिहान आशा बोकेरै आएको हुन्छ । तर हाम्रो बिहान निराशा बनेर आयो । दूध लिएर कोही पनि आएन । न आभा आइन्, न उनकी आमा ! आभा हामीलाई छाडेर गइन् ? कहाँ गइन् ? के भयो उनलाई ?

(टंक चौलागाईंको प्रकाशोन्मुख उपन्यास टालाटुलीको अंश । उपन्यास चैत १४ गते सोमबार सार्वजनिक हुँदै छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment