Comments Add Comment

प्रिय पुस्तक: लोककथाको कोमलतादेखि द्वन्द्वको धारसम्म

पठन यात्राको कुरा गर्दा सबभन्दा पहिले त म बाँचेको भूगोलको कुरा गर्नुपर्छ । पश्चिम नेपालको रोल्पा जस्तो विकट ठाउँमा म हुर्किएँ । जहाँ पठन संस्कृति नै छैन ।

केटाकेटी छँदा बेलाबेलामा रामायण सुनिन्थ्यो । अहिले सम्झँदा सुनकेस्री रानी लगायतका लोककथाहरु सुनेको याद छ । तर, किताबमा भएको भन्दा हाम्रो गाउँतिरका लोककथा फरक हुँदा रहेछन् भनेर पछि मात्र थाहा भयो । उही विषय र पात्रका लोककथा पनि बिलकुल फरक हुन्थे । स्वैरकल्पना भएका ती कथाहरु सुन्दा विकट भूगोलको त्यो बच्चो अर्कै संसारमा पुग्थ्यो ।

०४६ मा बहुदल आइसकेपछि गाउँमा अलिअलि पत्रिका आउन थाल्यो । त्यतिबेला गाउँतिर मान्छेहरु जुनसुकै पत्रिकालाई ‘गोरखापत्र’ भन्थे । ‘जनादेश’ लाई पनि गोरखापत्र पढौं न भन्थे ।

पछि त स्कूलको कोर्सबुकमा जे पढियो, त्यही नै हो । क्याम्पस पढ्न दाङ झरिसकेपछि मात्र बल्ल बाहिरका किताबहरु पढ्न पाइयो । त्यो खालको वातावरण पाएपछि कोर्सको किताबमा बरु कम ध्यान जान्थ्यो । त्यसपछि आफूले पनि अलिअलि लेख्न थालियो ।

राजनीतिक चेत र पढाइको भोक

पढ्ने भोक जगाउनुमा त्यो बेलामा राजनीतिले प्रभाव पार्‍यो । हामी विद्यार्थीकालमै वामपन्थी राजनीतिमा लाग्यौं । गाउँदेखि नै संगठनमा जोडिएको थिएँ ।

पार्टी संगठनको सांस्कृतिक फाँटमा काम गर्दै आएपछि यसो गीत गाउन, लेख्न र भाषण गर्न पनि केही त पढ्नुपर्ने भयो । त्यसरी पढ्दै जाँदा चाख पढ्दै गयो ।

सुरुमा रामेश, मञ्जुलले लेखेको राल्फाको किताब पढियो । त्यसपछि रुसी साहित्य बढी पढियो । त्यो बेला विद्यार्थीकालमा धेरैले बढी पढेको चाहिँ आहुतिको ‘नयाँ घर’ उपन्यास हो । पार्टीको मुभमेन्टसँग जोडिएको विषय भएकोले मैले त्यो उपन्यास दोहोर्‍याएर धेरै पटक पढेको थिएँ । त्यसैको सिको गरेर त्यतिबेलै मैले उपन्यास पनि लेखेँ । पछि हेर्दा त मैले लेखेको जम्मै कुरा ‘नयाँ घर’ कै प्रभाव रै’छ । त्यो कहिल्यै छापिएन ।

खुला संसार र प्रिय पारिजात

सुरुवाती समयमा पार्टी संगठनको आग्रह अनुसार एक खालका मात्र किताब पढियो । बिस्तारै सबै किसिमका पढ्न थालेँ । नेपाली साहित्यको ट्रेन्ड के छ भनेर बुझ्न पनि विविध स्वाद पढ्न थालेँ ।

यस क्रममा मैले पारिजातलाई भेटेँ । अर्थात् पारिजातका रचनाहरु मनमा बेस्सरी गढे । खासगरी उनका संस्मरणात्मक कृतिहरुको प्रभाव बढी रह्यो । ‘एउटा चित्रमय सुरुवात’ र ‘धुपी सल्ला र लालीगुराँसको फेदमुनि’ त मेरो प्रिय नै बने ।

आजको दिनमा पनि मैले ती संस्मरणहरु पटकपटक पढ्ने गरेको छु । आफूमा केही फ्रस्टेसन आए भने पारिजातका सुरुवाती संस्मरणहरु पढ्दा अद्भूत ऊर्जा पाएको महसुस हुन्छ ।

पारिजातका ती दुई कृतिमा मेरो धेरै लगाव छ । मलाई किन मन पर्‍यो भन्ने कुनै स्पष्ट आधार त मसँग छैन । उनी बाँचेको र मेरो परिवेश पनि केही मिल्दैन । कहाँ दार्जिलिङ र काठमाडौं, कहाँ रोल्पा र दाङ ! तर, साना र मसिना कुरा टिपेर लेखिएका संस्मरणहरु मभित्र एकदम गढेको छ । संस्मरणपछि उनकै ‘शिरीषको फूल’ धेरै पटक पढेको हुँ । शङ्कर लामिछानेको ‘एब्स्ट्र्याक्ट चिन्तन प्याज’ पढ्दा पनि विचारले धेरै झङ्कृत पारेको छ ।

आख्यानको रमाइलो दुनियाँ

सुरुमा म गीत, कविता र गजल लेख्थेँ । त्यसपछि कथा लेख्नतिर लागेँ । त्यसपछि चाहिँ आख्यानका किताब पढ्नुपर्छ भन्ने महसुस भयो ।

मलाई सुरुवाती कालमा मनु ब्राजाकीका कथाहरु एकदमै मन परे । ‘आकाशको फल’ संग्रहका कथाहरुले निकै तान्यो । म पहाडको मान्छेलाई तराईको परिवेशका कथाहरु नौला लागे । तराई जीवनको बेजोड चित्रण भएकोले म एकदम फ्यान भएँ ।

त्यसपछि जगदीश घिमिरेको सुरुवाती समयको कृति मनमा निकै गढ्यो । कथा, कविता, निबन्ध, संस्मरण सबै मिसाएको कृति साझा प्रकाशनबाट पकेट साइजमा निस्किएको थियो । त्यसमा चाहिँ बढीजसो पूर्वी पहाडका सन्दर्भहरु थिए ।

हाम्रो भूगोलको कुरा त पढ्न चाहे पनि त्यतिबेला केही लेखिएकै छैन । राप्ती, भेरी, कर्णालीका विषयहरु त बल्ल पछिल्लो समयमा आएर लेखिन थालिएको हो । आफ्नो भूगोलका कुरा पढ्न नपाएपछि अरु चिजले नै तान्यो होला ।

आख्यानको कुरा गर्दा मैले धेरै पढेको चाहिँ पारिजातको ‘शिरीषको फूल’ उपन्यास हो । त्यो मैले विभिन्न समयमा पढेँ । भर्खर क्याम्पस जान थालेको बेला पढ्दा सुरुमा त केही पनि बुझिनँ । धेरैले पढ भनेर सिफारिश गरेपछि पढेको थिएँ । तर, पछि किताबहरुमा रस बस्दै गयो, त्यसबेला पढ्दा चाहिँ सबभन्दा मन पर्ने किताब बन्यो ।

उपन्यास पढ्दा पारिजातको वैचारिक पाटोभन्दा पनि मलाई भाषागत प्रस्तुतिले तानेको हो । जति पटक दोहोर्‍याउँदा पनि नयाँ जस्तो लाग्छ । वैचारिक रुपमा म जनजीवनको यथार्थ भोगाइ र वास्तविक दुनियाँमा विश्वास राख्ने मान्छे हुँ । तर, निस्सारवादी भनिएको ‘शिरीषको फूल’ ले समेत तान्यो । यस हिसाबमा मैले पठन यात्रामा आफ्नो वैचारिक आग्रह नराखी पढ्दै आएँ ।

अहिले पनि त्यही गर्छु मैले । कतिपय कृति र रचनाको वैचारिक पाटो कतिपय हिसाबमा चित्त नबुझ्ने हुन सक्छ । तर, त्यसको मीठो किसिमको लेखाइले तानिरहेको हुन्छ । हरेक लेखाइमा समाजको एउटा न एउटा पाटो त अवश्य हुन्छ । त्यस कारण म सङ्कुचित सोचाइ नराखी सबैखाले किताब पढ्छु ।

विदेशीमा जे-जे पाइयो, त्यही पढियो

एक समय थियो, मैले आफ्नो छनोट र विकल्प खुला नराखी पढेँ । अर्थात् जे-जे उपलब्ध हुन्थ्यो, त्यही पढेँ । विदेशी साहित्यतिरको यात्रा पनि त्यसैगरी तय भएको हो ।

खोजेर, रोजेर भन्दा पनि आइलागेका चिजहरु पढ्दा पनि उत्कृष्ट लेखक नै भेटियो । त्यस क्रममा लु स्युन, माक्सिम गोर्की, फ्योदोर दोस्तोएब्स्कीलाई पढेँ ।

त्यो बेला धेरै पढेको चाहिँ खगेन्द्र सङ्ग्रौलाले अनुवाद गरेको ‘आह क्युको साँचो कथा’ हो । गोर्कीको ‘आमा’ ले पनि एक किसिमको जोश भरेको थियो । याङ मो को ‘युवाहरुको गीत’ अर्को छुटाउनै नहुने नाम हो ।

विदेशी साहित्यमा खासगरी रुसी, चिनियाँ र भियतनामी समाजका कथा पढियो । त्यसो त ती किताबमा उठाइएको परिवेश हाम्रो समाजसँग त मिल्दैनथ्यो । तर, फरक समाजको कथा र व्यथा के रै’छ त भनेर बुझ्न पाइयो । त्यसले पढ्ने बानी झन् गहिरिँदै गयो ।

अनि गैर-आख्यानतिर मोडिएँ

समयसँगै पठन चाहिँ मेरो लागि जीवन पद्दति नै बनिसक्यो । म आनन्द पाउनकै लागि पढ्छु । ‘इन्जोय’ गर्न सकिएन भने जस्तोसुकै गहन र महत्वपूर्ण भनिएको किताब पनि एक-दुई पाना पढेपछि पन्छाउनुपर्ने हुन्छ । पढ्ने विषय आफ्नो रुचिको क्षेत्र पनि हुनुपर्‍यो ।

पढ्नलाई कस्तो खालको विषय मन पर्छ भन्ने कुरामा त्यो उमेर र समय अनुसार फरक हुँदै जाँदो रहेछ । सुरुमा फेन्टासी खालका कुरा र आख्यान बढी पढेँ ।  आठ/दस वर्ष अगाडिसम्म आख्यानमै रमाउँथेँ । पछिल्लो समयमा चाहिँ गैर-आख्यान बढी पढ्न थालेको छु ।

गैर-आख्यानमा पनि मलाई बायोग्राफी पढ्न मन पर्छ ।

पछिल्लो समय गैर-आख्यानको किताब लेख्ने क्रममा बाहिरका किताबहरु धेरै पढेँ । ०६० सालको शाही शासनकालमा भैरवनाथ गणको सैन्य कोठरीमा तीन महिना थुनिँदाको भोगाइलाई संस्मरणमा उतार्नु थियो । जेलको भोगाइलाई अरुहरुले कसरी लेखेका रहेछन् भनेर पढ्न थालेँ । यसै क्रममा गैर-आख्यान पढ्ने रस बस्यो ।

बेपत्ता पारिएर तीन महिना जेलमा बस्दा पूरै अन्धकारमा दृष्टिविहीन जस्तो जीवन बाँचियो । संस्मरणमा त्यो अनुभूति लेख्नुअघि मलाई बाहिरका लेखकहरुको ट्रेन्ड र टेक्निक बुझ्न मन लाग्यो । पहिले आँखा देख्ने मान्छे पछि नदेख्ने हुँदा उसले अनुभूति गर्ने कुरामा के फरक हुन्छ त भन्ने विषयका किताबहरु खोज्न थालेँ । जेलमा बस्दाको अनुभूति लेखिएका पाएजति किताब पढेँ । तर, मैले खोजेको विषय भेटिनँ ।

जेलको संस्मरण चार वर्षअघि नै लेखिसकेको छु । त्यो अब केही समयमा प्रकाशन गर्नु छ ।

पछिल्लो दुई वर्ष चाहिँ मैले नेपालको सन्दर्भबारे लेखिएका कुनै पनि किताब पढिनँ । पछिल्लो किताब ‘रोल्पा सुइना’ (कथासङ्ग्रह) तयार पार्न जुटिरहेको थिएँ । त्यस क्रममा नेपालको विषयमा पढ्दा त्यसको प्रभाव आफ्नो लेखनमा पर्ला कि भनेर पढिनँ । बरु विदेशका किताबहरु पढेँ ।

अहिले मैले द्वन्द्व सम्बन्धी विषयमा लेखिएका किताब बढी पढिरहेको छु । किनकि आफूले अखबारमा लामो समय रिपोर्टिङ पनि गरेकाले द्वन्द्व र संस्कृतिसँग जोडिएका कुरा मेरा रुचिमा परेका छन् ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment