Comments Add Comment

एउटा ‘वेटर’ कसरी बने बलिउड सुपरस्टार

आफ्नो जमानाका सर्बाधिक लोकपि्रय अभिनेता राजेश खन्नाका छोरी ज्वाई, अभिनेत्री ट्वींकल खन्नाकी जीवन-संगी भनेर पुच्छरमा ‘विशेषण’ झुण्डाइरहनु जरुरी छैन, अक्षय कुमारलाई चिनाउन ।

जब अक्षयको नाम लिन्छौं, उनको एकपछि अर्को सुपरहिट फिल्ममो सूची हामी फटाफट भन्न सक्छौं । किनभने यि ‘खिलाडी’ ब्वाईको खातामा दर्जनौ व्लकबस्टर फिल्महरु छन् । ‘मै खिलाडी तु अनाडी’ ‘महरा’, ‘धड्कन’, ‘हेराफेरी’ ‘राउडी राठौर’, ‘हाउसफुल’ देखि अहिलेसम्मको यात्रामा उनले कहिले लभरब्वाइ त कहिले कमेडियन, कहिले जासुस त कहिले एक्सन हिरोको रुपमा आफुलाई खरो उतारिसकेका छन् ।

तर करियरको यो बिन्दुसम्म आइपुग्न उनले एकदमै उतारचढावपूर्ण यात्रा छिचोलेका छन् । एउटा रेष्टुरेन्टका सामन्य ‘वेटर’ कसरी बलिउडका सुपरस्टार बने त ? कथा रोचक छ । भनिन्छ, दैनिक २० हजार व्यक्ति कलाकार बन्ने सपना पालेर बलिउड नगरी मुम्बईमा पुग्ने गर्छन् । यस्तै भिडबाट आएका हुन्, अक्षय ।

संघर्षमय बिगत

अक्षयले बिगतमा खाना बनाउनेदेखि कार्ड बेच्नेसम्मको काम गरे । काम खोज्दै बंगलादेशको चक्कर मारे, कोलकाता धाए ।

कोलकातामा एक ट्रभल एजेन्सीमा काम पाए । तर, उनी धेरै समय त्यहाँ अडिएनन्, मुम्बई पुगे । मुम्बईमा गहना बिक्री गर्न थाले । काम खोज्ने सिलसिलामा उनी बैंककसम्म पुगेका थिए । त्यहीका एक रेष्टुरेन्टमा उनले वेटरको काम गरे । त्यहाँ उनले मार्शल आर्ट पनि सिके ।

जब अभिनेता गोबिन्दासँग भेट भयो

जीवन गुजाराका लागि मुम्बईमा भौतारिरहेका अक्षय चर्चित फोटोग्राफर जयेशको सम्पर्कमा पुगे । जयेशले उनलाई आफ्नो साहयक बनाएर खटाए । त्यस क्रममा उनले लाइट उठाउनेसम्मको काम गरे ।

त्यसबेला गोबिन्दाको फोटोसुट गरिएको थियो । त्यही फोटो पुर्‍याउन अक्षय गोबिन्दकहाँ पुगे । फोटो बोकेर आएको अग्ला, हँसिलो, जोसिलो युवालाई देखेर गोबिन्दाले भने, ‘तिमी किन हिरो नबनेको ?’

त्यस जमानाका चल्तापूर्जा हिरोले ‘हिरो किन नबनेको’ भनेपछि अक्षयको मनमा हलचल पैदा भयो । उनले आफैलाई सोधें, ‘के म हिरो बन्न सक्छु ?’

अन्तत एक इन्स्िटच्युटमा अभिनय सम्बन्धी तालिम लिए । यो १९९० को कुरा हो । त्यहीबेला उनलाई एउटा फिल्मको अफर आयो । उनले फिल्म खेले । जब फिल्म रिलिज भयो, तब उनको रोल केवल ७ सेकेन्डको मात्र थियो ।

त्यही फिल्मको नायकको नाम अक्षय थियो । राजीव भाटियाले आफ्नो नाम बदले र त्यही हिरोको नाम सापटी लिदै आफ्नो न्वरान गरे, ‘अक्षय’ । १९६७ को सेप्टेम्बरमा भारतको अमृतसारमा जन्मिएका अक्षयको खास नाम राजीव हरि ओम भाटिया थियो ।

यसरी बने हिरो

हिरो बन्ने आकंक्षाले उनी आफ्नो पोर्टफोलियो लिएर फिल्म स्टुडियोको चक्कर लगाउन थाले । तर, कतै सफलता हात लागेन । आखिरमा अक्षयको भेट एक मेकअप आर्टिस्टसँग भयो, जसलाई नरेन्द्र भनेर बोलाइन्थ्यो ।

त्यही नरेन्द्रले अक्षयको पोर्टफोलियो लिएर एक निर्देशककहाँ पुगे । भाग्यको ढोका यहिंवाट खुल्यो । अक्षयलाई एकसाथ तीन फिल्मको अफर मिल्यो । साथै, ५ हजार १ सय रुपैयाँ साइनिङ अमाउन्ट पनि ।

उनको पहिलो फिल्म थियो ‘सौगन्ध’ । त्यसको एक बर्षपछि अर्को फिल्म रिलिज भयो, ‘खिलाडी ।’ यो फिल्मले अक्षयलाई वास्तवमै बलिउडको खेलाडी साबित गरिदियो ।

अब्बास- मस्तानका फिल्म ‘खिलाडी’ अक्षयको पहिलो सुपरहिट फिल्म थियो । त्यसपछि उनी मै खिलाडी तु अनाडी, मोहरा, सबसे बडा खिलाडी, मिस्टर एन्ड मिसेस खिलाडी, खिलाडियोअका खिलाडी, दिल तो पागल है जस्ता एकपछि अर्को सुपरहिट फिल्म आयो ।

एक्सन हिरोको छवी बनाएका अक्षयले सन् २००० मा ‘हेरा फेरी’ फिल्म खेले, जसले उनलाई रोमान्टिकको हिरोको रुपमा चिनायो । हेराफेरीको सफलतापछि उनी आवारा पागल दिवाना, मुझसे शादी करोगी, गरम मसला जस्ता कमेडी फिल्ममा अब्बल दरिए ।

गरम मसलाबाट सर्वश्रेष्ठ हास्य अभिनेताको फिल्मफेयर अवार्ड पाएका अक्ष्याले ‘अजनबी’मा निर्बाह गरेको नेगेटिभ रोलबाट ‘बेस्ट भिलेन’ क्याटगोरीमा फिल्मफेयर अवार्ड उचाले ।

एकसाथ दुई हिरोइनसँग अफेर

बलिउडमा अक्षय खेलाडी नै बनेर उदाए । खासगरी समकालिन अभिनेत्रीसँगको रोमान्सले उनलाई ‘प्ले ब्वाई’को रुपमा प्रस्तुत गर्‍यो । कतिसम्म भने, उनी एकसाथ दुई जना अभिनेत्रीसँग समानन्तर अफेयरमा समेत रहे । जतिबेला उनी रबिना टण्डनसँग अफेयरमा थिए, त्यसबेला शिल्पा शेट्ठीसँगपनि उनको ‘इलु-इलु’ चल्दै थियो । ग्ल्यामर हिरोइन रबिनासँग डेट गर्ने अक्षय यता शिल्पासँग पनि टेडिङको तय गरिरहेका हुन्थे । पछि उनको अफेर प्रियंका चोपडासँग पनि रह्यो । तर, यो अफेयर बिवाहपछि भएकाले निकै बिवादित भयो ।

त्यसो त उनको पहिलो गर्लफ्रेन्ड थिइन, चर्चित मोडल पूजा बत्रा । उनीहरुको इंगेजमेन्टसम्म भएको थियो । तर, करियरको उत्कर्षमा रहेका उनीहरुको सम्बन्ध कसिलो होइन, झन् झन् खुकुलो हुँदै गयो । र, आखिरमा त्यो टुट्यो पनि ।

हरेक उमेरका अभिनेत्रीसँग रोमान्स गर्ने अक्षयले त्यसबेलाका चर्चित नायिका रेखासँग पनि प्रेम सम्बन्ध जोडे । फिल्म ‘खिलाडियो का खिलाडी’को छायांकनका क्रममा उनीहरुको प्रेम झांगिएको थियो । रेखा अक्षयभन्दा उमेरले पाको थिइन् । त्यही कारण उनीहरुको अफेयर धेरै बिवादित पनि रह्यो । तर, उनीहरुले आफ्नो सम्बन्धको बारेमा कहिल्यै खुलाएनन् ।

उनले रवीना टण्डन, शिल्पा शेठ्ठीसँग सम्बन्ध बनाएका थिए । प्रेम चक्करमै रहेको बेला २००१  मा एकाएक ट्वीकल खन्नासँग बिवाह गरेर उनले आफ्ना पछि लागेकाहरुलाई स्तब्ध बनाए ।

बाल्यकाल

अक्षयका पिता आर्मीमा थिए । उनीहरु दिल्लीको चादनी चोकमा बस्थे । त्यही अक्षय हुर्किए । पछि मुम्बई पुगे । उनले डन बस्को स्कुलबाट प्रारम्भिक शिक्षा लिए । पछि उच्च शिक्षा गुरु नानक कलेजबाट लिए ।

अक्षयसँग जोडिएका रोचक कुरा

–    जतिबेला अक्षय फिल्मी करियरका लागि भौतारिरहेका थिए । त्यसबेला राजेश खन्ना आफ्नो फिल्म ‘जय शिव शंकर’का लागि युवा कलाकारको खोजीमा थिए । त्यो खबर अक्षयको कानमा पनि पर्‍यो, उनी राजेश खन्नालाई भेट्न पुगे । तीन चार घण्टाको लाइनमा उभिएर उनले राजेश खन्नालाई त भेटे, तर अभिनयको मौका पाएनन् । उनले सोचेका पनि थिएनन् कि, त्यही सुपरस्टार राजेश खन्नाकी छोरीसँग आफ्नो बिवाह हुन्छ भनेर ।

–    अक्षयले बिना गडफादार आफ्नो करियर बनाएको हो । उनको फिल्म ‘खिलाडियो का खिलाडी’मा एक गीत छ- ‘ना हम अमिताभ, ना दिलीप कुमार, ना किसी हिरो के बच्चे, हम सीधे साधे अक्षय अक्षय ।’ बिना गडफदार आफ्नै संघर्षबाट उठेको सन्दर्भमा यो गीत राखिएको हो ।

–    एक समय यस्तो पनि थियो कि, अक्षयको १४ वटा फिल्म लगातार फ्ल्प भयो ।

–    उनी एकदमै तीब्र गतिमा काम गर्न रुचाउँछन् । त्यही कारण बर्षमा तीनदेखि चार वटासम्म फिल्म खेल्छन् ।

–    अक्षय आफ्नो परिवारलाई बर्षमा दुई पटक घुमाउन लैजान्छन् । घुम्नका लागि उनी यस्तो देशको छनौट गर्छन्, जो अरुलाई खासै थाहा हुँदैन । त्यहाँ उनी आम पर्यटक जस्तै बनेर घुम्छन् ।

–    अक्षयले सुत्ने र उठ्ने समय तालिका निर्धारण गरेका छन् । उनी रातको साढे ९ बजे ओछ्यानमा पुगिसक्छन् र बिहान ४ बजे उठ्छन् । यदि कुनै कारणले राती धेरै समय बसेपनि बिहान चार बजे नै उठ्छन् । त्यही कारण उनी रातको पार्टीमा सामेल हुँदैनन् ।

–    बलिउडमा धेरैजसो फिल्म मध्यन्ह वा रातीसम्म सुटिङ हुन्छ । तर, अक्षयको फिल्म सुटिङ छ भने सबै टिम बिहानै हाजिर हुन्छन् ।

–    अक्षयसँग पैसाको खाँचो छैन । तर, उनी मासिक भारु पाँचदेखि १० हजार मात्र खर्च गर्छन् ।

नजिकबाट अक्षय

पुरा नाम- राजीव हरी ओम भाटिया

जन्म- ९ सेप्टेम्बर १९६७

जन्मस्थान- पंजाब, अमृतसार

पिता- हरि ओम भाटिया

माता- अरुणा भाटिया

पत्नी- ट्वींकल खन्ना

छोरा- आरव

छोरी- नितरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment