Comments Add Comment

संस्मरण: दश वर्षको निमेक

“ओइ जीवने ! जीवने !! जीवने भनेको !!!” आँगनबाट एकनाश आवाज आयो, “अज्जै सुतिरा‘छ कि क्याओ ?”

छामछुम गरेँ ।
पानसको बत्ती पनि कालो–पहेँलो देखियो । नयाँमा त खुब पहेँलो थियो । सुन जस्तै । अचेल धुवाँ र मैलोको लेग्रालाग्री टाँस्सिएर पानस कालो–कालो भएको छ । सोचेँ, दिउँसो मस्काउनुपर्ला ।सिरानी मुनिको सूर्य छाप सलाई कोरेँ, ‘झ्वार्र‘ उज्यालो भो । झ्याल छेउको पानस सल्काएँ ।

तर पानस खुब जाती छ, आफू कालो रहेरै पनि उज्यालो प्रकाश छरिरहेछ । जसको प्रकाशले राति अबेरसम्म म किताबका अक्षरहरू छाम्ने गर्छु । अर्को हप्ताबाट एसएलसी दिनु छ नि त !

“जीवने भनेको…“, आँगनबाट झन् चर्को आवाज आयो- “झ्याल खोल छिटो !”
घर्‍याक्क झ्याल खोलेँ । रिमरिम उज्यालो छ । मान्छे चिनिनँ । सोधेँ– “को हो ?”
शिवरामे पो रछ ।

“मुन्थली जुम्”, भन्यो– “कोठा खोज्न ।“

“एकछिन पख्, आमालाई सोद्चु“, मैले भनेँ ।

“काकालाई तँ नभन भनेर कतिचोटि भनेँ, कहिल्यै नमान्ने भो यो केटाले !” बुबा ब्युँझनुभएछ । सदा झैं आज पनि भन्नुभो–“काका भनेको बाउ समान हुन्च, तपैँ भन्नुपर्च ।“

बिरालो चालमा आँगनमा आएँ र शिवरामेको कानमा फुसफुसाएँ– “ए तपैं !”

हामी दुवै हाँस्यौँ ।

शिवराम साइनोले पो काका, खासमा त साथी हो नि ! एउटै कक्षामा पढ्छौं । मिल्छौं । मीठो कुरा बाँडेर खान्छौं । उमेरले मभन्दा अलि बढी, ज्यान पनि अलि ठूलो । चार दिनअघि स्कूल छेउको हेल्थपोष्टमा जोखेको, म ३७ किलो । ऊ ४८ किलो ।

“मुन्थलीमा आज हाट पनि लाग्च । हेर्नुपर्च । आमासँ पैसाद मागेर बोक्“, उसले कानमा साउती गर्‍यो ।

“जे पायो त्यही नखानू“, हिँड्ने बेला आमाले सयको नोट दिँदै भन्नुभो- “भरे छिट्टै आइपुग्नू । नत्र माबादीले लग्ला नि !” आमाले खुइय्य… गर्नुभो । थप्नुभो– “जोगाउनै गाह्रो पर्नेभो, काल जमाना पनि के आयो ।”

“हिँड्ने बेला किन अशुभ बोल्चे यो आईमाई !” माथ्लो तलाबाट बाको ठूलो स्वर सुनियो ।
पहेँलो घाम भर्खर उदाउँदा हामी हिँड्यौं ।

***

देशैभरि द्वन्द्वको आगो दन्किएको थियो । मान्छे नमरेको दिनै हुँदैनथ्यो । माओवादीले सेनालाई, प्रहरीलाई र सेना–प्रहरीले माओवादीलाई मारेको मात्र खबर आउँथेन । दुवै पक्षबाट शिक्षक, कर्मचारी र अन्य सर्वसाधारण मारेको खबर पनि उत्तिकै सुनिन्थ्यो । गाउँका साहुहरू घर छोडेर सदरमुकाम वा राजधानीतिर गएका थिए । गाउँ–गाउँका प्रहरी चौकी, बैंक, हुलाक पनि उठेका थिए र सदरमुकामतिर सरेका थिए ।

हाम्रै कान्छा हजुरबालाई पनि माओवादीले दुई लाख चन्दा नदिए मार्ने धम्की दिएपछि पोहोर दशैंको दिन बिहानै सबैलाई टीका लगाइदिएर आँसु चुहाउँदै काठमाडौंतिर जानुभाथ्यो । बूढो मान्छे रोएको कस्तो नसुहाँउदो रहेछ ! त्यसबेला मेरो पनि आँखा पनि भरिएको थियो । दाहिने हातको बाउलाले आँसु पुछ्दै सिँगान स्वाट्ट मास्तिर तानेको थिएँ ।

बुबा हरेक साँझ रेडियो सुन्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, “मान्छे भसक्कै मारेछन्, मान्छेको ज्यान त कुखुराको जस्तो पनि भन गाँठे !”

अगेना छेउ बसेर आगो ताप्दै गरेका तल्लोघर–माथ्लोघरका काकाबाहरू बुबाको कुरामा हो मा हो मिलाउँथे । पढ्दै गरेको मउहाँहरूको कुरा चाख मानेर सुन्थेँ ।

यस्तो समयमा हाम्रो एसएलसी परीक्षाको सेन्टर सदरमुकाम मन्थली सर्नु नौलो कुरा थिएन । हामीभन्दा तीन ब्याच अघिदेखि नै दाइ–दिदीहरूले सदरमुकामबाट एसएलसी दिइरहेका थिए । त्यही परीक्षा दिने अवधिभर बस्नका लागि कोठा भाडामा खोज्न एकाबिहानै हामी मन्थली लागेका थियौँ । फटाफट हिँडियो भने मन्थली पुग्न चार घण्टा लाग्छ । म योभन्दा पहिले एक पटक मात्र पुगेको थिएँ । नुन खेप्न ।

***

हामी फटाफट हिँड्यौं, कतै दगुर्‍यौं । चौतारा डाँडा, गोगनपानी, पकरबास, ठाँटी, सान्नेको डाँडो, थाक्ले, मुगिटारसम्म पुग्दा अनुहारमा खलखल पसिनाको धारा बगिरहेको थियो । मुगीटार पुगेपछि बरको बोटमुनि टुसुक्क बस्यौं । अब मन्थली पुग्न एक घण्टा लाग्ला ।

“कति बज्यो दाइ ?” बाटो हिँडिरहेको बटुवालाई शिवरामले सोध्यो ।

त्यो मान्छेसँग घडी रहेनछ । घडी नबाँधेको देब्रे हात जुरुक्क उचाल्यो र घडी हेरे जस्तै गर्‍यो । अनि भन्यो, “नाडी बजेर भुत्ला मिनेट गो भाइ !”
हामी अलमल्ल परेर मुखामुख गर्‍यौं ।

“तपैँसँ घडी त रैन्च”, मैले भनेँ ।

“था रछ त, किन सोधेको पाजी हो !?” ऊ झर्कियो । हामी बेतोडले भाग्यौं ।

जीवन खत्री

निकै पर पुगेर शिवरामले भन्यो – “माझ्याक्ने, नाडी बजेर भुत्ला मिनेट गो पो भन्च !” हामी बेस्सरी हाँस्यौं तर हाम्रो हाँसो तामाकोशी किनारबाट धेरै टाढा पुगे जस्तो लागेन । खैर, किनारका दुई–चार सेता बकुल्ला हावामा उडे ।

तामाकोशीको छातीमा पुल थियो । पुलको छातीमा भ्वाङ परेको थियो । भ्वाङ छोप्न काठका दुई फलेक ओछ्याएर किला ठोकिएको थियो ।
‘साउनेको झ्यारीले बम पडकाउँदा परेको भ्वाङ यै हो‘, शिवरामले भन्यो ।
झ्यारी हाम्रै कक्षामा पढ्ने अमृतको दाइ थियो । गाउँमा कुन्नि कोसँग झगडा परेपछि माओवादी भएको थियो रे ।

बेलाबेला स्कूलमा आउथ्यो, कहिले एक्लै आउँथ्यो । हेडसरसँग एक्लै निकैबेर एकान्तमा कुरा गर्थ्यो । कहिले अरू माओवादीहरूसँगै आउँथ्यो । हामीलाई ‘कमरेड‘ भन्थ्यो । दायाँ हात मुठी कसेर जुरुक्क कान–कानसम्म उचाल्थ्यो । हाम्रो हात च्याप्प समातेर मिलाउँथ्यो । म त दुखेर झण्डै रुन खोज्थेँ ।

ऊ भन्थ्यो, “बुर्जुवा शिक्षाको पछि लागेर काम छैन ।” म बुर्जुवा भनेकै बुझ्दिनथेँ अनि गोरु जोत्न बेलाको जुवा सम्झिन्थेँ र त्यसैको अगाडि बुर थप्या होला भन्ठान्थेँ र मनमनै हाँस्थेँ । ओठ खोलेर हाँस्न को सक्ने ! सबै जना डरले थुरुरु ।

झ्यारीले बम पड्काउँदा बमले पुल भत्काउन सकेन । पुलको बीचमा भ्वाङ मात्रै पर्‍यो । तर, आफ्नो दाहिने हात पाखुरामुनिबाट च्वाट्टै चुँडायो बमले । रगत तररर चुहिएर भल बग्यो । भल तामाकोशीमा मिसियो । पानी पनि रातै भयो । तर, झ्यारी डराएन ।

चुँडिएको हात बोकेर ऊ तामाकोशीको किनारैकिनार, जङ्गलैजङ्गल, पाखैपाखो, कुलैकुलो, खैतैखेत भाग्यो । र भर्खर धान झारेर कुन्यु लगाएको परालको चेपमा घुस्रिएर लुक्यो । पछि–पछि लखेट्दै आएका सेना–प्रहरीहरूले उसलाई भेटे । उनीहरुले उसलाई बुटैबुटले कुट्दै, घिसार्दै लगे र मारे भन्ने हल्ला गाउँभरि फैलियो ।

झण्डै एक वर्षपछि झ्यारी प्लास्टिकको हात लगाएर फेरि हाम्रो स्कूलमा आयो । सेनाले सुरुमा खुब कुटे रे । फेरि माओवादीमा नजान भने रे । कता–कता हस्पिटलमा लगेर चुँडिएको हातको उपचार पनि गरिदिए रे । प्लास्टिकको हात पनि हालिदिए रे । तर, गाउँ फर्केपछि झ्यारी फेरि माओवादी भयो । ऊ केही महिनामै दोरम्बा काण्डमा मारियो । उसको लाश उतै गाडियो ।

झ्यारीले भ्वाङ पारेको पुलमा अड्याइएको काठमा बिस्तारै टेकेर हामी पुल पारी पुग्यौं ।

“ए मेरी बास्सै ! कति धेरै आर्मी–पुलिसहरू !” म त नीलो–कालो भएँ। झण्डै पिसाब फुस्केको । कस्ता–कस्ता बन्दुक ताकेर बसेका । हान्छ कि क्या हो ? शिवराम त्यति डराएन । उसको ठूल्दाइ पनि आर्मी हो नि त !

हामीलाई देखेर एउटा लिखुरे आर्मी कड्कियो, “काँ जान ला चल्ला हो ?”

“कोठा खोज्न“, मैले आत्तिँदै भनेँ ।

“किन कोठा ? एसएलसी दिने हो‍ यो साल ?”

“हो ।“

“काँ हो घर ?” अर्को जुङ्गेले सोध्यो ।

“खत्रीगाउँ“, शिवरामले बल्ल मुख खोल्यो ।

“माकादुम गाविस“, मैले हतारहतार भनेँ ।

“तिमारको तिर माबादीहरू कत्तिको छन् ?” अर्कोले सोध्यो।

हामी केही बोलेनौँ । चुपचाप भुइँतिर हेरेर बस्यौं ।

“किन बोल्दैनौ जाँठा हो !” जुङ्गे कड्कियो । भन्यो– “तिमारु पनि माबादी हौ कि ?”

“हाम्रो ठूल्दाइ आर्मी हो, हामी पनि एसएलसी देर, आर्मीमा भर्ती हुने“, शिवरामले डराउँदै भन्यो ।

“गुड“, जुङ्गेले हँसिलो अनुहार बनायो । भन्यो– “झुक्केर पनि माबादी नहुनू ! नत्र गोली खाउला ।“

“हुन्च“, हामीले एकै स्वरमा भन्नु अगावै त्यसले भन्यो, “जाओ जाओ ।“

हामी बेतोडले खेतको किनारैकिनार कुद्यौं र हाटेचौर पुग्यौं ।

“हाट लाग्ने चौर भएर हाटेचौर भनेको होला है“, शिवरामले भन्यो ।
“खै होला“, मैले उसको कुरामा त्यति ध्यान दिइनँ । मलाई त छेउको मिठाई पसलबाट आइरहेको बास्नाले खुब भोक जगाएको थियो । दुबैले बीस–बीस रुपैयाँको जेरी र मालपुवा खायौं । तारेको माछाको स्वाद चाख्यौं, दश–दश रुपैयाँको । हाट घुम्यौं । कति धेरै मान्छे, कति धेरै पसल, कति धेरै चिजबिज ! कपडा पसल थरीथरीका । मासु पसल छुट्टै । राँगा र भैँसी काटेको पनि पहिलो पटक देखेँ । डर लाग्यो । साइकल पनि देखेँ । नजिकै गएर हेरेँ । कसैले नदेख्ने गरी खुसुक्क छोएँ । यताउता नजर डुलाएँ । कसैले देखेको रहेनछ । खुब मज्जा भो ।

हाटेचौर नजिकै कोठा खोज्यौं । पन्ध्र दिन बसेको भाडा ६ सय रुपैयाँ । खाना आफैँले पकाएर खानुपर्ने भो । ‘दाउरा किन्न पाइन्छ‘, घरबेटीले भनिन् । एक सय रुपैयाँ बैना छोडेर घर फर्कियौं ।

***

परीक्षाको दुई दिनअघि बिहानै आमाले खाना पकाइदिनुभो । सायद तरकारी पकाउन भ्याउनुभएन । दूध र भात खाएँ । झोलाभरि किताब हालेको थिएँ । “कक्षा नौ र दशबाट नै प्रश्नहरू आउँछन्“, सरहरूले भन्नुभाथ्यो । किताब र नोटकापीले झोला गह्रुँगो भो । तीन जोर सर्ट–पाइन्ट झोलाको कुनाकानीमा मिलाएर कोचेँ । बुबाले एउटा तन्ना र पातलो मन्डी अर्को झोलामा हाल भन्नुभो । त्यसै गरेँ ।

हिँड्ने बेला बैनीले ढोकामा जोर–कलशको साइत बनाइदिई । बुबा र आमाले रातो टीका लगाइदिनुभो । आमाले भन्नुभो– “खाई–नखाई खुब दु:ख गरेर पडाका छुम् । राम्रो गरेर जाँच दिनू ।”

“नआत्तिई लेख्नू । फस हुनू । कुल–पितृको नाम राख्नू । सतुरको अगाडि केही गरेर देखाउनू । ईश्वर दाइना हुन्“, बुबाले पनि थप्नुभो ।

ज्या ! मेरा आँखा त भरिएर आएछन् । आँखाका दुई परेला ढक्कन लागे । आँसुका ताता दुई डल्ला फुस्किए । दुवै गाला हुँदै भुइँमा झरे । बुबा–आमाको अनुहार हेर्नै सकिनँ । भन्न मन लाग्यो, “म जसरी पनि पास हुन्छु, हो म पास हुन्छु । अनि भोलिपर्सि तपैँहर्लाई सुखले पाल्छु ।“

तर, बुबा–आमाको अगाडि भन्नै सकिनँ । मनमनै सोचेँ मात्र ।

हामीसँगै हरिकृष्ण र रामचन्द्र पनि बस्ने भए । चार जना हुने भयौं । दुइटा झोला बोकेर म अघि लागेँ । शिवराम, हरिकृष्ण र रामचन्द्र पनि हिँडे । झोला गह्रुँगो भो । फटाफट हिँड्न सकिएन । बिस्तारै हिँड्यौं । अनेकथरी कुरा गर्‍यौं । जिल्लाभरिकै परीक्षाकेन्द्र सदरमुकाम भएकाले बाटैभरि परीक्षार्थीहरू भेटिए ।

झ्यारीले भत्काएको पुल तरेपछि कोठा खोज्न आएको समयमा झैं प्रहरीहरूले केरकार गरे । झोला खानतलासी गरे । उसैगरी भने, “माबादीमा नजानू, नत्र गोली खाउला ।“

हामी हाटेचौर नजिकैको खोजको कोठामा पुग्यौं । झोला बिसायौं र ओइलाएको साग झैं भुइँमा बस्यौं । घरधनी माझी दम्पती थिए । गरिब थिए, तर सहयोगी थिए । दाउराको बन्दोबस्त गरिदिएका रहेछन् । भाँडाकुँडा पनि दिए । बत्ती ल्याएर जोडिदिए । स्विच थिच्यौं, चिम झुलुक्क बल्यो । पहेँलो भो । आहा ! झलमल्ल बत्ती । कस्तो मज्जा !

साँझ एकबोरा चामल किन्यौं । तेल, मसला र नुन किन्यौं । बिहान–बिहान खाजा हुन्छ भनेर चाउचाउ र चिउरा पनि किन्यौं । मलाई चाउचाउ खुब मन पर्छ । मन फुरुङ्ग भो । साँझ खान तरकारी किन्यौँ र कोठामा आएर खर्चबर्चको हिसाब गर्‍यौं । चार भाग लगाएर बराबर पैसा मिलायौं ।

भोलिपल्ट उठेर मन्थली बजार घुम्यौं । जगदीश घिमिरे दम्पतीले सञ्चालन गरेको तामाकोशी सेवा समितिको भवन हेर्‍यौं । जुन संस्थाले हाम्रो गाउँमा धारा र ट्वाइलेट बनाइदिएको थियो । मैले किताब पसलमा पुगेर सबै विषयको गेसपेपर किनेँ । दुइटा सेलो डटपेन, कपी ओछ्याउने कुट र एकजोर अलि ठूलो खालको जुत्ता किनेँ । “जुत्तामा लुकाएर गेसपेपर लग्न सकिन्छ“, स्कूलमा कसैले भनेको थियो ।

१२ बजेतिर हाट गयौं । तामाकोशीको किनारमा पौडी खेल्यौं । पौडी हैन, कपडा खोलेर शान्तसँग बगेको पानी छोयौं । किनार नजिकै रहेर पानी छप्ल्याङछुप्लुङ पार्‍यौं । पौडिन त जाने पो !

फर्केर म:म: पसलमा म:म: खायौं, भेज म:म: । खाएपछि शिवरामले भन्यो- ‘यो त राँगाको मासुको म:म: !‘ मलाई बान्ता होला झैं भयो । पानीले मुख कुल्ला गरेँ । बान्ता त भएन । सोचेँ, “भैगो, खाई त हालियो ।“

तीन बजेतिर मन्थली हाइभिजन हल पुगेर फिल्म हेर्‍यौं । दिनैपिच्छे शो हरू फेरिने कुरा पनि थाहा पायौं । खुब मज्जा आयो । साँझ लखतरान परेर कोठामा आयौं । चाउचाउ पकायौं । खायौं र सुत्यौं । पढ्न त उस्तै भो । भोलि बिहानै ७ बजेदेखि परीक्षा भएका हाम्रो हालत अचम्मकै थियो । सम्झेर पीर मान्नुभन्दा म मुसुक्क हास्थेँ ।

बिहानै ६ बजे हतारहतार उठ्यौं । आज परीक्षाको पहिलो दिन । पढेको केही छैन ! थोरै कौतुहल र धेरै डरले दिमागमा डेरा जमायो । जे त होला, जाँच त दिनैपर्‍यो । मैले खुसुक्क दाहिने जुत्तामा गेसपेपर पट्याएर हालेँ र जुत्ता लगाएँ । जुत्तामा गोडा छिर्न मुश्किल पर्‍यो । तैपनि अप्ठेरो सहँदै कोचेँ ।

हिँड्ने बेला हरिकृष्णे एक्कासी रुन थाल्यो ।
“के भो के ?” सबैले एकैपल्ट सोध्यौं ।
“मेरो त प्रवेशपत्र नै हरायो“, हरिकृष्णले रुँदै भन्यो ।
लौ फसाद पर्‍यो ! सबै जना डरले नीलो भयौं । मैले सोचेँ, अब उसले जाँच दिन पाउँदैन । दश वर्षको मिहिनेत खेर जाने भो । अरु त ठीकै थियो, उसको बुबाले मार्छन् उसलाई । कस्तो बेहोसी !

सबै मिलेर खोज्यौं । अहँ, कतै पनि भेटिएन ।

अब कसरी परीक्षा दिन्छ हरिकृष्णेले ? सबैलाई त्यही चिन्ताले सतायो । ऊ रुँदै हिँड्यो, हामी डराउँदै हिँड्यौं । उसलाई हाम्रो स्कूलबाट आएको सरलाई खबर गरेमा केही हुन सक्ने सोचेर सरलाई भेट्न भन्यौं । तर, भन्नासाथ सर कहाँ भेटिनु !

“सबै लाइनमा आओ । प्रवेशपत्र देखिने ठाउँमा बोक । चिट, गाइड, गेस छ भने यही छोडेर जाओ । भित्र भेट्यो भने रेस्टिकेट हुन्छौ !”, बन्दुक बोकेको पुलिसले ठूलो स्वरमा भन्यो । विद्यार्थीलाई चेक गर्दै हलभित्र पठाउन थाल्यो । केटीहरूलाई चेक गर्ने महिला पुलिस रहेछन् । जिल्लाभरिका कति धेरै विद्यार्थी !

मेरो पालो आयो । पुलिसले मलाई कस्तरी हेर्‍यो । सोध्यो– “चिट, गाईड,गेस पेपर केही छ ?”

“छैन“, मैले सानो स्वरमा डराउँदै भनेँ । मेरो नजर घरि दाहिने गोडाको जुत्तामा घरि त्यसको बन्दुकको नालमा दौडिरहेको थियो ।

उसले मेरो दुई हात, पाखुरा, जिउ र गोडासम्म सररर दुई हातले छाम्यो र भन्यो, “जा ।“

पुलिसले मेरो दाहिने जुत्तामा हालेको गेस पेपर पत्तै पाएन । सोचेँ– “चोर्न पाउने भएँ । अब पास हुने भएँ !”

परीक्षा हलमा जाँच सुरु भयो । कापीमा लेखेँ–

नाम- जीवन खत्री
सिम्बोल नम्बर- ०१८०५५९ ‘O’
विषय- अङ्ग्रेजी

प्रश्नपत्र बाँडेपछि हलमा मूर्दा शान्ति छायो । तर, त्यो धेरैबेर टिकेन । खासखुस, गुनगुन सुनिन थाल्यो । दुई जना मिस गार्ड बसेका थिए । हल्ला गरे कापी खोस्ने चेतावनी दिंदै थिए । एक घण्टापछि सुपरिटेन्डेन्ट आएर कापीमा हस्ताक्षर गरेर गयो । जानेको जति मैले पनि लेखेँ ।

यसो यताउति नजर डुलाएको त मेरो अगाडि बसेको रामशरण चिट सार्दै रहेछ । खुसुक्क कोट्याएँ र चिट मागेँ । दिन्नँ भन्यो र आँखा तर्‍यो । मलाई त फेल हुन्छु जस्तो लाग्यो । पीर लाग्यो । जे पर्ला, गेस पेपर निकाल्छु भन्ठानेर बिस्तारै निहुरिएँ । जुत्ता खोलेँ । स्वात्त गेसपेपर निकालेर जुत्ता लगाएँ । बिस्तारै पाना पल्टाउन के खोजेथेँ, मेरो गेसपेपर स्वात्त थुतेर मिसले पो लगिन् । कापी पनि खोस्दै भनिन्- “चोर्छस् ?”

चिटचिट पसिना आयो । सय बारुलाले एकै पटक टोके झैं लाग्यो । अनुहारमा बादल मडारियो । बा–आमालाई सम्झेँ । एकै चोटि तिर्खा लागे जस्तो र पिसाब उम्केला जस्तो भो । छिनमै आँखा डम्म भरिएर आँसुका गेडा भुइँमा खसे । भनेँ, “सरी मिस ।“

“अब फेरि चोर्छस् ?” मिसले सबैको सामुन्ने भनिन् । सबै जना मलाई नै हेर्दैथे । मलाई झन् रुन मन लाग्यो ।

“नाइँ चोर्दिनँ“, मेरो घाँटीमा गाँठो पर्‍यो ।

“ला कापी, अब फेरि भेटेँ भने सीधै रेस्टिकेट गर्दिन्छु“, मिसले कापी डेस्कमा फ्यात्त फालिदिइन् । दाहिने बाहुलाको फेरले आँसु पुछेँ । फेरि चिट चोर्ने हिम्मत कहिल्यै गरिनँ ।

परीक्षा सकेर कोठामा आउँदा त हरिकृष्णे मुसुमुसु हाँस्दै भात पकाउँदै रहेछ । मैले सोधेँ, “के भो प्रवेशपत्र ?”

“सुपरेटेनले हातले लेखेर बनाइदियो । मैले त जाँच दिन पाएँ“, ऊ खुसी भयो ।

मलाई पनि खुसी लाग्यो । शिवराम र रामचन्द्र पनि आए । उनीहरू पनि खुसी भए । तर, आफूले लेखेको उत्तरमा पास हुन्छु भनेर कसैले भन्न सकेनन् । मैले झैं सबैले फेल हुन्छु भने । हामी दु:खी भयौं ।

परीक्षा सकिन्थ्यो दु:खी हुन्थ्यौं । तर, त्यो दु:ख छिनमै कहाँ भाग्थ्यो कहाँ ! हामीलाई त घरदेखि टाढा परीक्षा दिन सदरमुकाम आउँदा पनि टुर हिँडे झैं भएको थियो । परीक्षा अवधिभर किताब एकैछिन हेर्‍यो अनि बन्द । गर्मी थियो । दौडिँदै नदी पुग्यो अनि पौडी खेल्यो । साँझतिर हल पुग्यो, फिल्म हेर्‍यो । हप्ताको एक दिन लाग्ने हाट हेर्‍यो । मैले चाहिँ अधिकांश समय उपन्यास पढेर बिताएँ । बखतबहादुर थापाको ‘परदेश‘ उपन्यास । मलाई यो पुस्तक यति धेरै मन पर्‍यो, परीक्षा अवधिभर दुई पटक दोहोर्‍याएर पढेँ ।

यो परीक्षा आइरनगेट हो, जसरी पनि फोड्नुपर्छ भन्ने थाहा थियो । तर, किताब हेर्नै मन नलाग्ने । एकैछिन हेर्दा पट्यार लाग्थ्यो । बरु किताबको कुरा आउने कुनै औषधि पिउन पाए पनि घुटुक्क निल्न हुन्थ्यो नि !

पन्ध्र दिनको परीक्षा समय सकियो ।

परीक्षा सकिएकै दिन बुबा आउनुभएछ । खाना खायौं । झोला मिलायौं । घरबेटीलाई धन्यवाद भन्यौं । हिसाब गरिदियौं । उनी हामीलाई बिदा गर्दा दु:खी देखिन्थे । छोटै समयमा हामी आफन्त पो भइसकेछौं ।

हामीले आइरनगेट त हल्लायौं, तर भाँच्चियो कि भाँच्चिएन, रिजल्टले बताउने कुरा थियो ।

***

हामीलाई थाहा थियो, हामी कोही पनि पास हुँदैनौं । पढेको भए पो पास हुनु ! जाँच राम्रो दिएको भए पो पास हुनु ! मलाई लाग्थ्यो, बरु रिजल्ट नै नआओस् ! तर, मैले चाहेर मात्र कहाँ हुनु ? आखिरमा रिजल्ट आयो ।

रेडियोको समाचार बज्यो- “यो वर्ष ५ लाख ४० हजार ९ सय ३२ जनाले परीक्षा दिएकामध्ये ४२.४ प्रतिशत उत्तीर्ण भएका छन् ।”

मटु ढक्क फुल्यो । काँडा उम्रियो शरीरभरि ।

रिजल्टको खबर डढेलो झैं गाउँभर फैलियो । सबैले सोध्न थाले– “पास भैस् ?” मैले न्याउरो मुख लाएँ ।
स्कूलबाट खबर आयो- “जम्मा ३६ जनाले परीक्षा दिएकामध्ये ६ जना मात्र पास ।“

भगवान् ! मुटुको ढ्याङ्ग्रो जोड–जोडले बज्न थाल्यो । पिसाब आउला जस्तो भो । घरमुनि दोडिँदै गएर पिसाब फेरेँ । तीन–चार थोपाभन्दा बढी झरेन । रिँगटा लाग्ला जस्तो भो । लगलग काम्न थालेँ ।

मनलाई थुमथुम्याउन खोजेँ, “६ जनामा त कसो परिएन होला र ?”

म कक्षामा तेस्रो थिएँ । अझ आठबाट नौ मा जाने बेला त फस्ट नै थिएँ । तर, नौबाट दशमा जाने बेला तेस्रो हुन पुगेँ । मनमनै सम्झेजति देवीदेउता पुकारेँ । खाँडादेवीलाई भेटी चढाउने भाकल गरेँ– “हे भगवान्, जसरी पनि म पास भएकैँ होऊँ !”

रिजल्ट आएको दिन स्कूलमा पूरा पढाइ भएनछ । अर्को साल एसएलसी दिने तयारीमा रहेको रजी दिउँसो १ बजेतिर स्कूलबाट घर फर्किँदै थियो । परैबाट मलाई देखेर उसले भन्यो, “पास भइचस्, सेकेन डिबजन ।“

“हो र ?” म फनक्क घुमेँ र बुरुक्क उफ्रिएँ । भगवानले मेरो पुकारा सुनेछन् । मलाई त रुन पो आएछ । आँसुका ताता डल्ला गालाको बाटो हुँदै झरी त गो । हत्तेरिका, आँसु भनेको पनि कस्तो चिज होला ! दु:खमा पनि झर्ने, खुसीमा पनि झर्ने ।

आमा पनि खेतबाट आइपुग्नुभएछ । म पास भएको खबर सुनेर आमा पनि रुनुभो । भन्नुभो, – “दश वर्षको निमेक खेर गन, धन्यवाद छ तँलाईँ ।“

बुबा त काठमाडौं हुनुहुन्थ्यो, सायद सँगै भएको भए उहाँ पनि रुनुहुन्थ्यो होला ।

घरमा त खुसी भित्रियो नै, गाउँमा पनि म सबैको हाईहाई भएँ । सबैले बधाई दिए । सबै खुसी भए । क्याम्पस पढ्न काठमाडौं पढ्न पाउने भएँ भनेर म झन् गजक्क परेँ ।

ट्विटर@khatrijiban

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment