Comments Add Comment

११ जिल्लामा मतदानस्थल टुंगिन बाँकी, प्रदेश नम्बर दुईमा बढी समस्या

१३ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा मतदानस्थल तय भएको छ । तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा रौतहटसहित ११ जिल्लाका मतदानस्थल तोकिन बाँकी छ । सबै जिल्लामा निर्वाचन कार्यालय सञ्चालनमा छन् ।

निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन कार्यालयलाई १० चैतभित्र मतदानस्थल तोकेर पठाउन निर्देशन दिएको थियो । तर, तराईका आठ जिल्लामा मधेसी मोर्चाआबद्ध दलहरूको असहयोग र अवरोधका कारण मतदानस्थल तय हुन सकेको छैन । ती जिल्लाका केही गाउँपालिका र नगरपालिकामा तालाबन्दी छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

‘तराईका आठ जिल्लामध्ये पर्साबाट मतदानस्थल तय भएर आउने खबर आइसकेको छ,’ आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले भने, ‘अन्य जिल्लाबाट पनि आउने खबर आएको छ ।’

देशभर करिब १० हजार ३ वटा मतदानस्थल तय हुने आयोगको अनुमान छ । मतदान केन्द्रबारे टुंगो लाग्न भने बाँकी छ । गाउँपालिका र नगरपालिकाको वडाका मतदाता नामावलीको अन्तिम टुंगो लागेपछि केन्द्र तोक्ने तयारी निर्वाचन आयोगको छ । आयोगले बढीमा एक हजार मतदाता हुने गरी मतदान केन्द्र तोक्ने गरेको छ । करिब २१ हजार मतदान केन्द्र हुने अनुमान आयोगको छ ।

प्रदेश नम्बर २ का आठ जिल्लामध्ये सप्तरीका गाउँपालिका र नगरपालिकामा सबैभन्दा धेरै समस्या छ । सप्तरीका आठवटा नगरपालिका र नौवटा गाउँपालिकामा एक सय ६२ वटा वडा कार्यालय छन् । ती कुनै पनि कार्यालय सञ्चालनमा छैनन् । तर, अन्य सातवटा जिल्लामा भने आंशिक समस्या देखिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रलायका सहसचिव रुद्रसिंह तामाङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment