Comments Add Comment

सगरमाथाको बाटो खुल्न दुई साता लाग्ने

१३ चैत, काठमाडौं । यसपटकको वसन्त ऋतुमा सगरमाथा शिखर आरोहण गर्ने पर्वतारोहीका लागि आरोहणको याम सुरु भइसके पनि सगरमाथा शिखरतर्फको बाटो खुल्न अझै दुई साता लाग्ने भएको छ ।

फागुन २१ देखि आठजना आइसफल डाक्टरले बाटो निर्माण सुरु गरे पनि अप्ठ्यारो भएकाले समय लाग्ने भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का कार्यकारी निर्देशक कपीन्द्र राईले बताए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

हिमाल आरोहणको मौसम सुरु भएसँगै दर्जनभन्दा बढी आरोहणदल सगरमाथा चढ्ने पर्खाइमा छन् । एसपीसीसीका अनुसार आधारशिविर (५,३३४ मिटर) देखि निर्माण सुरु गरिए पनि २१ दिनमा आधारशिविर र क्याम्प एकसम्म मात्र बाटो निर्माण भएको छ । पर्यटन विभागले क्याम्प दुईदेखि ६ हजार ४ सय मिटरसम्म सगरमाथा आरोहणको बाटो निर्माण गर्ने जिम्मा समितिलाई दिएको छ ।

आइसफल डाक्टरले बाटो मर्मत गरिनसकुन्जेल जोखिम हुने भएकाले आरोहणदल सगरमाथा आरोहणमा जाँदैनन् । भूकम्प र हिमपहिरोपछि बाटो व्यवस्थित र नयाँ बाटो निर्माण गर्न लागिएकाले सहज भए मात्र दुई साता लाग्ने र असहज भए अझै बढी समय लाग्नसक्ने आइसफल डाक्टरका संयोजक आङकामी शेर्पाले बताए । सन् २०१४ मा लोलाबाट हिमपहिरो आएपछि २०१५ देखि बाटो परिवर्तन गरी नुप्त्से लोला हुँदै नयाँ बाटो प्रयोग गर्न थालिएको जानकारी शेर्पाले दिए ।

आरोहणका लागि उपयुक्त समय मानिने चैत, वैशाख र जेठ तथा असोज, कात्तिक र मंसिरमा हिमपात कम भएसँगै बाटो मर्मत गर्ने प्रचलन छ । पुस, माघ, फागुन तथा असार, साउन र भदौ हिमाल आरोहणको उपयुक्त समय नमानिने भएकाले अफ सिजन भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment