Comments Add Comment

थ्रेसहोल्ड ठीक छ, हामी सानो हुनलाई जन्मेका हैनौं

'मधेसी मोर्चावीच पार्टी एकता हुनुपर्छ, कार्यनीति पनि फेर्नुपर्छ'

 

१३ चैत, काठमाडौं । सरकारले तीन प्रतिशत थ्रेसहोल्डको कानूनी व्यवस्था गर्नासाथ साना पार्टीहरु रिसाएर पत्रकार सम्मेलन गर्नतिर लागे । तर, संसदमा एक सीटको प्रतिनिधित्व गरिरहेको मधेसी जनअधिकार फोरम गणतान्त्रिक भने थ्रेसहोल्डको पक्षमा उभियो ।

व्यवस्थापिका संसदमा एक सीटको प्रतिनिधित्व गरिरहेका फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव थ्रेस होल्डको पक्षमा उभिएका छन् । थ्रेसहोल्ड लागेकोमा उनी खुशी देखिएका छन् । एकसीटे दलका नेतासमेत थ्रेसहोल्ड लाग्दा किन खुशी ? अनलाइनखबरले यादवसँग छोटो कुराकानी गरेको छः

थ्रेसहोल्ड लागिसकेपछि अब तपाईको जस्तो एकसीटे दलको राजनीति त सिद्धिने भो त हैन ? अहिले संसदमा तपाईको तर्फबाट सरिता यादवजी सांसद हुनुहुन्छ, अबदेखि यस्तो मौका नपाइने भयो हैन त ?

सबैभन्दा पहिले त यो थ्रेसहोल्डले कुनै व्यक्ति वा कुनै दललाई भन्दा पनि राष्ट्रिय स्वार्थ वा राष्ट्रलाई हित गर्छ कि गर्दैन भनेर हेर्नुपर्छ । त्यसैले हाम्रो पार्टी र मैले अहिलेको अवस्थामा थ्रेसहोल्डलाई स्वागत गरेका छौं ।

किन ?

यो थ्रेसहोल्डले के गर्छ भने नेपालको जुन राजनीतिक तरलता छ, त्यसलाई स्थायित्वतिर लान्छ । अर्को, पार्टीं निर्माण प्रक्रियालाई पनि यसले सहयोग गर्छ ।

कसरी सहयोग गर्छ थ्रेसहोल्डले ?

यसले व्यक्तिका निजीगत स्वार्थहरु सामुहिक स्वार्थमा परिवर्तन गर्नुपर्ने बाध्यात्मक स्थिति आउँछ । त्यसैले समग्रतामा राष्ट्रिय राजनीतिलाई स्थिर बनाउन, राजनीतिक संस्कारको विकास गर्न र, पार्टीलाई पार्टीका रुपमा विकास गर्न यो थ्रेसहोल्डलाई हामीले सकारात्मकरुपमा लिएका छौं ।

तर, साना दलहरु त थ्रेस होल्डबाट आत्तिएका छन् नि ? संयुक्त पत्रकार सम्मेलन नै गरिसके…

यसमा आत्तिनुपर्ने म कुनै कारण देख्दिनँ ।

तपाईको जस्तो सानो पार्टीलाई त यसले घाटा लगाउने भयो नि हैन र ? संसदमा पाइलै टेक्न नपाइने भयो…..

हाम्रो पार्टी अहिले सानो छ । तर, हामी सधैं सानो बन्नका लागि जन्मिएको हैन नि । भोलि यो देशकै नेतृत्व लिन्छु भनेर अगाडि बढेको हो । त्यसैले हामीले सानो पार्टीलाई ठूलो बनाउने अभियानमा जानुपर्छ । त्यसैले मलाई लाग्छ, थ्रेस होल्ड राम्रो हो, यसबाट हामी खुशी छौं ।

साना पार्टीहरुले गरिरहेको थ्रेसहोल्डको विरोधलाई तपाई के भन्नुहुन्छ ?

विरोध गर्ने उहाँहरुको आफ्नै तर्क र कारण होला । यसको जवाफ वहाँहरुले नै दिनुहुन्छ होला ।

उसोभए तपाई चाहिँ थे्रसहोल्डको विरोधमा लाग्नुहुन्न हैन त ?

नेपालजस्तो एउटा सानो मुलुक र विविधताले भरिएको मुलुकको जुन प्रकारको भूराजनीतिक अवस्था छ, यसमा मैले के देख्छु भने यो थ्रेसहोल्ड तीनवटा कोणबाट राम्रो छ । एउटा त राजनीतिलाई स्थिर बनाउँछ, अर्को कुरा पार्टीलाई पार्टीका रुपमा विकास गर्न बाध्य पार्ट ।

तेस्रो कुरा निर्वाचनमा भाग लिइसकेपछि थोरै पार्टी भयो भने निर्वाचन खर्च देखि लिएर पार्टी व्यवस्थापनसम्म यदि सरकारकै तर्फबाट गर्नका लागि सरकारलाई पनि सजिलो हुन्छ, निर्वाचन आयोगलाई पनि सजिलो हुन्छ । त्यसैले मलाई के लाग्छ भने दलगत स्वार्थ वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर हामीले मुलुकको हितमा सोच्ने हो भने थ्रेसहोल्डलाई बिरोध गर्नुपर्ने म कारण देख्दिनँ ।

यो थ्रेसहोल्डले पार्टी फुटलाई पनि त रोक्ला नि ?

निश्चित रुपमा । व्यक्तिगत महत्वाकांक्षाले पार्टी फुटाउने कुरा राकिन्छ । अझ यस्तो फुटबाट बचाउने हो भने जुन चुनाव चिन्हबाट चुनाव जितेर आएको छ, त्यो एक कार्यकालभित्र पार्टी फोर्न दिनुहुँदैन भन्ने पनि एउटा बाध्यात्मक व्यवस्था गर्न पाए राम्रो हुन्छ । किनभने पार्टीको एजेण्डा र चुनाव चिन्हमा जित्ने अनि आइसकेपछि पार्टी फुटाउनु पनि राम्रो होइन ।

सानो पार्टी चलाउन गाह्रो कि सजिलो हुँदोरहेछ ?

मैले आफैं पार्टी अध्यक्ष भएर चलाएँ । तर, यसो गर्दा राजनीतिक संस्कार स्थापित गर्न पनि गाह्रो हुने । किनभने जिल्ला र गाउँस्तरका कार्यकर्तालाई केन्द्रमा ल्याउनुपर्ने बाध्यता हुन्छ र त्यहाँ राजनीतिक संस्कार र अनुशासन विकास गर्न सकिँदैन । यसले गर्दा मलाई के लाग्छ भने थ्रेसहोल्डले नेपालजस्तो देशमा ७/८ वटा वा १० वटासम्म पार्टीहरु स्थापित गराउँछ । यो भन्दा धेरै गर्दैन । यसो गर्दा देशलाई सेवा गर्छु भन्ने युवाहरु तल्लै तहबाट संस्कारित भएर आउँछन् ।

अब थ्रेस होल्ड लागू भएपछि साना पार्टीले के गर्नुपर्छ ? आफ्नै पार्टीलाई ठूलो बनाउनेतिर लाग्ने कि ठूला पार्टीहरुमा विलय हुने ?

अरु त उपाय नै छैन । अब शक्तिलाई विस्तार गर्नुपर्‍यो । या त पार्टीलाई त्यो रुपमा विकास गरेर ठूलो पार्टी बनाउनुपर्‍यो, हैन भने विचार मिल्ने पार्टीहरुसँग ध्रुवीकरण गर्नुपर्‍यो । मर्ज वा एकीकरण गर्नुपर्‍यो । म के जोड दिन चाहन्छु भने यो राम्रो हो ।

अब तपाईको पार्टी आफैं ठूलो हुनेतिर लाग्छ कि अरु पार्टीसँग एकता गर्नेतिर लाग्छ ?

हामी त थ्रेस होल्ड आउनुभन्दा अगाडि नै यो मुलुकलाई संघीय समावेशी बनाउने विचार बोक्नेहरुसँग छलफल र बहसमा छौं । र, हामी करिब करिब पार्टी एकीकरणको अन्त्यतिर पुगेको अवस्थामा यो थ्रेस होल्ड आएको हो ।

मधेसी मोर्चामा आवद्ध दलहरुवीच एकीकरण गरेर एउटै पार्टी बनाउन सम्भव छ कि छैन ?

यो समयको माग हो । यसमा हामी सकारात्मक सोचका साथ पहलकदमी लिन तयार छौं । यो हुनैपर्छ । यो समयको माग हो । कार्यकर्ताको माग हो, जनताको माग हो ।

जुन प्रकारले अहिले राज्य अनुदार भएर अगाडि बढ्दैछ, मलाई के लाग्छ भने मधेसी मोर्चा एउटै पार्टीको ब्यानरमा एउटै झण्डा र एउटै चुनाव चिन्ह लिएर अगाडि बढ्नुपर्छ । यतिमात्रै होइन मधेसी मोर्चाले आफ्नो कार्यनीति र रणनीतिमा पनि परिवर्तन गर्नुपर्छ ।

कस्तो परिवर्तन ?

यो के हो भने मधेसलाई आधार क्षेत्र बनाउने तर मधेसले वैकल्पिक राजनीतिक शक्तिका रुपमा आफूलाई स्थापित गर्नुपर्‍यो । खाली त्यो मधेसमा मात्रै होइन । जस्ता कर्णालीको सन्दर्भमा मधेसी मोर्चाले एएटा दृष्टिकोण बनाउनुपर्छ । लिम्बुवानसँग कसरी सहकार्य गर्ने ? यसबारेमा सोच्नुपर्छ । आधार क्षेत्र मधेस हुने, तर यो देशमा उत्पीडिनमा परेका समूहहरुलाई नेतृत्व दिने अभियानमा जानुपर्छ भन्ने लाइनको मान्छे हुँ म । मधेसी मोर्चा एक ढिक्का हुनेबित्तिकै यसको विश्वसनीयता बढ्छ र राज्यलाई धक्का दिने एक प्रकारको शक्ति निर्माण हुन्छ ।

मधेसी मोर्चाले स्थानीय चुनावमा भाग लिन्छ कि लिँदैन ?

सबैभन्दा पहिले त हामी लोकतान्त्रिक शक्ति हौं । हामी निर्वाचन विरोधी शक्ति होइन । तर, अहिले जुन स्थानीय निर्वाचनको जुन कुरा गरिँदैछ, हामीले यो संविधानलाई यही रुपमा स्वीकारेको अवस्था छैन । आजसम्म हामी आन्दोलनमै छौं । त्यसैले संविधानलाई पूर्ण नबनाई स्थानीय निर्वाचनमा जानुको कुनै तूक छैन । यो संविधानलाई पहिले पूर्ण बनाउनुपर्छ । यसो नगरी हामीलाई नीतिगत रुपमा पनि चुनावमा भाग लिन मिल्दैन । तर, हामी चुनावविरोधी होइनौं ।

तर, पञ्चायतकालमा वामपन्थीहरुले चुनावलाई उपयोग गरेजस्तै तपाईहरुले पनि संविधानलाई पूर्णतः नमान्दा नमान्दै स्थानीय चुनावलाई उपयोग गर्ने कार्यनीति अपनाए हुन्न ?

चुनाव भन्दा अगाडि संविधानलाई पनि पूर्ण बनाऔं । हाम्रो लागि पनि स्वीकार्य बनाऔं । यो नभएको खण्डमा हामी चुनावमा जान सक्दैनौं ।

यो पनि पढ्नुहोस्

चुनाव बहिस्कार गर्ने उपेन्द्र यादवको आन्तरिक प्रस्ताव

मधेसी मोर्चाको ‘चुनाव बहिस्कार’ले उसैलाई घाटा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment