Comments Add Comment

विद्यालयदेखि नै वर्ग विभाजन ! सम्झँदा दिक्क लाग्छ !

जहाँ ट्याक्सीवालाले बिरामी महिलासँग बार्गेनिङ गर्छन्

काठमाडौंमा ०२५ सालतिर सार्वजनिक यातायातको सार्‍है सकस थियो । म टीयु (कीर्तिपुर) मा पढाउँथें । मेरो आफ्नै सवारी साधन थिएन । बस चढेर टीयु जान्थेँ । सानेपाबाट टेकुसम्म हिँडेर जान्थेँ र टेकु (नेशनल ट्रेडिङ) बाट गाडी चढ्थेँ । बेलुका हिँडेरै फर्किन्थेँ ।

त्यसबेला बस चढ्न सार्‍है सकस हुन्थ्यो । हरेक दिन बस चढेपछि ठूलै बाजी जीतेसरह हुन्थ्यो ।

बस चढ्नै नसक्दा कहिलेकाहीँ ट्याक्सी लिएर जान्थेँ । ट्याक्सीले ७ रुपैँया लिन्थ्यो । तर, पनि क्लास ढिला हुने भो भन्दै ट्याक्सी लिएर गएँ धेरै पटक । तर, सधैं महंगो ट्याक्सी चढ्न सम्भव थिएन ।

म अलि अलि पेन्टिङ पनि गर्थेँ । मलाई सार्‍है दिक्क लाग्यो र एउटा कार्टुन बनाएँ-बाँदर र हात्तीहरु खचाखच बसमा चढिरहेको । त्यो कार्टुन लगेर डीनको अफिसमा टाँसिदिएँ । तर, साथीहरुले उप्काएर फालिदिएछन् । पत्रिकामा सम्पादकलाई चिट्ठी पनि लेखेँ । अनि मैले डीनलाई चिठी पनि लेखेँ, बस व्यवस्थापन नहुँदा कक्षा सञ्चालन गर्न गार्‍हो भयो भनेर ।

लोकतन्त्रमा शिक्षा, सार्वजनिक यातायात, स्वास्थ्य र मिडियामा पब्लिकको बलियो उपस्थिति हुनुपर्छ । मिडिया कुनै ब्यापारीको हैन, सर्वसाधारणको पक्षमा हुनुपर्छ ।

डीनलाई मैले मात्रै चिट्ठी लेख्नुको अर्थ थिएन । धेरै साथीहरुलाई साइन गराएर ज्ञापनपत्र दियो भने केही हुन्छ भन्ठानेर चिट्ठी लेखेँ र साथीहरुलाई सही गर्न लगाएँ । तर, कोही साथीहरुले पनि साइन गर्न मानेनन् । साइन गर्न नमान्नुको कारण थियो मैले चिठीमा भवदीय लेखेको थिएँ । ‘पाउको भक्त’ लेखेको भए सबले साइने गर्थे ।

अन्तिममा साथीहरुले नमानेपछि म विद्यार्थीमाझ गएँ र भनें ‘हेर केटाकेटी हो, तिमीहरुले यो बसलाई ठीक पार्दैनौ भने म पढाउन आउन सक्दिनँ ।

त्यसपछि एक महिनासम्म मैले पढाउँदै पढाइनँ । पछि विद्यार्थीले रेक्टरलाई घेर्न गए । अनि समस्या समाधान भयो ।

लोकतन्त्रमा चारवटा कुरा हुनैपर्छ

लोकतन्त्रमा शिक्षा, सार्वजनिक यातायात, स्वास्थ्य र मिडियामा पब्लिकको बलियो उपस्थिति हुनुपर्छ । मिडिया कुनै ब्यापारीको हैन, सर्वसाधारणको पक्षमा हुनुपर्छ ।

पब्लिक एजुकेशनको महत्व हाम्रो नेताहरुले बुझ्दै बुझ्नुभएन । बुढानीलकण्ठ बस्ने बच्चा जावलाखेल पढ्न आउँछ । कलंकीको मान्छे भक्तपुर पुग्छ । यस्ता समस्या कति छन् कति ।

धनी-धनीका छोराछोरी एउटा स्कुलमा पढ्छन्, गरिब-गरिबका छोरा छोरी एउटा स्कुलमा । स्कुलदेखि नै वर्ग छुट्याएपछि कस्तो समाज निर्माण हुन्छ ?

स्कुल भनेको कम्युनिटीमा हुनुपर्छ र एउटै स्कुलमा धनी गरिबका छोराछोरी पढेको हुनुपर्छ । तब न त्यो स्कुलमा एउटा समाज देखिन्छ । अहिले त हाम्रोमा धनी-धनीका छोराछोरी एउटा स्कुलमा पढ्छन्, गरिब-गरिबका छोरा छोरी एउटा स्कुलमा । स्कुलदेखि नै वर्ग छुट्याएपछि कस्तो समाज निर्माण हुन्छ ? गम्भीर हुनेबेला आएको छ ।

पहिला हामी स्कुल पढ्दा घ्यु साहुका, सुन साहुका, ट्याक्सी ड्राइभरका छोराछोरी एउटै स्कुलमा पढ्थे । त्यहीँ झगडा गर्थे, त्यहीँ मिल्थे । त्यही स्कुलमा एउटा सिंगो समाज निर्माण हुन्थ्यो । अहिले त धनी मान्छेले तलकोलाई चिन्दै चिन्दैन ।

मैले एक पटक रामशरण महतलाई भनेको थिएँ । नयाँ नयाँ गाडी मात्रै नल्याउँ । सार्वजनिक यातायातलाई व्यवस्थित बनाउँ । तर, मेरो कुरा के सुन्थे ?

मेरै कुरा गर्नुहुन्छ भने म आफैं ड्राइभ गर्छु । तर, म आफ्नै ड्राइभमा इन्जोई गर्न सक्दिनँ । यदि भिड छैन भने पब्लिक ट्रान्सपोटमा म आफूलाई सुरक्षित महसुस गर्छु । तर, सवारी साधन नै अव्यवस्थित भएपछि कसरी सुरक्षित महसुस गर्नु ?

सर्वसाधारणलाई सधैं सास्ती

हाम्रोमा हेर्नुस् कि त आफ्नै कार हुनुपर्‍यो, होइन भने ट्याक्सी चढ्नुको विकल्प छैन । ट्याक्सी पनि भनेको ठाउँमा जान मान्दैन । यहाँ साधारण मान्छेका लागि केही छैन ।

ट्याक्सीमा मिटर राखिएको हुन्छ त्यसको अर्थ हो, ट्याक्सी चलाएपछि निश्चित मार्जिन खाउँ । हामीकहाँ बिरामी महिलासँग अस्पतालमा ट्याक्सीले बार्गेनिङ गर्छ ।

धारामा पानी आउँदैन, जेब्राक्रसिङमा बाटो काट्दै गरेकालाई गाडीवालाले चर्को स्वरमा हर्न बजाउँदै भन्छ-छिटो भाग् । सम्झनुस् त हामी कस्तो समाज निर्माण गर्दैछौं ?

हङकङ सिंगापुरको कुरो

हङकङको कुरा गर्ने हो भने एअरपोर्टबाट कँही जान पर्‍यो भने चारवटा विकल्प छन् । अण्डरग्राउण्ड चल्ने यातायात चढेर जानुहुन्छ कि ? बसबाट जानु हुन्छ कि ? वा ट्रेनबाट । ट्याक्सीबाट पनि जान सक्नु हुन्छ । तपाई कुन आर्थिक हैसियतको हुनुहुन्छ, त्यही स्ट्याण्डर्डको सवारी साधन रोज्न पाउनु हुन्छ । त्यस्तो पो प्रजातन्त्र ।

सिंगापुरको कुरा गर्नुहुन्छ भने तपाई ट्याक्सी चढेपछि कसैले ठगिएको महसुस् गर्दैन । तपाई कहाँबाट कहाँसम्म कति मिनेट चढ्नु भयो, झर्ने बेला तपाईको हातमा स्लीप आउँछ ।

सम्झँदा दिक्क लाग्छ

नेपालमा अहिले जताततै बेथितिबाहेक केही छैन । सम्झँदा पनि दिक्क लाग्छ मलाई । लोकतन्त्र भनेको के हो ? वा लोकतन्त्रमा के के कुरा हुनुपर्छ ? कसैले महसुसै गरेन् । जसरी नेताहरुले लोकतन्त्रमा हुनुपर्ने न्युनतम सर्तबारे चासो दिएनन् जनताले पनि बेवास्ता गरे ।

कुनै पनि समाजमा ठूलाबडा मान्छेहरुको जहाँसुकै पहुँच हुन्छ । आर्थिकरुपमा सम्मन्न वा पढेलेखेको मान्छेलाई सरकारी होस् या निजी काम गर्न कसैको साथ सहयोग नपर्न सक्छ । किनकि उसले कुन कामका लागि कहाँ जानुपर्ने र के-के गर्नुपर्ने हो, आफैं बुझ्ने हैसियत राख्छ ।

जो, दुरदराजमा जन्मेको छ, उसले काठमाडौं, पोखरा वा कुनै पनि ठाउँका बारेमा राम्ररी बुझेकोसमेत छैन भने उसलाई सम्बन्धित ठाउँमा पुर्‍याउनुपर्छ । यो काम राज्यको हो ।

सामान्य कुरा गरौं न । कुनै गाउँमा मान्छे बिरामी हुन्छ र उपचारका लागि काठमाडौं आउँछ । कहिल्यै काठमाडौं नआएको ब्यक्तिका लागि पहिला त काठमाडौं आइपुग्नै कठिन हुन्छ । काठमाडौं आएपछि टिचिङ हस्पिटल पुग्न अर्को सकस । टिचिङ हस्पिटल त पुग्यो, अक्षर नचिनेको मान्छेलाई के थाहा, कहाँ टिकट काट्ने हो । कति बजेदेखि टिकट पाइन्छ ?

त्यस्ता ठाउँमा कम्तिमा दुईजना सहयोगी राख्ने हो भने मात्रै पनि ती सर्वसाधारणले धेरै सुविधा पाउन सक्छन् ।

बिराटनगरमा जन्मेकी सुजाता कोइरालाका लागि केही नगर्दा फरक पर्दैन, उनलाई धेरै कुरा थाहा हुन्छ । तर, रुकुममा जन्मेकी सुजाता पुनलाई थाहा नहुन सक्छ र उनका लागि राज्यले गर्नुपर्छ ।

प्रजातन्त्रमा जहिल्यै कमजोर मान्छेलाई सक्षम बनाउने विषयमा सोच्नुपर्छ । तर, हाम्रोमा कमजोर मान्छेहरु ठाउँ-ठाउँ ठगिएका छन् । कहीँ राज्यले ठगेको छ त कहीँ अन्यले ।

(प्राध्यापक डा. माथेमासँग ध्रुव लम्सालले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment