Comments Add Comment

प्राधिकरणले चलायो कुलेखानी,अहिले पानी प्रयोग नगरे बर्षामा खेर जाने


१३ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यो वर्षका लागि कुलेखानीको पानी बचत गर्ने समय घर्किएको निश्कर्ष निकालेको छ । उसले कुलेखानीको पानीलाई अधिकतम् सदुपयोग गर्दै विजुली निकाल्न सुरु गरेको छ ।

अहिले पनि राष्ट्रिय प्राशरणमा पिक अवारमा झण्डै ३ सय मेगावाट विजुली अपुग छ । त्यसै कारण अब कुलेखानीलाई अधिकतम् रुपमा चलाएर लोडसेडिङ रहेका क्षेत्रमा राहत दिने गरी कुलेखानी चलाउन सुरु गरिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

‘अब कुलेखानीको पानी हामीले हिउँदमा जसरी बचाइराख्नु पर्दैन । किनभने अब केही समयपछि पानी पर्न सुरु हुन्छ । कुलेखानीमा फेरि पानी रिचार्ज हुन्छ’ अधिकारीले भने,’अब बचत भएको पानीलाई अधिकतम् प्रयोग गरेर विजुली निकाल्न सकिन्छ । हामीले त्यसका लागि काम सुरु गरेका छौं ।’

उनले अहिले प्रयोग नगरे बर्षामा कुलेखानी भरिएर पानी खेर जाने अवस्था आउने भएकाले विजुली उत्पादन सुरु भएको बताए ।

गत तिहारपछि नेपाल विद्युत प्राधिकरणले काठमाडौंबाट लोडसेडिङ हटाउने घोषणा गर्दा कुलमान घिसिङलाई हिउँद नलाग्दै कुलेखानी रित्याउन लागिएको आरोप लागेको थियो । तर, प्राधिकरणले देशको एकमात्रै पावर ब्याक-अपका रुपमा रहेको कुलेखानीको पानीलाई गत वर्षहरुभन्दा यस वर्ष झनै जोहो गरेको थियो ।

अहिले कुलेखानीमा १५ सय १२ मिटरको उचाईमा जलस्तर छ । कलेखानीलाई पूर्ण क्षमताका पुरै पिक आवरमा बर्षासम्म नै अब चलाउन सकिने अवस्था रहेको अधिकारीले बताए ।

कति प्रयोग गर्छ ? 

अहिले कुलेखानीको इन्द्रसरोबर जलाशयमा पानीको सञ्चय गतवर्षको यस्तै समयको भन्दा बढी सञ्चय भएको छ ।
अहिले प्राधिकरणले कुलेखानी जलविद्युत् आयोजनाको पानीको स्तर वैशाखसम्ममा १५ सय मिटरमा झार्ने गरी खोलेको छ । चैतभरिमा ८ मिटर र वैशाख सकिँदासम्म ५ मिटर झारेर १५ सयसम्म झार्ने योजना बनाइएको छ ।

‘अहिले हामीले त्यो पानीलाई उपयोग गरेनौं भने बर्षामामा ओभरफ्लो हुने सम्भावना हुन्छ’ प्रवक्ता अधिकारीले भने,’ प्रयोग गर्न सकिने पानीलाई खेर जाने वातावरण नबनोस् भनेर हामी सचेत छौं ।’

प्राधिकरणले अत्याधिक विजुली माग हुने पिक आवरमा र विभिन्न आयोजनाहरुमा समस्या आएको बेलामा कुलेखनीलाई चलाउने गरेको छ ।

प्राधिकरणले कुलेखानीको आायेजनको सञ्चालन निकै सुझबुझपूर्ण रुपमा गरेकाले जलाशयमा सञ्चित पानीको परिमाण अझै पनि गत वर्षहरुभन्दा धेरै भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

अहिले कुलेखानीको पानीको सतह गतवर्षको यसै अवधिकोभन्दा बढी भएकाले लोडसेडिङ घटाउन यसलाई प्रयोग गर्न सकिएको हो ।

कुलेखानी जलाशयमा समुन्द्री सतहबाट १ हजार ५ सय ३० मिटरसम्म पानी सञ्चय गर्न सकिन्छ । कुनैवर्ष कुलेखानी भरिए बोरा राखे थप ४० सेन्टिमिटर पानी जम्मा गर्न सकिन्छ ।

कुलेखानी सबै वर्षका बर्षाहरुमा भरिँदैन । राम्रो बर्षामा भएको वर्ष खोलाहरुमा पानी बढेर कुलेखानी भरिन्छ ।
७ किलोमिटर लम्बाइ र ३ सय मिटर चौडाइ रहेको जलाशयमा संकलन गरिएको ४६ मिटर पानी मात्र विद्युत् उत्पादनका लागि प्रयोग गर्न सकिन्छ ।

प्राधिकरणका अधिकारीकाहरुका अनुसार जलाशयको पानी १ हजार ४ सय ८४ मिटरसम्म मात्र प्रयोग गर्न सकिन्छ । कुलेखानी आयोजनाको पहिलोबाट ६० र दोस्रोबाट ३२ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ ।

अहिले प्राधिकरणलाई पिक आवरमा १२२५ मेगावाट बिजुलीको माग छ । प्राधिकरणका आयोजनाबाट ३६५ मेगावाट उत्पादन भइरहेको छ । निजी क्षेत्रका आयोजनाबाट १४५ मेगावाट बिजुली प्रशारणलाइनमा आइरहेको छ ।

भारतबाट ३८२ मेगावाट बिजुली किनिएको छ । अहिले मागअनुसार करिब ३०० मेगावाटको बिजुलीको अभाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment