Comments Add Comment

अमेरिकामा नेपाली चलचित्र महोत्सवको तयारी सुरू

वाशिंगटन डीसी । अमेरिकाको राजधानी वासिङ्गटन डिसी महानगर क्षेत्रमा नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । आगामी मे ५ देखि सुरु हुने महोत्सव ३ दिनसम्म चल्नेछ ।

आयोजक समिति उत्सवको तयारीमा अहोरात्र खटिइरहेका छन् भने यस भेकका सबै नेपाली समुदायलाई आयोजकले सहयोग गर्न आव्हान गरेका छन् ।

नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष एवं महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिएका छन् । तयारी भव्यताका साथ चलिरहेको र आयोजकले कुनै कसर नछोड्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

महोत्सव नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृति सम्बन्धी साझा मञ्चको रुपमा स्थापित गराउने लक्ष्यले महोत्सव आयोजना गर्न लागिएको बराइलीले बताएका छन् ।

नेपाल र अमेरिकाको कला, संस्कृति र ज्ञानलाई चलचित्रको माध्यमबाट जोड्ने लक्ष्यका साथ स्थापित नेपाल अमेरिका फिल्म सोसाइटीले अमेरिकामा पहिलो पटक यस्तो महोत्सव आयोजना गर्न लागेकोले आयोजक उत्साहित छन् ।

महोत्सवमा मूलतः नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशन(सजीवता)का साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिने छ । नेपाल बाहेक दक्षिण एसिया, अमेरिकासहित विश्वभरी बनेका चलचित्रहरुसमेत महोत्सवमा समावेश गरिनेछ ।

चलचित्र प्रदर्शनपछि चलचित्रबारे दर्शक र चलचित्र निर्माता/निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने भएको छ । महोत्सवमा नेपाली डायस्पोरा र चलचित्र जस्ता विभिन्न विधामा विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना हुने छ । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ ।

सोसाइटीले चलचित्र प्रदर्शनीका साथसाथै अप्रवासी समुदायलाई लक्षित गरी चलचित्रसम्बन्धी तालिम कार्यशाला, कला संस्कृतिबारे छलफल र चलचित्र महोत्सवजस्ता गतिविधिहरु सञ्चालन पनि सुरु गरेको महोत्सव निर्देशक पूर्णसिंह बराइलीले बताए ।

महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तिहरु, नेपाल लगायत विभिन्न देशका चलचित्रसम्बन्धी संघसंस्था र महोत्सवहरुसँगको सहकार्यमा आयोजना गरिने छ ।

महोत्सवमा सहभागिताका लागि नेपाली र आप्रवासी चलचित्रकर्मी लगायत विश्वभरिका सम्पूर्ण चलचित्रकर्मीहरुलाई आˆना चलचित्र पठाउन समेत आयोजक संस्थाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment