Comments Add Comment

पाकिस्तान यू-२३ विरुद्ध नेपालः ५ पाकिस्तानी खेलाडी जोसँग नेपाल सतर्क हुनुपर्छ

बंगलादेशमा आयोजित एसीसी इमर्जिङ नेसन्स कप अन्तर्गत सोमबार नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तानको अन्डर-२३ टोलीसँगको भिडन्त नेपालका लागि चुनौतिपूर्ण हुने पक्का छ ।

एक महिना अघि शल्यक्रिया गरेका नियमित कप्तान पारस खड्का यो प्रतियोगितामा अनुपस्थित छन् । यसैगरी प्रमुख तीन बलरहरु सोमपाल कामी, शक्ति गौचन र बसन्त रेग्मीलाई पनि नेपालले आराम दिएको छ ।

आइसीसी वल्र्ड क्रिकेट लिग अन्तर्गत हालै केन्यासँग खेलेको दुई एकदिवशीय म्याचमा नेपालले १-१ को नतिजा निकालेको थियो । दोस्रो म्याचमा ७ विकेटले विजयी हुने क्रममा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । सोही प्रदर्शनलाई निरन्तरता दिएको खण्डमा नेपाललाई पाकिस्तानलाई स्तब्ध पार्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

पाकिस्तानी टोलीमा केही राष्ट्रिय टोलीमा खेलिसकेका सिनियर खेलाडीहरु पनि छन् । अन्य खेलाडीहरु पनि छन् जोबाट नेपाली टिम सतर्क हुनुपर्छ । यहाँ त्यस्ता ५ खेलाडीहरुको चर्चा गरिएको छ ।

१.

मोहम्मद रिजबान

पाकिस्तानी राष्ट्रिय टोलीबाट हाल खेलिरहेका विकेटकिपर ब्याट्सम्यान हुन् मोहम्मद रिजवान । उनी पाकिस्तानी यू-२३ टोलीका कप्तान पनि हुन् । ब्याटिङका साथै उनी चुस्त फिल्डिङका लागि पनि कहलिएका छन्, जसको तुलना साउथ अफ्रिकाका लिजेन्ड जोन्टी रोड्ससँग हुने गर्छ ।

रिजबानले पाकिस्तानको राष्ट्रिय टिमबाट २५ एकदिवशीय र १० टि-२० खेलिसकेका छन् । पाकिस्तान सुपरलिग २०१७ मा उनको टिम लाहोर कलान्दर २०० को स्कोर पार गर्ने पहिलो टिम बनेको थियो जसमा रिजवानले ४६ रनको योगदान दिएका थिए ।

आफ्नो डेब्यू म्याचमा बंगलादेशविरुद्ध उनले ५८ बलमा ६७ रन हिर्काएका थिए ।

२.

ह्यारिस सोहेल

पाकिस्तानी टोलीका उपकप्तान ह्यारिस सोहेल पनि राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् । सन् २०१२ मा राष्ट्रिय टोलीमा छानिएका उनले २२ वटा एकदिवसीय र ४ टि-२० मा पाकिस्तानको प्रतिनिधित्व गरेका छन् । उनले एकदिवशीयमा सातवटा र टि-२० मा आठ वटा अर्द्धसतक हानेका छन् ।

घुँडाको चोटले गर्दा लामो समयदेखि आराम गरिरहेका २८ वर्षीय यी खेलाडी गत जनवरीबाट घरेलु क्रिकेटमा फर्किएका थिए । उनले हालै मलेसियाविरुद्धको एक म्याचमा एनसिए ११ को प्रतिनिधित्व गरेका थिए ।

३.

इमाम उल हक

पाकिस्तानी लिजेन्ड इन्जमाम उल हकका भतिजा हुन् इमाम उल हक । २१ वर्षीय यी खेलाडीले केवल २९ वटा फस्र्ट क्लास म्याचमा तीन शतक र नौ अर्द्धशतक प्रहार गरेका छन् । उनी लामो इनिङ खेल्नका लागि चिनिन्छन् ।

४.

बिलाल असिफ

३१ वर्षीय बिलाल असिफ पाकिस्तानी टोलीका सबैभन्दा पाका सदस्य हुन् । ब्याटिङमा समेत जम्न सक्ने अफस्पिनरले २०१५ मा भएको जिम्वावे भ्रमणका क्रममा उत्कृष्ट प्रदर्शन गरेका थिए । श्रृंखलाको तेस्रो म्याचमा उनले २५ रन दिएर ५ विकेट चट्काए भने ओपनिङ ब्याट्सम्याका रुपमा आएर ३८ रनसमेत बनाए । सोही म्याचका क्रममा उनको बलिङ एक्सनलाई शंकाष्पद मानेर रिपोर्ट गरिएको थियो । यद्यपि, आफ्नो एक्सन सुधारेपछि उनले पाकिस्तानी टोलीमा कमब्याक गरे ।

५.

उसामा मिर

हालै सम्पन्न पाकिस्तान सुपर लिगमा सर्वाधिक विकेट लिने बलरको सुचीमा उसामा मिर पाँचौं नम्बरमा थिए । दायाँ हाते लेग स्पिनरले कराँची किङ्सबाट खेल्दै ८ म्याचमा १२ विकेट लिए । भेट्रान अफ स्पिनर सइद अजमल टिमबाट बाहिरिएपछि उनको स्थान यासिर साहले लिए तर उनी एक दिवसीयमा चम्किन सकेनन् । त्यसपछि मिर र सादब खान यो स्थानका लागि प्रतिस्पर्धामा छन् । खानलाई वेस्ट इन्डिज टूरका लागि छनोट गरियो भने मिरलाई इमर्जिङ कपमा समावेश गरियो ।

अनलाइनखबर अंगेजीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment