Comments Add Comment

चितवनको गैंडा शुक्लाफाँटामा सार्न एक सय जनाको टोली गठन

फाइल फोटो

१३ चैत, चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिंगे गैंडा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिने भएको छ । चार वटा पोथी र एउटा भाले गैंडा चैत २१ गते शुक्लाफाँटामा सार्ने तयारी गरिएको हो ।

गैंडा स्थानान्तरणका लागि प्राविधिक, सुरक्षाकर्मी लगायत एक सय जनाको टास्क फोर्स बनाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।

यसअघि सन् २००० मा चितवनबाट चार वटा गैंडा लगिएको शुक्लाफाँटामा अहिले नौ वटा गैंडा छन् । अब पाँच वटा गैंडा लगिएपछि त्यहाँ गैंडाको संख्या १४ वटा पुग्नेछ ।

शुक्लाफाँटामा गैंडाको लागि चाहिने बासस्थान राम्रो रहेकाले स्थानान्तरण गर्न लागिएको प्रमुख संरक्षण अधिकृत काडेलले बताए । चितवनबाट गैंडा लैजाने टोलीले नै शुक्लाफाँटाबाट दुर्लभ जनावर बाह्रसिंगा चितवन ल्याउने ल्याउने तयारी गरेको पनि उनले जानकारी दिए ।

शुक्लाफाँटाबाट ल्याइने बाह्रसिंगेलाई अर्नाका लागि बनाइएको घाँसे मैदान र पोखरी समेत रहेको इन्क्लोजरमा राखिने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

संरक्षणकर्मीको असन्तुष्टि

सरकारले ०७१ साल कात्तिकमा शुक्लाफाँटामा पाँच वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा ३० गरी ३५ वटा गैंडा चितवनबाट स्थानान्तरण गर्ने निर्णय गरेको थियो । जस अनुसार गत वर्षको फागुन १८ गते पाँच वटा गैंडा बर्दिया लगेर बबई उपत्यकामा छोडिएको थियो ।

चितवनका संरक्षणकर्मीहरुले यसरी गैंडा स्थानान्तरण गर्नु संरक्षणको हिसाबले उचित नभएको बताइरहँदा गैंडाहरु बर्दिया लगिएको थियो । त्यसरी बबईमा छोडिएको गैंडाहरुमध्ये एउटा गैंडाले बच्चा पाए पनि केही दिनमै बच्चा मरेको थियो । बर्दियामा अर्को माउ गैंडा पनि मरिसकेको छ ।

फाइल फोटो

फेरि गैंडा सार्ने तयारी भइरहँदा संरक्षणकर्मीहरुले त्यस अगाडि सुरक्षित बासस्थान, हावापानी लगायत सबै व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले चितवनको गैंडा शुक्लाफाँटा लैजाने निर्णयमा आलोचनात्मक समर्थन मात्रै रहेको बताए ।

शुक्लाफाँटामा लैजान दिइए पनि गैंडाको लागि असुरक्षित साबित भइसकेको बर्दियाको बबईमा अहिलेकै अवस्थामा गैंडा लैजान नदिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment