Comments Add Comment

मोर्चाका नेताको भाषणः कांग्रेस, एमाले र माओवादीको बिउ मास्ने, सिंहदरबार कब्जा गर्ने

१३ चैत, काठमाण्डौं । मलेठको गजेन्द्रनारायण औद्योगिक क्षेत्र त्यही ठाउँ हो, जहाँ नेकपा एमालेले फागुन २३ गते मेची महाकाली राष्ट्रिय अभियानको सभाको आयोजना गरेको थियो । र, एमालेको सभा भइरहँदा प्रहरीले चलाएको गोली लागेर पाँच जनाको ज्यान गएको थियो ।

मृतक पाँचै जनाको स्मरणमा आइतबार यो ठाउँमा मधेसी मोर्चाले शोक सभाको आयोजना गर्‍यो । शोकसभामा स्वतःस्फूर्त रुपमा गाउँ गाउँबाट मानिसहरु भेला भए । एमालेको सभामा भन्दा बढी मानिसको उपस्थिति देखिएको सभामा एकजना पनि सुरक्षाकर्मीहरु देखिएनन् ।

औपचारिक बैठकबाहेक मञ्चमा बिरलै जुट्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु आइतबार एउटै मञ्चमा देखिए । उनीहरुले एउटै मञ्चबाट पार्टी एकता गर्ने आश्वासनसमेत दिए । तथापि उपेन्द्र यादवले भने पार्टी एकताबारे केही भनेनन् ।

मोर्चाले आयोजना गरेको शोकसभामा सातवटै मधेस केन्दि्रत दलका नेताहरुको उपस्थिति थियो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव एकै मञ्चमा भेला भएका थिए ।

उपेन्द्र बाहेक अरुले दिए पार्टी एकताको आश्वासन

मोर्चाका नेताहरुले एक भएर होइन, एकजुट भएर अघि बढ्नुपर्ने बताए । विगतमा एकअर्काको बिरोध गर्ने मोर्चाका शीर्षनेताहरुले मधेसवादी शक्तिहरु एकजुट भएर अघि बढे सिंहदरबार कब्जा गर्नेदेखि मधेसमा कांग्रेस, एमाले र एमाओवादीको बिऊ समेत विलीन गर्न सकिने बताए ।

शोकसभाका प्रमुख अतिथि रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव शुरुमै बोलेर बाहिरिए । उनले एकता सम्बन्धमा कुनै प्रतिकृया दिएनन् । यसपछि बोल्ने राजकिशोर यादवले मधेसवादी दलबीच एकता हुनुपर्ने प्रस्ताव अघि सारे ।

राजकिशोर यादवको प्रस्तावमा राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राय यादव, अनिल कुमार झा र महन्थ ठाकुरले समेत समर्थन जनाए । उनीहरुले भने- हो हामीबीच एकता हुनुपछर्ं ।

‘अब मधेसवादी शक्तिबीच एकता हुनैपर्छ,’ सद्भावना अध्यक्ष महतोले भने, ‘एक हुन नचाहने दललाई मधेसी जनताले नै ठेगान लगाइदिन्छन् ।’

जनताले मधेसी दललाई एक भएको हेर्न चाहेको बताउँदै महतोले आफू पार्टी एकताका लागि तयार रहेको बताए ।

तमलोपा अध्यक्ष ठाकुरले पनि बर्तमान समयमा मधेसी दलबीच एकीकरण हुनु आवश्यक भएको बताए । उनले एकीकरण गरेर अगाडि बढेमा मुलुकको मजबुत शक्ति बन्ने बताए ।

रामसपाका अध्यक्ष भण्डारीले सात दल एकढिक्का भएर अघि बढेमा सिंहदरबार कब्जा गर्न सक्ने उल्लेख गरे । उनले यसका निम्ति आफू तयार रहेको भन्दै सबैलाई अगाडि आउन आग्रह गरे ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले एउटै झण्डामुनि सबै दलहरु आउनु आवश्यक रहेको बताउँदै आफू समावेश हुन तयार रहेको बताए ।

तमसपा अध्यक्ष महेन्द्र राय यादवले एकता गरेरै आन्दोलन गर्दा शाही शासन फालिएको उल्लेख गर्दै मधेसी दल एकजुट भएमा मधेसमा कांग्रेस, एमाले र माओवादीको बिऊ समेत भेटाउन गाह्रो हुने बताए ।

संशोधनविना चुनावमा जान्नौं

सातै जना अध्यक्षले संविधान संशोधन बिना चुनावमा जान नसकिने बताए । उनीहरुले पहिला संविधान संशोधन गर्नुपर्ने र त्यसपछि मात्रै चुनावमा जाने बताए ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म चुनाव असम्भव रहेको बताए । उनले स्थानीय चुनाव गराउने अधिकार प्रदेशको रहेको दोहोर्याउँदै पहिला संघीय संसद र प्रदेशको चुनाव भएमात्रै स्थानीय चुनाव हुन सक्ने बताए ।

इटहरीमा गत बर्ष आफ्नो पार्टीले आयोजना गरेको कार्यक्रमको मञ्च एमाले र प्रहरी मिलेर तोडेको र सुर्खेतमा खाना खाने बेला एमाले नै आक्रमण गरेको भन्दै एमालेका नेताहरुले मधेस बिरोधी शब्द ओकलेका कारण मधेसी जनताले एमालेको कुरा सुन्न नसकेको यादवले बताए । एमालेले हठले गर्दा मलेठमा पाँच जनाको ज्यान गएको उनले बताए ।

तमलोपा अध्यक्ष ठाकुरले मुख्य तीन दलले नै सीमांकनको कुरा ल्याएको र अहिले पछि हट्नु राजनीतिक बेइमानी भएको बताए ।

‘तीन दलका नेताहरुले आफैं गरेको कामबारे गल्ती गरेको पत्रकार माझ भनिरहेका छन्,’ ठाकुरले  सम्बोधनमा भने, ‘यस्तो संवैधानिक गल्ती गर्नेलाई कार्वाही किन नगर्ने ?’

अहिलेको स्थानीय तह नै विवादित रहेकाले चुनाव हुन नसक्ने ठाकुरले बताए ।

सदभावना अध्यक्ष महतोले कुनै पनि हालतमा चुनाव हुन नदिने बताउँदै मधेस बिरोधी शक्तिलाई मधेसबाट बहिष्कार गर्नुपर्ने दोहोर्‍याए । रामसपा अध्यक्ष भण्डारीले संविधान संशोधन बिना चुनावको कुनै औचित्य नभएको बताए ।

मधेसको सभामा पहाडे नेता पनि

शोकसभामा मधेसी मोर्चाका शीर्ष नेता बाहेक तीनजना पहाडे जनजाति नेताले पनि सम्बोधन गर । उनीहरुले मधेसका जनतालाई राज्यले दिएको दुःखको अनुभूति पहाड र हिमालका जनजातिले पनि गरिरहेको बताए ।

शेर्पा स्वायत्त प्रदेश संयुक्त संघर्ष समितिका संयोजक लाक्पा शेर्पा, ताम्सालिङ संयुक्त संघर्ष समितिका संयोजक गोले मगर र संघीय लिम्बुबान मञ्चका अध्यक्ष कुमार लिङदेनले मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले मधेसी, जनजाति, दलित र मुस्लिमहरुको एकै मुद्दा रहेकाले पहिला मुद्दा सम्बोधन भए मात्रै चुनाव हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment