Comments Add Comment

कार्यकर्ताको सर्वाधिक मत पाएका शेखर कोइराला बने ‘नेताको बरियता’ शिकार

चुनाव जित्ने रणनीतिको चार पेज लामो अवधारणापत्रमाथि छलफलको माग


१३ चैत, काठमाडौं । एक वर्षअघि सम्पन्न तेह्रौं महाधिवेशनमा सर्वाधिक मत पाएर केन्द्रीय सदस्य निर्वाचित डा. शेखर कोइरालामाथि शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुवै नेताबाट घात भएको गुनासो कोइराला निकट नेता कार्यकर्ताले गरेका छन् ।

कार्यकर्ताको भावनाको सम्मान गर्नेभन्दा पनि ‘कथित बरियता’को प्राबिधिक बाटोबाट कार्य सम्पादन समिति गठन भएपछि शेखर कोइरालाले आफ्नो असन्तुष्टि लुकाउन सकेनन् ।

 

आइतबारको केन्द्रीय कार्य समिति बैठकको शुरुमै बोल्ने समय मागेका कोइरालाले प्रजातान्त्रिक पार्टीमा ‘भोटको पनि कदर हुन्छ’ भन्ने आफ्नो अपेक्षा सुनाए । एक केन्द्रीय सदस्यका अनुसार कोइरालाले आफू कार्य सम्पादन समितिमा नपर्ने आभाष पहिले नै भएको भन्दै नराखेकोमा सभापति लगायत शीर्ष नेतालाई धन्यवाद समेत दिए ।

कोइराला कांग्रेसमा कोइराला र पौडेल दुवै नेताको समदूरीमा रहेका प्रभावशाली नेता हुन् । स्रोतका अनुसार देउवाले महाधिवेशनताका उनलाई ‘एग्रेसिभ्ली’ पौडेलको पक्षमा नलाग्न आग्रह गरेका थिए । त्यतिमात्र होइन उनलाई उपसभापति बनाउने आश्वासन समेत देउवाले दिएको कोइराला निकट स्रोतले जनाएको छ ।

देउवाले सभापति जितेपछि पनि डा. कोइरालाले पार्टी सभापतिले आफ्नो ढंगले पार्टी चलाउन पाउनुपर्ने भन्दै पौडेल समूहको भेला तथा बैठकहरुमा पनि भाग लिएका थिएनन् । तर देउवाका गतिबिधि विशेष गरी राजदूत सिफारिसदेखि आइजीपी नियुक्तिसम्मका घटनाक्रममा कोइरालाले उनको बिरोध गरे ।

यसबीचमा कार्य सम्पादन समिति बनाउँदा वरिष्ठता, पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा प्राप्त लोकपि्रयता र प्रभावकारिताका आधारमा गठन हुनुपर्ने उनले बताएका थिए । तर देउवाले आफूलाई सजिलो र रामचन्द्र पौडेलको पनि आशय बुझेर वरियताक्रममा २८ नम्बरसम्म रहेका सदस्यलाई कार्य सम्पादन समितिमा राखे ।

देउवा निकट स्रोतले भन्यो, ‘व्यक्तिको प्रभावकारिता छानेर वरियता भन्दा बाहिर जाँदा भागबण्डा गर्नुपर्ने भयो । गुट र उपगुटका आधारमा मान्छे छान्न झन्झट हुने भएकाले सजिलो बाटो खोजिएको हो । जसमा रामचन्द्र पक्षका २८ मा १२ जना परेका छन् । वरियताक्रममा शेखर पछाडि रहेकाले कार्य सम्पादन समितिमा परेनन् ।’

‘शेरबहादुर वरिष्ठ कि खुमबहादुर ?’

त्यसो त कांग्रेसमा वरियताक्रम पनि विवादमा छ । केन्द्रीय कार्यालयले को पहिले केन्द्रीय कार्य समितिमा रहेको थियो भन्ने आधारमा वरियता निर्धारण गरेको छ । जसका कारण शेखर कोइराला, रमेश लेखक, एनपी साउद, गगन थापा लगायतका नेताहरु वरियताक्रमको पछाडि छन् ।

यसमा असहमति जनाउँदै करीव एक दर्जन नेताले केन्द्रीय समिति बैठकमा माइन्युटमा हस्ताक्षर समेत गरेका छैनन् । वरियता विवाद मिलाउन आनन्द ढुंगानाको संयोजकत्वमा एक समिति गठन भए पनि त्यो अलपत्र परेको छ । ढुंगाना स्वयं वरियताको शिकार भएका नेता हुन् ।

कोइराला परिवारका तीन प्रभावशाली सदस्यमध्ये शशांक र सुजाता कार्य सम्पादन समितिमा परे पनि शेखर अटाएनन् ।

उनले केन्द्रीय कार्य समिति बैठकमा व्यंग्य गर्दै भने, ‘तपाई पूराना नेताहरुले सन्यास नलिएसम्म म कार्य सम्पादन समितिमा नपर्ने भएँ । यो कुरा मैले बुझेको छु । सबैले बुझेका छन् ।’

 

वरिष्ठताको कुरा गर्ने हो भने शेरबहादुर देउवा भन्दा पहिले केन्द्रीय सदस्य बनेका खुमबहादुर खड्का किन वरिष्ठ नहुने भन्दै डा. शेखरले बैठकमा प्रश्नसमेत गरेको स्रोतले बतायो ।

कोइरालाले केन्द्रीय कार्य समिति बैठकमा चार पेज लामो अवधारणा पत्र पेश गर्दै त्यसमाथि छलफलको माग गरेका छन् । उनले आफ्नो अवधारणामा अबका चुनाव कसरी लड्ने योजनादेखि तल्लो तहका कार्यकर्ताको माग तथा भावना सम्बोधन गर्ने विषयहरु उल्लेख गरेको स्रोतले जनाएको छ ।

उनले आफूलाई कार्यकर्ताले सबैभन्दा धेरै मत दिएको सजाय कार्य सम्पादन समितिमा नराखेर दिइए पनि आफ्नो अवधारणामाथि छलफल हुनुपर्ने माग गरेका छन् । उनले भनेका छन्- यो मेरो व्यक्तिगत अवधारणा होइन, कांग्रेसको अवधारण हो । यसलाई नजरअन्दाज नगर्नुस् ।

यो पनि पढ्नुहाेस्

स्थानीय चुनावमा एमालेलाई ‘काउण्टर’ गर्ने रणनीति बनाउँदै कांग्रेस

कांग्रेस बैठकमा खुमबहादुरले छिराए हिन्दु राष्ट्रको एजेण्डा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment