Comments Add Comment

म्यादी प्रहरीमा मधेसी युवाको आकर्षण

मोर्चाका नेता भन्छन्- नजाऊ भन्न सकिन्न

१३ चैत,काठमाडौं । संविधान संशोधन नगरी मधेसमा चुनाव हुन नदिने मधेसी मोर्चाको अडान कायमै रहँदा निर्वाचन प्रयोजनका लागि खुलेको म्यादी प्रहरीको भर्ना प्रक्रियामा भने मधेसी युवाको आकर्षण बढेको छ ।

 

मधेसका जिल्लामा निर्वाचनका कार्यक्रममा अवरोध गर्दै आएका मोर्चा कार्यकर्ताले म्यादी प्रहरी भर्तीमा भने मधेसी युवालाई रोक्न सकेका छैनन् ।

मधेसी मोर्चाको प्रभाव रहेका २ नम्बर प्रदेशका जिल्लामा समेत मधेसी युवाहरु म्यादी प्रहरीमा भर्ती हुन जिल्ला प्रहरी कार्यालयमा लाइन लागेका छन् । नेपाल प्रहरीले म्यादी प्रहरी लागिको भर्ना आवहृवान गरे लगत्तै तराई मधेसका जिल्लामा आवेदन दिने युवाको लाम लागेको छ ।

बेरोजगार युवाहरु म्यादी प्रहरीको आवेदन फारम बुझाउने लाइनमा छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय चुनावलाई ‘बहिष्कार’ गर्ने रणनिती बनाइरहेको अवस्थामा मधेसमा म्यादी प्रहरी बन्नका लागि मधेसी सामुदायकै युवाहरुको लाम लागेको छ ।

भर्ना आहृवान गरिएको दोस्रो दिन सम्म करिब २ सय ५० जनाको दरखास्त दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए । रुपन्देहीमात्र होइन पश्चिम तराईका कपिलबस्तु, बाँके, नवलपरासी, कैलाली, कन्चनपुर लगायतका जिल्लामा पनि म्यादी प्रहरीका लागि थारु र मधेसी युवाको आकर्षण देखिएको छ ।

मधेसी मोर्चाले एमालेको मेची महाकाली अभियान बिथोल्ने क्रममा प्रहरीको गोली लागेर ५ जनाका मृत्यु भएको सप्तरीमा समेत चुनावी प्रयोजनका लागि मागिएको म्यादी प्रहरीमा भर्ती हुन स्थानीय युवाको लाइन लागेको छ ।

मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट लगायतका जिल्लामा पनि मधेसी युवाले म्यादी प्रहरीको लागि आवेदन दिएका छन् ।

यसैबीच मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले चुनावी प्रयोजनका लागि भइरहेको म्यादी प्रहरी भर्ती प्रक्रिया बिथोल्ने वा मधेसी युवालाई रोक्ने पक्षमा मोर्चा नरहेको बताएका छन् ।

कर्णले अनलाइनखबरसँग भने- ‘म्यादी प्रहरीको भर्ती रोक्ने कुरा छैन, जानेहरु जान्छन्, नजाऊ भनेर हामीले भन्ने कुरा पनि भएन । चुनाव भनेको राजनीतिक सहमतिका आधारमा टुंगो लाग्ने कुरा हो ।’

प्रहरीले म्यादी प्रहरीका लागि चैत ११ गते देखि चैत १७ गते सम्म आवदेन दिन भनेको छ । नेपाल प्रहरीले निर्वाचनका देशभरीबाट ७५ हजार म्यादी प्रहरीको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment