Comments Add Comment

भारु सटहीमा भारतीय अडान नफेरिएपछि सरकारको धारणा कुर्दै राष्ट्र बैंक


१४ चैत, काठमाडौं । नोटबन्दीमा परेका भारु सटहीको विषयमा सोमबार दोस्रो पटक भारतीय केन्द्रीय बैंकसँग भएको राष्ट्र बैंकको छलफल बीना निश्कर्ष टुंगिएको छ ।

‘उहाँहरुले यसअघि प्रस्ताव गर्नुभएको सटही सीमामा पुनरबिचार गर्न तयार हुनु भएन, हामीले पनि नियम अनुसार पाउनुपर्छ भन्यौं,’ नेपाल राष्ट्र बैंकका विदेशी विनिमय बिभाग प्रमुख भिष्मराज ढुंगानाले भने ।

ढुंगानाका अनुसार अब राष्ट्र बैंकले नेपाल सरकारसँग छलफल गर्नेछ । ‘उहाँहरुले प्रस्ताव गर्नुभएको सीमामै भएपनि गरौं भनेमा सरकार तयार देखिए त्यसै अनुसार गर्नेछौं, नत्र भने यो विषय अगाडी बढ्ने देखिदैन,’ ढुंगानाले स्पष्ट पारे ।

भारतीय पक्षले प्रतिव्यक्ति ४ हजार ५ सय भारु मात्र साट्न सकिने अडान राखेको छ । तर २०७१ फागुन ताका भारतले ५ सय र १ हजारको सटही पुनः खुला गर्दा अपनाएको व्यवस्थालाई नै नेपालले अंगीकार गरेको थियो । त्यस व्यवस्था अनुसार एक नेपालीले २५ हजार भारुसम्म नेपाल भित्र ल्याउन वा नेपाल बाहिर लैजान सकिने व्यवस्था गरिएको थियो । राष्ट्र बैंकले यही नियम अनुसार नोटबन्दीमा परेका यी दुई दरको नोटको सटही सुविधा मिलाउन भारत सरकारलाई आग्रह गर्दै आएको हो ।

भारु सटहीसम्बन्धमा यसअघि पनि भारतीय केन्द्रीय बैंकबाट आएका अधिकारीहरुले यहाँको अवस्था बुझेर गएका थिए । दोस्रो पटक आएको टोलीले प्रस्ताव गरेको सीमा सम्भवतः भारतीय सरकारकै आधिकारीक धारणासहितको भएकोले यसमा नेपाल सरकारले सहमती नजनाएमा नोटबन्दीमा परेका भारु सटहीको सम्भावना अत्यन्त न्युन देखिएको छ ।

कालोधन निर्मूल गर्ने भन्दै नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकारले आकस्मिक रुपमा गत कात्तिक २३ गते राति १२ बजे ५ सय र १ हजार दरका भारु नोटको कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकले भने मंसिर २४ गते यसको सटहीमा रोक लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment