Comments Add Comment

कांग्रेसमा बहसः चुनाव ठूलो कि मधेसी मोर्चा ?

फाइल तस्वीर

१४ चैत, काठमाडौं । कार्यसम्पादन समिति गठनको प्रस्ताव गरेर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल समूहबाट सम्भावित आलोचना टारेका छन् ।

पौडेल समूहको चर्को दबावपछि मात्र देउवाले बैठक बोलाएका थिए र, पार्टी एकलौटी चलाएकोदेखि थुप्रै विषयमा पौडेल समूह देउवासँग असन्तुष्ट थियो ।

तर, आइतबारको बैठकको सुरुमा नै देउवाले कार्यसम्पादन समितिको प्रस्ताव राखेपछि उनको खासै आलोचना भएको छैन । यद्यपि वरियतालाई लिएर केही केन्द्रीय सदस्यहरुले आलोचना गर्न भने छाडेका छैनन् ।

धेरै बहस भने संविधान संशोधनलाई लिएर भएको छ । ‘संशोधनलाई लिएर चुनाव ठूलो कि मधेसी मोर्चा भन्ने बहस भइरहेको छ,’ एक केन्द्रीय सदस्यले भने ।

तराई मधेसका केन्द्रीय सदस्यहरुले संशोधन प्रस्तावलाई तत्काल प्रक्रियामा लैजानु पर्ने माग राखेका छन् । केन्द्रीय सदस्यहरु फर्मुल्ला मन्सुर, महेन्द्र यादव, सुरेन्द्र पाण्डे लगायतले सीमांकनसहितको संशोधनलाई अगाडि बढाउनु पर्ने मत राखेका छन् ।

अर्को पक्षले भने सीमांकनलाई थाती राखेर भएपनि एमालेलाई समेत साथमा लिएर अघि बढ्नु पर्ने बताएको छ । कृष्ण सिटौला, बालकृष्ण खाँड, नविन्द्रराज जोशी, प्रदिप पौडेल लगायतले यस्तो मत राखेका हुन् ।

कांग्रेसकै पहलमा संशोधन प्रस्ताव आएको भन्दै उनीहरुले कांग्रेसले मात्र चाहेर संशोधन हुन नसक्ने बताए । अब समय सीमाका कारण पनि सम्भव नहुन सक्ने भन्दै नेताहरुले चुनाव रोक्न नहुने मत राखेका छन् ।

तर, तराई मधेसबाट प्रतिनिधित्व गर्नेहरुले भने मधेसी मोर्चालाई समेत साथमा नलिई चुनावमा जान नहुने मत राखेका छन् ।

बैठकमा अहिलेसम्म ३४ जनाले आफ्नो धारणा राखेका छन् । र, यो क्रम अझै चल्नेछ ।

यो पनि पढ्नुहोस्

कांग्रेसमा बहसः चुनाव ठूलो कि मधेसी मोर्चा ?

कांग्रेसमा विवादः स्थानीय चुनावको टिकट कसले दिने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment