Comments Add Comment

केपी ओली र भारतीय राजदूतको पहिलो भेटमा प्राग इतिहास र सरदारजीको चर्चा

१४ चैत, काठमाडौं । करीव सवा एक घण्टाको भेटवार्तापछि नवनियुक्त भारतीय राजदूत मञ्जीव सिंह पुरीले उठेर एमाले अध्यक्ष केपी ओलीलाई दुई हात जोड्दै नमस्कार गरे । राजदूत तस्वीर खिच्ने पोजमा खडा भए । ओली पनि के कम, संसदीय दलको कार्यालय सिंहदरवार परिसरमा फोटो पत्रकारहरुको भीड उनले देखेकै थिए ।

ओली राजदुत पुरीलाई साथमै लिएर संसदीय दलको कार्यालयको ढोकामा आए । न्युजमेकर शैलीमा ओलीले राजदूत पुरीसँग हात मिलाउँदै ‘न्यूज फोटो’का लागि पोज दिए । क्यामेराको क्लिक क्लिकसँगै राजदूत पुरीले दुई हात जोडेर नमस्कार गरेपछि ओलीले पनि सोही शैलीमा नमस्कार फर्काए ।

राजदूतको बिदाइपछि अनलाइनखबरकर्मीले न्युजमेकर फोटोको शैलीबारे चर्चा गरेपछि ओलीले भने-त्यसैका लागि त भित्र फोटो खिच्ने भन्दै थिए, मैले बाहिरै आएर तपाईहरुको माग पूरा गरेँ ।

ओली र भारतीय राजदूतको भेटको फोटो यसकारण पनि न्युजमेकर थियो कि आइतबारमात्रै कार्यभार सम्हालेका भारतीय राजदूत पुरीको नेपाली नेताहरुसँग यो पहिलो भेट थियो ।

आइतवार राष्ट्रपति समक्ष ओहोदाका प्रमाणपत्र पेश गरेका पुरीले एमाले अध्यक्ष ओलीसँग भेट्ने समय मागे । ओलीले सोमवार घोडेजात्राको सार्वजनिक विदा भए पनि भेटघाटस्थल सिंहदरवारस्थित संसदीय दलको कार्यालय नै रोजे ।

दिउँसो १२ बजेदेखि करीव सवा घण्टासम्म ओली र राजदूतबीच परिचयात्मक छलफल भएको भेटमा सहभागी एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

स्रोतका अनुसार ओलीले नवनियुक्त भारतीय राजदूतलाई नेपाल भारत सम्बन्धका उतार-चढावबारे विस्तृतमा व्याख्या गरेका थिए । पछिल्लो समय एमालेले लिएको अडान र एमालेको अडानसँग भारतीय स्वार्थ बाझिएको सन्दर्भमा राजदूत अनविज्ञ रहने कुरा थिएन । तर, भेटमा यो विषयले भने सांकेतिक रुपमा मात्रै प्रवेश पाएको एमाले नेताको भनाइ छ ।

ओलीको पूर्वीय दर्शन

भेट विशेष गरी परिचयात्मक रहेको ढकालले बताए । तर, ओलीले नेपाल भारत सम्बन्धका आयामबारे करीव आधा घण्टा राजदूतलाई प्रशिक्षणको शैलीमा बताएका थिए । पूर्वीय दर्शन र प्राग ऐतिहासिक सम्बन्धबारे पनि कुरा भयो होला ? भन्ने अनलाइनखबरको जिज्ञासामा ओलीले हाँस्दै भने- त्यो त अलिकति जाने नै भयो नि ।

त्यसो त ओलीले यसअघि भारतीय विदेश सचिव एस जयशंकर संविधान जारी हुनबाट रोक्न आएका बेला पनि बालकोटमा करीव डेढ घण्टा पूर्वीय दर्शनको ‘प्रशिक्षण’ दिएका थिए ।

ओलीले भारतीय राजदूतलाई नेपाल-भारत सम्बन्धमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक आधार सुनाउदै नयाँ ढंगले नेपाललाई हेर्ने शैली अख्तियार गर्न सुझाव दिएको स्रोतले जनाएको छ । राजदूत सिंहले ओलीको अध्ययनको प्रशंसा गर्दै नेपाल भारत सम्बन्ध बलियो बनाउन आफूले कुनै कमी रहन नदिने बताए ।

भारतमा पञ्जाबी मूलका व्यक्तिलाई सरदारजी भन्ने गरिन्छ । सरदारजीहरु ब्ाोलीमा पक्का र इमान्दार हुन्छन् भन्ने पनि प्रचलन छ । यो विषय समेत ओली र राजदूतको भेटमा प्रवेश भएको थियो । किनकि पुरी पञ्जाबी मूलका ‘सरदारजी’ हुन् ।

अंग्रेजी र हिन्दी दुवै भाषा प्रयोग भएको पहिलो भेटवार्तामा ओलीले नेपाल र भारतको सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्बन्ध जोड्दै पूर्वीय दर्शनले दुई समाजलाई जोडेको बताए । भारतमा जस्तै नेपालमा जातीय, भाषिक र सांस्कृति विवधता रहेको सन्दर्भ उठाए । उनको आशय भारतले मधेस मामिलामा अनावश्यक दख्खल नदेओस भन्ने थियो ।

सरदारजीको चर्चा

राजदूतसँगको भेटवार्तामा प्रमुख सचेतक भानुभक्त ढकाल, प्रदेश नम्बर १ सम्पर्क समन्वय कमिटीका अध्यक्ष इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्य ओलीसँगै थिए । उनलेले राजेश र इन्द्रलाई देखाउँदै भने- राजेश एउटा समुदायबाट आए, इन्द्र अर्को समुदायका हुन् । नेपालको विविधता भनेकै यही हो, जुन भारतमा पनि छ । महामहिमज्यू पञ्जाबी हुनुहन्छ ।

एमालेसँग भारतको सम्बन्ध चिसिएका बेला नवनियुक्त भारतीय राजदूतले एमाले अध्यक्ष ओलीलाई सबैभन्दा पहिले भेट्नु आफैंमा अर्थपूर्ण छ । त्यसमा पनि ओलीले आफ्नै शैलीमा भारतीय राजदूतलाई सम्बन्धका आयाममात्र सुनाएनन्, नेपालको संविधान समावेशिता, सामाजिक न्यायका हिसाबले भारतको भन्दा पनि उत्कृष्ट रहेको पुष्टि गर्ने प्रयास समेत गरेको भेटका सहभागीले बताए ।

सहभागितामूलक व्यवस्था र अधिकारका हिसाबले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको दाबी ओलीले गरेका छन् । उनको आशय यस्तो संविधानलाई भारतले स्वागत नगरी नेपालमाथि समस्या सिर्जना गरेकोमा अशन्तुष्टि जनाउने खालको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment