Comments Add Comment

एसएसबीबाट मारिएका साहका परिवारले ६ वर्षपछि राहत पाए

शहीद घोषणा गर्न सरकारसँग माग

१४ चैत, बिराटनगर । ६ बर्षअघि भारतीय सीमा सुरक्षा बल एसएसवीले गोली हानी हत्या गरेका मोरङ अमाही बरियातीका बासुदेव साहको परिवारलाई सरकारले आज १० लाख राहत उपलब्ध गराएको छ ।

वासुदेवका परिवारलाई गृहमन्त्री विमेलेन्द्र निधिले १० लाखको चेक हस्तान्तरण गरेका हुन् । सरकारले हिजोमात्रै वासुदेवका परिवारलाई राहातस्वरुप १० लाख रुपैया दिने निर्णय गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आयोजित कार्यक्रममा गृहमन्त्री बिमलेन्द्र निधिले वासुदेवकी धर्मपत्नी उर्मिलादेवीलाई सरकारको तर्फवाट चेक हस्तान्तरण गरेका थिए ।

चेक हस्तान्तरण कार्यक्रममा वासुदेवका पत्नी उर्मिलादेवी छोराहरु गौतम, जयकान्त र छोरी लक्ष्मी उपस्थित थिए । गृहमन्त्रीले निधिले वासुदेवको हत्या भएपछि स्थानीय प्रशासनले राहतका लागि सिफारिस गरेपनि विविध कारणले निर्णय हुन नसकेको र आफ्नो पहलमा राहत दिएको बताए ।

उनले वासुदेवको परिवारलाई राज्यवाट दिने सेवा सुविधा प्रदान गर्ने क्रममा छोराहरुलाई तत्काल म्यादी प्रहरीमा जागिर दिन पनि सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।

२०६७ जेठ ११ गते एसएसवीको गोली प्रहारबाट वासुदेवको मृत्यु भएका थियो । एसएसवीको गोलीवाट वासुदेवको मृत्यु भएपछि उनको परिवारलाई तत्कालीन जिल्ला सुरक्षा समितिले शहीद घोषणा गर्दै क्षतिपूर्ति प्रदान गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो । वासुदेवको परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएपनि साहलाई शहीद घोषणा गर्नेबारे सरकारले अहिलेसम्म निर्णय गरेको छैन ।

को हुन वासुदेव ?

भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसवी)बाट ६ वर्षअघि हत्या गरिएका मोरङको अमाहिवरियाती स्थायीवासिन्दा हुन् बासुदेव । २०६७ साल जेठ ११ गते राति नेपाल छिरेका एसएसवीको गोली प्रहारवाट ५५ वर्षीय साह मारिएका थिए ।

खानेतेल तस्करीका विषयमा राति नेपाल छिरेर एसएसवीले धरपकड गर्ने क्रममा स्थानीयबासी र प्रहरी चौकीसँग विवाद चर्कीएपछि एसएसवीले प्रहरी चौकी अमाहीवरियातीका हवल्दार शम्भु चौधरीलाई गोली प्रहार गर्न खोजेको थियो । हवल्दार चौधरीलाई जोगाउन खोज्दा साह मारिएका थिए । उनको हत्या भएपछि स्थानीय प्रशासनले मृतकका छोरा-छोरीलाई शिक्षा-दीक्षाको व्यवस्था, शहीद घोषणालगायतका लागि सरकारसँग पहल गर्ने सहमति पनि भएको थियो ।

कसरी भएको थियो घटना ?

बेलुकी करीव ९ बजे बीआर ३८बी००३६ नम्बरको हिरोहोण्डा स्प्लेण्डर मोटरसाइकलमा दशगजादेखि उत्तर छिरेका दुई जवानले गोली चलाएका हुन् । घटनास्थल नेपाल-भारत सीमा भन्दा करीव सय मिटर नेपाल भित्र पर्छ ।

गोली लागेलगतै उपचारार्थ विराटनगर ल्याउँदै गर्दा साहको मृत्यु भएको हो । सीमावर्ती भारतीय बजार कुवाडीबाट साहले दिउँसो एक टिन तेल ल्याएका थिए । उनलाई पच्छ्याउदै आएका एसएसबीका जवानले ओसारपसारमा रोक लगाइएको परिमाणका वस्तु रोक्न बेवास्ता गरेको भन्दै अमाहीबरियाती प्रहरी चौकीका हवल्दार शम्भु चौधरीलाई हपारेका थिए ।

दिउँसो आउने तिनै जवानहरु मोटरसाइकलमा साँझ साहको घर आएर गोली हानेका थिए ।घटनालगत्तै त्यहाँ पुगेको प्रहरीले मोटरसाइकललाई नियन्त्रणमा लिइ खयरबना प्रहरी चौकीमा ल्याएको थियो । गोली हानेलगत्तै जवानहरु भारततर्फ भागेर गएका थिए । घटनास्थल विराटनगरबाट करीव ३० किलोमिटर पूर्व-दक्षिणमा पर्छ ।

शाहलाई शहिद घोषणा गर्न परिवारको माग

साहलाई सरकाले तत्काल शहीद घोषणा गर्नुपर्ने माग उनका आफन्त र परिवारले राखेका छन ।

नेपाल सरकारवाट पाएको १० लाख रुपैयाँको राहत वुझेपछि साहकी श्रीमती उर्मिलादेवीले अनलाइनखवरसँग कुराकानी गर्दै भनिन्, ‘उहाँजस्तै घटनामा मारिएकालाई सरकारले शहिद घोषणा गरेको छ अव मेरो श्रीमानलाई पनि सरकारले तत्काल शहिद घोषणा गरेको हेर्न चाहन्छु ।’

उर्मिलादेवीले श्रीमानले अमाहीबरियाती प्रहरी चौकीका हवल्दार शम्भु साहलाई एसएसवीले हानेको गाली उनलाइे जोगाउन खोज्दा आफनो श्रीमानको मृत्यु भएकोपनि वताइन् । ‘नेपाल प्रहरीका हवल्दारको हत्या हुनवाट मेरो श्रीमानले जोगाउनु भएको छ सोही क्रममा उहाँले शहादत प्राप्त गर्नुभयो ।’ उनले भनिन् । साहका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment