Comments Add Comment

इमर्जिङ कपमा नेपालको खराब सुरुवात, पाकिस्तानसँग ६ विकेटको हार

१४ चैत, काठमाडौं । एसीसी इमर्जिङ नेशन्स कपको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान यू-२३ टोलीसँग ६ विकेटले पराजित भएको छ ।

बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानी टोलीले ४६अाैं ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानी टोलीका लागि इमाम उलहकले १०४ रन बनाए । उनले १३५ बलमा ९ चाैका प्रहार गरे ।

नियमित कप्तान पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामी बिना नै मैदानमा उत्रिएको नेपालले पाकिस्तानलार्इ सहजै जित्न दिएन । टेष्ट मान्यताप्राप्त पाकिस्तानी टाेलीमा एकदिवशीय अनुभव भइसकेका खेलाडीहरू छन् ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पार्टटाइम बलरको रुपमा २ विकेट झारे भने युवा स्टार सन्दिप लामिछानेले पनि २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले औषत प्रदर्शन गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर १८० रन बनाएको थियो ।

सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी ब्याट्सम्यान शरद भेषावकरले इनिङ संहालेका थिए ।

ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल ३, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा पेविलियन फर्किएपछि आएका शरदले सुनीलसँग मिलेर पारी उकासेका थिए । सुनीलले १२६ बलमा ४३ र शरदले ५८ बलमा ३८ रनको योगदान गरे ।

त्यस्तै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले नेपालको खातामा २४ रन जोडे । उनले ३१ बल खेलेर १ छक्का प्रहार गरे । आरिफ शेखले १८ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका गुलाम मुदासारले ५ र उसामा मिरले २ विकेट लिएका थिए ।

प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भोलि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

तस्वीरः रमन सिवाकोटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment