Comments Add Comment

फिलिपिन्सलाई उसकै भूमिमा हराउन आतुर छौंः नेपाली कप्तान

फिलिपिनो प्रशिक्षकले भने नेपाली टोलीबारे अनभिज्ञ छैनौं

१४ चैत, काठमाडौं । सन् २०१९ मा हुने एसियन कप छनौट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार फिनिपिन्ससँग मनिलामा प्रतिस्पर्धा गर्दैछ ।

मनिलास्थित रिजाल मेमोरियल रंगशालामा हुने नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समयअनुसार साँझ पौने ६ बजेदेखि सुरु हुनेछ ।

फिलिपिन्सबिरुद्ध ३५ बर्षदेखि जितबिहीन नेपाली टोली पछिल्लो एक बर्षयताको लयका कारण उत्साहित छ । नेपाल पछिल्ला १४ महिनादेखि अविजित छ ।

सन् १९८२ मा फिलिपिन्सलाई १-० ले हराएको नेपालले त्यसयता तीन खेलमा उसँग पराजय ब्यहोरेको छ । पछिल्लो पटक सन् २०१४ को अक्टोबरमा कतारमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३-०ले हारेको थियो ।

सोमबार मनिलामा आयोजित पि्र-म्याच कन्फ्रेन्समा नेपाली कप्तान बिराज महर्जनले बिगतलाई बिर्सँदै फिलिपिन्सबिरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरे । उनले भने, ‘पछिल्लो सफलताले हामी उत्साहित छौं र फिलिपिन्सलाई उसैको भूमिमा हराउन आतूर छौं ।’

नेपाली टोलीका प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्स माथिल्लो स्तरको भएपनि आफ्नो टोली सन्तुलित रहेको बताए । ‘आफ्नो क्षमताअनुसार खेले हामीले फिलिपिन्ससँग तीन अंक खोस्न सक्छौं ।’ पत्रकार सम्मेलनमा कोजीले भने ।

उता फिलिपिनो टोलीका कप्तान फिलिप जेम्स योङहस्बेन्डले केहि दिनअघि मलेसियासँग भएको मैत्रीपूर्ण खेलको उदाहरण दिँदै त्यस खेलमा देखिएका कमजोरी सुधार्न सके नेपाललाई हराउन कठिन नहुने बताए ।

फिलिपिन्सका प्रशिक्षक थोमस डेनिस डुलेले नेपाली टोलीले पछिल्लो समय गरेका प्रदर्शनबारे आफू अनभिज्ञ नरहेको प्रतिक्रिया दिए ।

उनले पछिल्लो खेलमा आफ्नो टोलीले पराजित गरेपनि त्यसपछि नेपाली टोलीमा धेरै परिवर्तन आइसकेकाले सतर्क भएर मैदानमा उतार्ने बताए । ‘नेपालका केहि खेलाडीहरु विश्वस्तरका छन्, उनीहरुले स्वाभाविक खेले हामीलाई अप्ठेरो पर्नेछ ।’ प्रशिक्षक डेनिसले भने, प्रशिक्षक डेनिसले भने, ‘तर नेपाल हाम्रा लागि ब्राजिल र अर्जेन्टिनाजस्तो होइनन्, उनीहरु हामीभन्दा कमजोर नै छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment