Comments Add Comment

ओलीको गुनासोः आत्मनिर्भर अर्थतन्त्रको कुरा गर्दा खोक्रो राष्ट्रवादी भनियो

२५ वर्षे प्लान- नेपाल अचम्म लाग्ने गरी समृद्ध देश हुनेछ


१४ चैत, काठमाडौं । गम्भीर विषयमा पनि व्यंग्य र हास्यरस मिसाएर विपक्षीमाथि प्रहार गर्ने पहिचान बनाएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमवार ललितपुरको होटल हिमालयमा गम्भिर शैलीमा प्रस्तुत भए । उनले आगामी २५ वर्षभित्र नेपाललाई विश्वको समृद्ध मुलुकमा रुपमा विकास गर्न सकिने केही योजना र उपायहरु सुझाए ।

एमाले इत्तरका बुद्धीजीवीका साथै समाजका सबै क्षेत्रका अगुवाहरुको ‘विद्धत भेला’मा ओलीले भने-यो भेला एमालेको घोषणापत्रमा उल्लेख गर्ने कुराको सुझाव लिनका लागि होइन, आउने २५ वर्षभित्र अर्थात विसं २०९९ भित्र नेपाललाई अचम्म लाग्ने समृद्ध देश बनाउन सक्छौं भन्ने विश्वासका साथ हामीले आ-आफ्ना क्षेत्रबाट काम गरौं भनेर सुझाव लिनका लागि हो ।

पूर्वप्रधानमन्त्री ओलीले नेपाल एउटा देशबाट वेष्टित भएर बस्न नसक्ने भन्दै भूपरिवेष्टित मुलुकले पाउने अधिकार भारत र चीन दुवैतिरबाट बराबरी पाउनुपर्छ भनेरै आफूले चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेको बताए । उनले भने-मैले यसो गर्दा विदेश नीति असन्तुलित बनायो भन्ने आरोप पनि लगाए । बराबरीको सम्बन्ध राख्नुपर्छ भन्नु असन्तुलन हो भने नेपाली व्याकरण परिवर्तन गर्नुपर्‍यो ।

ओलीले चीनका राष्ट्रपति सी जिनपिङले अघि सारेको वान बेल्ट वान रोडको अवधारणा नेपालको लागि फाइदाजनक रहेकाले यसमा नेपाल आफैंले पहलकदमी अघि बढाउनुपर्ने बताए । उनले दुनियाँसँगको सम्पर्कका लागि ओबीओआर उपयोगी हुने धारणा राखे । यसमा सरकारले दह्रो अडान लिनुपर्ने उनको सुझाव थियो ।

ओलीले नेपालको सुशासन, पुननिर्माण, शिक्षा, स्वास्थ्य जस्ता सबै क्षेत्र राजनीति पीडित भएको भन्दै अब सोच्ने बेला आएको बताए । उनले भने- अस्ति ताका पुननिर्माण प्राधिकरणलाई काम गर्न नदिएर सिइओ हटाइयो । काम गरिरहेका मान्छे हटाएपछि आइडिया पनि उनीसँगै गयो । नयाँले आइडिया खोज्दा खोज्दै यो वर्ष पनि भूकम्प पीडित पालमुनि नै रहने भए । यसरी राजनीतिक पीडित बनाएर समृद्धि सम्भव छैन ।

पूर्वप्रधानमन्त्री ओलीले नेपालको सम्बृद्धिका लागि आत्मनिर्भरताको बाटो बाहेक अरु विकल्प नरहेको बताए । उनले खाद्यान्न,उर्जा,पर्यटन जस्ता क्षेत्रमा आत्मनिर्भर हुनुपर्छ भन्दा खोक्रो राष्ट्रवादको आरोप खेप्नुपरेको गुनासो पनि गरे । उनले भने-तर हामीले आत्म निर्भर अर्थतन्त्रको लागि कृषि,सहकारी,उर्जा जस्ता क्षेत्रमा लगानी नगरि सुख छैन ।

विद्धत भेलामा कांग्रेस,माओवादी,राप्रपा लगायत दलसँग निकट रहेका बुद्धिजिवीलाई समेत निम्त्याइएको थियो । भेलामा महेश मास्के, राजेश्वर आचार्य, शम्भुराम सिम्खडा, सूर्यराज आचार्य लगायतले एमालेले बौद्धिक जमातलाई बिनापस्र्वाग्रह समृद्धिको एजेण्डामा एक ठाउँमा ल्याएर छलफल गरेको भन्दै ओलीको प्रशंसा गरे ।

भेलामा विभिन्न निजी क्षेत्रका साथै बिभिन्न पेशागत क्षेत्रका अगुवाले २५ वर्षभित्र नेपाललाई समृद्ध मुलुकको हैसियतमा पुर्‍याउनका लागि गर्नुपर्ने कामका बारेमा सुझाव दिएका थिए ।

भेलामा पूर्वप्रधानमन्त्री माधव नेपाल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली लगायत एमाले नेताहरुले सहभागीका सुझाव सुनेका थिए ।

कार्यक्रममा योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडाले २५ वर्षभित्र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको योजना प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment