Comments Add Comment

कांग्रेसमा विवादः स्थानीय चुनावको टिकट कसले दिने ?

शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला

१४ चैत, काठमाडौं । स्थानीय चुनावको तयारीमा होमिएको नेपाली कांग्रेसमा टिकट कसले दिने भन्ने बहस सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा चलिरहेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले आ-आफ्नो मत राखिरहेका छन् । तर, बहसमा पार्टी संस्थापन पक्ष (शेरबहादुर देउवा), रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहको धारणा प्रतिबिम्बित हुने गरेको छ ।
यसका साथै कांग्रेसको विधानमा पनि समस्या देखिएको एक केन्द्रीय सदस्यले बताए ।७४४ स्थानीय तह बनिसकेको छ । तर, त्यसअनुसार पार्टीको संरचना बनिसकेको छैन ।

कांग्रेसको विधानले क्षेत्र र जिल्ला दुबैलाई नगरको टिकट दिने अधिकार दिएको छ । जिल्लामा केन्द्रमा जस्तै पदाधिकारीहरु चयन नहुनुले पनि अर्को समस्या देखिएको छ ।

अब पछि विधान संशोधन गर्ने गरी नयाँ निर्णय गर्नु पर्ने अवस्था आएको छ ।

बैठकमा बोल्ने सभापति शेरबहादुर देउवा पक्षले अब केन्द्रले नै स्थानीय तहको टिकट दिनु पर्ने मत राखेको छ । खासगरी उनीहरुको चासो गाउँपालिका भन्दा पनि नगर, उपमहानगर र महानगरमा देखिएको थियो ।

रामचन्द्र पौडेल समूहले भने मौजुदा समितिहरुलाई नै यो अधिकार दिनु पर्ने मत राखेका छन् । एक नेताका अनुसार उम्मेदवारहरुको नाम सिफारिस कसले गर्छ भन्दा पनि निर्णय कसले गर्ने भन्नेमा फरक मत देखिएको छ ।

सिटौलाको छुट्टै प्रस्ताव

बैठकमा नेता कृष्ण सिटौलाले भने क्षेत्र र जिल्लामा नयाँ संयन्त्र गठनको प्रस्ताव राखेका छन् ।

उनले क्षेत्रीय सभापतिको संयोजकत्वमा निकटतम प्रतिद्वन्द्वी, निवर्तमान सभापति, उक्त क्षेत्रका सांसद र केन्द्रीय सदस्यको सिफारिस कमिटी बनाउने प्रस्ताव राखे । साथै जिल्लामा सभापतिको नेतृत्वमा प्रतिद्वन्द्वी, निवर्तमान सभापति, जिल्लाका सांसद र केन्द्रीय सदस्य रहेको अर्को संयन्त्र बन्नेछ ।

यसले नै झण्डै ९० प्रतिशत उम्मेदवार छान्ने र बाँकी केन्द्रले निर्णय गर्ने उनको प्रस्ताव छ । सांसदका लागि तीन जनाको नाम सिफारिस गरेर पठाऊ भन्दा त ८/१० जनाको नाम आउने गरेको स्मरण गर्दै सिटौलाले भने, ‘जिल्लाले मात्र छान्ने भन्यो भने पनि हुँदैन, केन्द्रले मात्र गर्ने भन्यो भने सम्भव छैन ।’

यो पनि पढ्नुहोस् 

कांग्रेसमा बहसः चुनाव ठूलो कि मधेसी मोर्चा ?

कांग्रेस बैठकमा सर्वोच्चको आलोचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment