Comments Add Comment

०७४ सालका सार्वजनिक विदाः पृथ्वी जयन्तीमा छैन, धार्मिक अवसरमा विदैविदा (सूचीसहित)

१४ चैत, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आर्थिक वर्ष ०७४/०७५ का लागि वर्षभरिका सार्वजनिक विदाहरुको टुगो लगाएको छ ।
तर, नानक जगन्ती, महावीर जयन्ती, क्रिसमस डे लगायतका धार्मिक दिनहरुमा विगतको विदालाई निरन्तरता दिइएको छ । यस बर्ष निकै चर्चामा रहेको पुस २७ गते पृथ्वी जयन्ती विदा दिने प्रस्ताव सामाजिक समितिले अस्वीकृत गरेको छ ।मन्त्रिपरिषद अन्तरगतको सामाजिक समितिले पुरानै विदालाई निरन्तरता दिने निर्णय गरेको छ । विगतमा जस्तै ०७४ सालमा पनि पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिइएको छैन ।

वर्तमान मन्त्रिपरिषदका केही मन्त्रीहरुले पनि पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने लविङ गरेका थिए । तर, गृह मन्त्रालयले भने उक्त दिन विदा नदिने प्रस्ताव गरेको हो ।

मन्त्रिपरिषदको सामाजिक समितिले पनि उक्त दिन सार्वजनिक विदा दिनु नपर्ने बताएको मुख्य सचिव सोमलाल सुवेदीले बताए । सरकारले क्रिसमसका दिन इसाइ धर्मावलम्बीहरूका लागि मात्र विदा दिने निर्णय गरेको छ ।

अघिल्ला बर्षको क्यालेण्डरमा त्यो दिन सार्वजनिक विदा दिइएको थिएन । तर, गृहमन्त्रीले अन्तिम समयमा निर्णय गरेर सार्वजनिक विदा दिएका थिए ।

सरकारले लोकतन्त्र दिवस बैशाख ११ गतेका दिन पनि विदा नदिने निर्णय गरेको छ । जेठ १५ गते गणतन्त्र दिवसमा भने सार्वजनिक विदा दिइएको छ । राजनीतिक परिवर्तनलाई स्मरण गर्न फागुन ७ गते प्रजातन्त्र दिवसका दिन सार्वजनिक विदा प्रस्ताव छ ।

असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय मन्त्रिपरिषद अन्तर्गतको सामाजिक समितिले गरेको छ ।

दिवस शीर्षकमा सरकारले विश्व मजदुर दिवसको अवसरमा बैशाख १८ गते सार्वजनिक विदा दिने भएको छ । यस्तै माघ १६ गते शहिद दिवस र फागुन २४ गते अन्र्तराष्ट्रिय महिला दिवसका अवसरमा सार्वजनिक विदा प्रस्ताव गरिएको छ ।

सरकारले बुद्ध जयन्तीको अवसरमा बैशाख २७ गते सार्वजनिक विदा दिएको छ । साउन ३० गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ भने चैत्र ११ गते रामनवमीमा पनि विदा दिने उल्लेख छ ।

यो बर्ष ५१ हप्ताका ५१ वटा शनिबार छन् । यसबाहेक चाडपर्व, विभिन्न दिवस गरी ३४ दिन सार्वजनिक विदा दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment