Comments Add Comment

भारतसँग पाँच वर्षे इन्धन आपूर्ति सम्झौता, तेल आयातको लागत घट्यो


१४ चैत, काठमाडौं । नेपाल र भारतबीच थप पाँच वर्षको लागि इन्धन आपूर्ति सम्झौता भएको छ । दिल्लीमा भएको यो सम्झौताअनुसार भारतले आफ्नो नाफाको मार्जिन घटाएकाले अब  तेल आपूर्ति लागत अहिलेकोभन्दा सस्तो पर्नेछ ।

यसका लागि आपूर्तिमन्त्री दीपक बोहोरा, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित आयल निगमका उच्च अधिकारीहरुको टोली हिजै भारत गएका थिए ।

अब नेपालले तेस्रो मुलुकबाट तेल ल्याएको खण्डमा भारतले ‘अब्जेक्सन’ नगर्ने र प्रशोधनसमेत गरिदिने गरी यो सम्झौता भएको छ । आपूर्तिमन्त्री बोहोरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा आयल काठमाडौंमा भारतीय आयल कर्पोरेशन र नेपाल आयल निगम (आईओसी) बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार अब नेपालले कच्चा तेल आपूर्ति गरेमा भारत भाडामा आफ्नो तेल रिफाइनरी प्रयोग गर्न दिनेछ । सम्झौतामा नेपालले आफैंले पेट्रोलियम रिफाइनरी गर्न चाहेमा भारतले आफ्नो पूर्वाधार प्रयोग गर्न दिने विषय उल्लेख छ ।

त्यसैगरी आयल निगमले नेपालभित्रै त्यस्तो रिफाइनरी सञ्चालन गरेमा तेस्रो मुलकुबाट कच्चा तेल ल्याउन आईओसीले ‘अब्जेक्सन’ नगर्ने गरी सम्झौता भएको छ । नेपालमा रिफाइनरी खोल्न आइओसीसँगको सम्झौता बाधक हुने छैन । पाँच वर्षसम्म नेपालले मागे जति तेल दिने गरी आइओसीसँग सम्झौता भएको हो ।

त्यसैगरी सम्झौतामा नेपाललाई बेच्ने पेट्रोलियम पदार्थमा नाफाको मात्रा घटाउने विषय पनि उल्लेख छ । यसले नेपालको वाषिर्क एक अर्ब जोगिने अनुमान छ ।

आइओसीले नेपाललार्इ बेच्ने तेलमा लगाउँदै आएको मार्केटिङ मार्जिन अर्थात नाफामा अप्रिल १ देखि ०.५ प्रतिशत घटाउन गरी सम्झौता भएको छ । हाल यो नाफा २.५ प्रतिशत छ र सम्झौता लागू भएपछि २ प्रतिशतमा झर्नेछ ।

अब भारतबाट आउने तेल थप सस्तो हुनेछ । यसको प्रत्यक्ष फाइदा नेपाली उपभोक्तालाई हुने विश्वास गरिएको छ । तर, अायल निगमले उपभोक्तालार्इ राहत दिनेबारे निर्णाय गरिसकेको छैन ।

अब आइओसीले इन्धनको रकम भुक्तानीमा अब केही दिन ढिला भए पनि ब्याज लिने छैन । अहिले निगमले महिनामा ८ र २३ तारेखमा आइओसीलाई तेल र ग्यासको रकम भुक्तानी गर्छ ।

एक दिनमात्रै ढिलाइ भएपनि भारतले १० प्रतिशत ब्याज लगाउने गरेको छ । सम्झौतासँगै अप्रिलबाट त्यस्तो समयसीमाको ३ दिनसम्म आयल निगमले रकम भुक्तानी गर्दा आइओसीले ब्याज लिने छैन ।

यसैगरी नेपाली ट्याकंर लोड हुने भारतका सबै सबै डिपोमा स्वतन्त्र सर्भेयर राख्ने विष्य समेत सम्झौतामा समेटिएको छ । आईओसीले ट्यांकरमा पूरा परिमाणका तेल नभरिदिने गरेको गुनासो सम्बोधन गर्न स्वतन्त्र निगरानीकर्ता राख्न लागिएको हो ।

त्यसैगरी आइओसीले यो सम्झौतामार्फत नेपाललाई ग्यास आपूर्तिका लागि वीरगञ्ज नजिकै सुविधा सम्पन्न र ठूलो क्षमताको डिपो उपलब्ध गराउने ग्यारेन्टी गरेको छ । आइओसीले अबको डेढ वर्षपछि नेपाल आउने ग्यासको भण्डारण र लोडिङ मुजफ्फरपुर क्षेत्रमा गर्ने भएको हो ।

अहिले भारतबाट ग्यास ओसार्ने बुलेटहरु लोडिङका लागि १ हजार ५ सय किलोमिटर टाढासम्म जानुपर्ने अवस्था छ । मुजफ्फरपुरको डिपो सञ्चालनमा आएपछि नेपालले नेपालको सीमाबाट १२० किलोमिटरकै दूरीमा ग्यासको लोडिङ पाउनेछ । सबैभन्दा सजिलो नाका वीरगञ्ज नजिकै नेपालले ग्यासको लोडिङ गर्न पाउनेछ ।

अहिले मासिक २० करोड रुपैयाँ ग्यास ढुवानीमा खर्च भइरहेको छ । मुजफ्फरपुरबाट ग्यासको लोडिङ सुरु भएपछि यो लागत घटेर मासिक २ करोडमा आइपुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment