Comments Add Comment

काठमाडौं-निजगढ फास्ट ट्र्याकमा भारतीय चासो कायमै

भारतीय राजदूत भन्छन्- नेपालमा भारतको लगानी घटेको छैन

१४ चैत, काठमाडौं । काठमाडौं-निजगढ फास्ट ट्र्याकमा नेपाल सरकार आफैंले बनाउने निर्णय भइसक्यो । तर, छिमेकी मुलुक भारतले चासो देखाउन छाडेको छैन ।

नवनियुक्त भारतीय राजदूत मञ्जिव सिंह पुरीले आफ्नो पहिलो सार्वजनिक कार्यक्रममा नै फास्ट ट्र्याकमा भारतको चासो कायमै रहेको बताएका छन् । उनले भने, ‘म जोड दिन चाहन्छु कि रणनीतिकरुपमा महत्वपूर्ण ७७ किलोमिटर लामो काठमाडौं-निजगढ फास्ट ट्र्याक र दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा सहयोग गर्न भारत प्रतिवद्ध छ ।’

नेपालले चाहे सरकारी सहयोगको लाइन अफ क्रेडिट बिस्तार गर्न पनि भारत इच्छुक रहेको उनले बताए ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा फास्ट ट्र्याक निर्माणको जिम्मा भारतलाई दिने तयारी भएको थियो । चर्को विरोधपछि यो निर्णय रोकियो र, सरकारले नेपाल आफैंले निर्णय गर्ने निर्णय गरेको छ ।

सरकारी कार्यदलले केही समय अघि मात्र सरकार आफैंले बनाउनु पर्ने सुझाव समेत दिएको छ ।

तर, भारतले यसमा चासो दिन छाडेको छैन । हालै मात्र लगानी सम्मेलनका लागि काठमाडौं आएका भारतीय वित्तमन्त्री अरुण जेट्लीले पनि काठमाडौं-निजगढ फास्ट ट्र्याक र निगजढ विमानस्थलमा भारतीय चासो देखाएका थिए ।

नेपालमा भारतको लगानी घटेको छैन

भारतीय राजदूत पुरी नेपालमा भारतको लगानी कम नभएको दावी गरे । लगानी सम्मेलनमा भारतको प्रतिबद्धता कम आएको भन्ने चौतर्फी चर्चा चलेका बेलामा पुरीले नेपालमा भारतको प्रत्यक्ष वैदेशिक लगानीमा कमी नआएको दावी गरेका हुन् ।

‘लगानी सम्मेलन एउटा कार्यक्रममा हो, त्यसमा आधारित रहेर भारतको लगानी नेपालमा कमी भयो भनेर भन्नु गलत हुन्छ, उनले भने, ‘अरुण तेस्रोमा हामीले त्यती ठुलो लगानी गर्दैछौं, सम्मेलनमा मन्त्री नै आउनु भयो यसलाई पनि हेर्न नभुल्नुस् । ‘

उनले अब नेपालको पूर्वाधार क्षेत्रमा भारतको लगानी केन्दि्रत हुने जानकारी दिएका छन् । नेपाल छिमेकी मुलुक मात्रै नभइ सस्कृति समेत एकै भएकाले नेपालमा भारतको लगानी घट्नै नसक्ने सिंहको तर्क छ ।

हालै काठमाडौंमा भएको लगानी सम्मेलनमा भारतबाट सबैभन्दा कम लगानी प्रतिबद्धता आएको थियो । तर, चीनबाट सबैभन्दा बढि लगानी प्रतिबद्धता आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment