Comments Add Comment

विश्वप्रकाशले अघि सारे ‘देशका लागि’ कांग्रेसका १० एजेण्डा



१४ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारदेखि चलिरहेको छ । बैठकमा सोमबार केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले भने लिखित रुपमा नै आफ्ना धारणा राखे । उनले देशका लागि कांग्रेसका १० एजेण्डा पेश गरेका हुन् ।

यस्तो छ शर्माको प्रस्तावः

देशले अनेकौं राजनीतिक जटिलताको निकास नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त गर्दै आएको तथ्य जगजाहेर छ । आज इतिहासमा फेरि अर्काे पटक देशले नेपाली कांग्रेसको प्रखर भूमिका प्रतिक्षा गरिरहेको छ ।

नयाँ संविधानपछिको नेपाल नवीन ढंगले समुन्नतितर्फ अघि बढ्ने आशा र विश्वाश आज एक ढंगले खण्डित अवस्थामा पुगेको छ । अतः नेपाली कांग्रेसले आफूलाई निणर्ायक नायकत्वको भूमिकामा प्रस्तुत गर्नेतर्फ लाग्नु देश र भावी पुस्ताप्रतिको कर्तव्य हुन आएको छ । अहिले सबैको निष्कर्ष छ- निराशा, अन्यौल, आवेग र असहिष्णुता समाजमा बढ्दै गएको छ । राजनीति सिर्जनात्मक थोरै र प्रतिक्रियात्मक धेरै हुँदै गएपछि यस्तै परिणाम जन्मन्छ । सबैभन्दा जेठो र पाको राजनीतिक दल नेपाली कांग्रेसले यो समयमा दोषको एक हिस्सा र पहिलो हिस्सा आफैले लिएर ‘राजनीतिमा परिवर्तन’को एजेण्डालाई अघि बढाउन जरुरी छ ।

७ माघ ०७४ भित्र तीनवटा तहको निर्वाचन हामीले सम्पन्न गर्नुछ । त्यसका लागि मधेस मुद्दालाई थप सम्बोधन गरेर वातावरण सहज गराउनुपर्ने दायित्व हामीमा छ । एकातर्फ मधेसी मोर्चालाई मनाउनै पर्ने, अर्कातर्फ नेकपा एमालेलाई संविधान संशोधन लगायतका विषयमा विश्वासमा लिनैपर्ने दोहोरो चुनौती छ । संशोधन नभई चुनाव हुन नदिने मोर्चाको चर्काे स्वर र संशोधन प्रकृया अघि बढ्नै नदिने एमालेको अर्काे चर्काे स्वर बीचमा देशले कांग्रेसको स्वर सानो सुनिरहेको छ । दुई आवेग बीच समन्वय गर्न बसेको भद्र आवाज सानो नै सुनिन्छ । राजविराज घटनापछि त्यो सानो स्वरको सान्दर्भिकता झनै बढेको छ । त्यो सानो स्वर जनजनको मनमा पुग्न थालेको छ । निर्वाचनमा जाँदै गर्दा सहिष्णुतापूर्वक समन्वय गरिरहेको त्यो स्वरलाई मात्रात्मक रुपमा उचो बनाउँदै शालिन आक्रामकतासाथ अघि बढाउनुपर्छ । यसका लागि निम्न काम एकसाथ गर्न जरुरी छ-

१) पार्टीको संगठनात्मक कमजोरीहरुको इमानदार समीक्षा केन्द्रीय समिति, जिल्ला, क्षेत्र, गाउँ, नगर तथा वडा समितिसम्म गर्ने । त्यस्ता कमजोरी निदान गर्न कार्ययोजना निर्माण गर्दै पार्टीले हासिल गरेका उपलब्धीहरुको सामाजिक संजालदेखि सडक, चोक र मञ्चहरुसम्म चर्चा, रक्षा र पक्षपोषण गर्ने ।
२) कतिपय राजनीतिक, प्रशासनिक र अरु सन्र्दभमा हामी ‘डिफेन्सिभ’ किन हुन पुग्यौं ? यसमाथि गहिरो चिन्तन गर्दै सतर्कता र सहमतिपूर्वक पार्टीको उचित पोजिशन बनाउन जरुरी छ । जस्तै- -प्रहरी महानिरीक्षक प्रकरण, राजदूत नियुक्ति प्रकरण)
३) पार्टीलाई ‘अफेन्सिभ’ ढंगले अघि बढाउन अब पार्टी विस्तार, निर्माण र निर्वाचन परिचालनका लागि एक राष्ट्रव्यापी अभियानमा सिंगो कांग्रेस संगठित ढंगले अघि बढ्न जरुरी छ । अभियानको नामकरण राष्ट्रिय एकता र सामाजिक सद्भावलाइ अभिव्यक्त गर्ने प्रकृतिको हुन वाञ्छनिय हुनेछ ।

अभियानको सम्भाव्य नाम
· राष्ट्रिय पुनर्जागरण अभियान
· हिमाल-पहाड-तराई-मधेस अभियान
· नवीन राष्ट्रिय जागरण अभियान
· राष्ट्रिय एकता र मेलमिलापका लागि कांग्रेस अभियान
· गाउँ जाऔं, सद्भाव जगाऔं अभियान

अभियानको सम्भाव्य मूल नारा
शान्ति र संविधान जसको नेतृत्वमा
समुन्नतिको अभियान उसैको नेतृत्वमा
अथवा
जसको नेतृत्वमा शान्ति र संविधान
उसैको नेतृत्वमा समुन्नतिको अभियान
या
जसको नेतृत्वमा शान्ति र संविधान
उसैको नेतृत्वमा स्थानीय स्वशासनका साथ समुन्नतिको अभियान

४) अभियानको क्रममा पन्ध्र दिनको तयारी पश्चात सात प्रदेशका सात सहरमा पार्टीका सबै मुख्य नेताहरुको सहभागितामा जागरण जनसभा ।
-७४४ गाउँ- नगरपालिकामा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा “एक बैठक, एक भेला तथा एक जागरण जनसभा” । जागरण अभियान अन्र्तगत सबै भ्रातृ संस्थाहरुको आन्तरिक पुर्नगठन र सार्वजनिक प्रस्तुतिकरण । यो विषयमा आवश्यक आन्तरिक तयारी तथा रणनीतिहरुबारे बेग्लै प्रस्तुति राखेको छु )

अभियान मार्फत चार सन्देश
१) अपनत्वको दायरा विस्तार गर्दै संविधान कार्यान्वयन गर्न सहकार्य गरौं ।
-सरकारमा सँगै रहेर सहकार्य गरेर शान्ति स्थापना तथा संविधान लेखन गरेका छांै । सरकारमा सँगै नरहेर पनि सहकार्य गर्न सकिन्छ, जस्तो ः- ९ माघ ०७२ मा सहमतिपूर्वक गरिएको संविधान संशोधन )

२) लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न लोकतान्त्रिक संस्कृति विकसित गरौं
– सडक लोकतन्त्रको अभिन्न अंग हो तर संसदीय पद्धतिमा विश्वाश गर्नेले विषयगत जटिलताहरुको समाधान संसदीय प्रकृयाबाटै खोज्नु र त्यसलाई आत्मसात गर्नु लोकतान्त्रिक संस्कृति हो ।)

३) सामाजिक सद्भावको नेपाली संस्कृति रक्षा र संवर्द्धन गर्दै नेपाली राष्ट्रियतालाई बलियो बनाऔं ।
– नेपालको भविष्य कुनै पनि खालको अतिवादमा होइन, सहिष्णुता र सहकार्यमा छ । )

४) हिसा र अस्थिरता बीच भएका भौतिक प्रगतिलाई गति दिँदै समुन्नतिका लागि संगसँगै अघि बढौं ।
-थुप्रै भौतिक प्रगति कांग्रेसको अगुवाईमा जो भएका छन्, तिनको सविस्तार ब्याख्या ।)

देशका सामु दस एजेण्डा
१) जिम्मेवार राष्ट्रवाद
२) लोकतन्त्रका प्रति अनवरत निष्ठा
३) संसदीय शासन प्रणाली
४) समावेशीताको प्रारम्भिक जगदेखि कदमजमसम्म
५) हिंसा र अस्थिरताबीच कैयौं भौतिक प्रगति
६) शान्ति स्थापनामा अगुवाई
७) आफ्नो प्रधानायकत्वमा संविधान निर्माण
८) उग्रतामुक्त राजनीतिको अठोट
९) राष्ट्रिय पुर्ननिर्माण अभियानको पन्ध्रवर्षे सपना र संकल्प
१०) लक्ष समुन्नत नेपालको, मार्ग सहिष्णुताको

थप पाँच महत्वपूर्ण सन्दर्भ

अभियान लिएर अघि बढ्दै गर्दा लोकतन्त्रमा विश्वास गर्ने बौद्धिक क्षेत्रलाई आफूसंग एकाकार गर्दै अघि बढौं । तब निम्न पाँच सन्दर्भमा हामी थप सु-स्पष्ट ढंगले अघि वढ्न सक्नेछौं ।

१) संविधानमा उल्लिखित ‘समाजवाद उन्मुख’ को मूर्त व्याख्या ।

२) सुशासनको प्रश्न
-हामी जान्दछौं- कुनै पनि राजनीतिक प्रणालीको सफलता या असफलता शासनको चरित्र र शैलीमा निर्भर गर्छ ।)

३) चीन र भारतसँगको सम्बन्ध
-विश्वशक्तिका रुपमा विकसित भइरहेका दुई छिमेकी राष्ट्रसँग कहिले मित्रता र कहिले अमैत्री व्यवहारको अनुभूति हामीले गर्दै आइरहेका छौं । राष्ट्रिय स्वाभिमान, अखण्डता र समुन्नतिको नेपाली स्वार्थलाई केन्द्रमा राखेर भूराजनीतिलाई ध्यानमा राख्दै वृहत्तर राष्ट्रिय दृष्टिकोण निर्माण र परिपालनाका लागि कांग्रेसले अगुवाई गर्न जरुरी छ । संगठित राष्ट्रिय मनोबलको विकासबाट मात्रै हालै कञ्चनपुरमा भएका जस्ता स्व्ााधीनतामाथिको हस्तक्षेपको सम्मानजनक हल खोज्न सकिन्छ । जसरी वीपी कोइरालाको तत्कालीन सरकारले उत्तरी र दक्षिणी दुवै छिमेकीसँग सीमा सन्दर्भका प्रश्नहरुमा राष्ट्रको शीर उच्च बनाएको थियो । )

४) पार्टी र सरकार बीचको सम्बन्ध
-वीपीको एक आलेख बाहेक हामीलाई दिशानिर्दैश गर्न सक्ने दृष्टि बोकेको अर्काे सामग्री उपलब्ध छैन । यो सम्बन्धलाई सहज तुल्याउन नसक्दा विगतमा भोग्नु परेका जटिलतालाई स्मरण गर्दै यस सम्बन्धी आवश्यक बहस र दृष्टिकोणको खोजी जरुरी छ ।)

५) हिस्ट्री-सेभेन सँगै भिजन-एट्टसिेभेन
-वीपी कोइरालाले प्रधानमन्त्री छँदा घोषणा गर्नुभएको पन्ध्र वर्षे सपनाको आधुनिक संस्करण आजका मितिमा हामीले अघि सार्न जरुरी छ । यो ढंगको जिम्मेवार र दिर्घकालीन संकल्पको नेतृत्व कांग्रेसले गर्न सक्छ र सक्नुपर्छ । हामी अघि आएका छौं राष्ट्रिय पुननिर्माण अभियानको पन्ध्र वर्षे कार्ययोजना लिएर भन्ने उद्घोष सम्मिलित घोषणापत्र साथ हामी हिमाल, पहाड, तराई, मधेस पुग्नुपर्छ । ०७ सालमा रोपिएको आधुनिकताको जग सदैव मुलुकको स्मरणमा छ । तर, हिस्ट्री सेभेनसँगै अब भिजन-एट्टसिेभेन मुलुकले कांग्रेससँगनै प्रतिक्षा गरिरहेको छ ।)

प्रस्तुत विषयहरुको विस्तारित व्याख्या गर्दै हामी अघि बढ्न सक्छौ ।

मेलमिलापको नीति लिएर स्वदेश र्फकदा वीपीले अपिल गर्नुभएको थियोे- हरेक राष्ट्रको जीवनमा यस्ता क्षण आउँछन् जुनबेला बिगतका सानातिना विवाद बिर्सिएर सबै राष्ट्रिय एकताको सूत्रमा बाँधिनुपर्छ । नयाँ संविधानपछिको नेपालले वीपी कोइरालाको त्यही मन्त्रलाई स्मरण गर्न जरुरी छ । कांग्रेसको सुस्पष्ट दृष्टि, संगठित अभियान, समन्वयको भूमिकाबाटै हामी सिंगो नेपाललाई गास्न सक्नेछौं र कांग्रेस विजयको सुनिश्चिततामा पनि पुग्न सक्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment