Comments Add Comment

‘पोखरा थियटर’ को शिलान्यास

१४ चैत, पोखरा । पोखरामा क्रियाशील पञ्चामृत नाट्य समूहले ‘पोखरा थिएटर’ नामक नाटकघर निर्माण गर्ने भएको छ ।

सोमबार ५६ औं विश्व रंगमञ्च दिवसको अवसर पारेर सांसदहरु रवीन्द्र अधिकारी, शारदा पौडेल र तेजकुमारी पौडेलले नाटकघरको शिलान्यास गरे । पोखरामा नाटकघर नहुँदा पोखरा सभागृह तथा उद्योग वाणिज्य संघको सभाहलमा नाटक देखाउने बाध्यता रहिरहँदा रङ्गकर्मीहरु थिएटर बनाउन जुटेका हुन् ।

यसअघि युथ क्रिएसन थिएटरले पोखरामै तीन वर्षअघि बनाउन सुरु गरेको नाटकघर निर्माणाधीन अवस्थामा छ ।

पञ्चामृतले  गैह्रापाटनमा आगामी चार महिनाभित्रमा नाटकघर निर्माण गरिसक्ने लक्ष्य लिइएको समूहका अध्यक्ष परिवर्तनले बताए । १० वर्षका लागि भाडामा लिइएको सवा एक रोपनी जग्गामा करिब २ सय दर्शक क्षमताको थिएटर बनाइने उनले जानकारी दिए । मासिक १५ हजार रुपैयाँ तिर्ने गरी सो जग्गा भाडामा लिइएको हो । नाटकघर निर्माण गर्न ५० लाख रुपैयाँ लाग्ने जनाइएको छ ।

शिलान्यास कार्यक्रममा सांसद तथा संसदीय विकास समितिका सभापति अधिकारीले नाटकको सान्दर्भिकता कहिल्यै नसकिने भन्दै बरु सान्दर्भिक नाटक निर्माणमा भने सचेत रहन नाट्यकर्मीलाई सुझाव दिए । उनले थिएटर निर्माणमा सक्दो सहयोग गर्ने बताउँदै दशैंअघि नै नाटक प्रदर्शन गर्ने गरी तयारी गर्न आग्रह समेत गरे ।

कार्यक्रममा अग्रज रङ्गकर्मी तथा गजलकार प्रकट पंगेनी शिव, वरिष्ठ रंगकर्मी हेमन्त पराजुली ‘हितैषी’, नेपाल नाट्य समूहका अध्यक्ष किशोर अनुरागी लगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment