Comments Add Comment

‘टालाटुली’ लिएर आए टंक

१४ चैत, काठमाडौं । वृद्धवृद्धाको दयनीय जीवन भोगाइबारे टंक चौलागाईंको उपन्यास ‘टालाटुली’ सार्वजनिक भएको छ ।

विश्व रङ्गमञ्च दिवसको संयोग परेको दिन सोमबार राजधानीको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा रङ्गकर्मी समेत रहेका चौलागाईंको कृति अग्रज रङ्गकर्मीकै हातबाट लोकार्पण गरियो । रङ्गकर्मी हरिहर शर्मा, संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति सरुभक्त, सुनील पोखरेल, अनुप बराल र साहित्यकार कुमारी लामाले पुस्तक लोकार्पण गरे ।

लोकार्पणपछिको अन्तरसंवादमा उपन्यासको विषयप्रति टिप्पणी गर्दै शर्माले दुःखपूर्वक हुर्काएका सन्तानबाट उपेक्षा खेपेर वृद्धाश्रममा बस्न बाध्य वृद्धवृद्धाको जीवनबारे लेखकले मार्मिक रुपमा लेखेको बताए ।

उपन्यासले पछिल्लो समयको नेपाली समाजको सजीव चित्रण गरेको भन्दै शर्माले थपे, ‘युवाहरु गाउँ छाडेर शहरमा रमाउने र विदेश जाने प्रवृत्तिका कारण धेरै आमा-बाहरु एक्लिएका छन् । साहित्यमा यो विषय राम्ररी नआइरहेको बेला टालाटुलीले सार्थक काम गरेको छ ।’

साहित्यकार लामाले ‘टालाटुली’ ले अहिले प्रचलित विषयभन्दा फरक कुरा उठाएको भन्दै घर-परिवारबाट उपेक्षित वृद्धवृद्धाको व्यथाले नयाँ पुस्तालाई समेत झकझक्याउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा उपन्यासभित्र चित्रित वृद्धवृद्धाको भोगाइको सानो अंशलाई नाट्य रुपान्तर गरी मञ्चन समेत गरिएको थियो ।

उपन्यास सांग्रिला बुक्सले प्रकाशन गरेको हो । यसअघि ‘जिरो कटेज’ र ‘काठमान्डु गीत’ उपन्यास प्रकाशन गरिसकेका चौलागाईंको यो तेस्रो उपन्यास हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment