Comments Add Comment

काव्य-सुधामा चार गजलकार

सोल । किनकिन सधैं रुने पारिदिन्छ छिमेकीले
सिमानाको ढुङ्गो सधैं सारिदिन्छ छिमेकीले ।

कता चुक्यौं वीरतामा कहाँ झुक्यो बहादुरी,
आँखै अघि आफ्नै छोरा मारिदिन्छ छिमेकीले ।

दक्षिण कोरियामा आयोजित काव्य-सुधा कार्यक्रममा आइतबार गजलकार डीआर न्यौपाने छट्टु छिमेकी हुँदा दुखेको सिमानाको पीडा सुनाउँदै थिए । केही समय अगाडि कञ्चनपुरमा भारतीय प्रहरीद्वारा मारिएका नेपाली गोविन्द गौतमलाई सम्झिँदै उनले गजलका शेर सुनाउँदा श्राेताहरु सोचमग्न बने ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, दक्षिण कोरिया च्याप्टरले गजल मुशायरा कार्यक्रममा न्यौपानेसहित चार जना गजलकारले गजल सुनाए । उनीपछि नवीन नेपाल, विनोद परिवर्तित र सरोज भण्डारीले आफ्ना आधा दर्जन गजल सुनाउँदै माहौल तताए ।

न्यौपानेपछि मञ्चमा उभिएका नेपालले परदेशको पीडालाई सुनाए । अर्का गजलकार विनोद परिवर्तितले जीवन दर्शनका गहिरा सेरहरु सुनाए । अन्तिम क्रममा आएका गजलकार सरोज भण्डारीले देशको अवस्था सम्झिए ।

कार्यक्रममा पूर्वेली गाउँले, गंगा बस्नेत, सुनील दिप्त राई, बाबु साइँला, विष्णु वाग्ले, रामचन्द्र लामिछाने, दिपेन्द्र भट्टराई, रेशम अधिकारी, गोपीकृष्ण लामिछाने लगायतले पनि गजल वाचन गरेका थिए ।

केही महिना अघि काव्य सुधा अन्तर्गत कविता वाचन कार्यक्रम गरेको अनेसास कोरियाले यसपालि  ‘गजल मुशायरा’ आयोजना गरेको हो । काव्य-सुधाको आगामी शृङ्खला मुक्तक वाचनको हुने आयोजक प्रमोद सारङ्गले जानकारी दिए ।

कार्यक्रममा गजल वाचन गर्ने चार गजलकार र सञ्जय घिमिरे र हमाल ठकुरीलाई पनि कदरपत्र दिइएको थियो । कवि जीवन खत्री, समीर कार्की, बलदेव भट्टराई लगायतले नेपाली गजलबारे धारणा राखेका थिए ।

अनेसास कोरियाले आगामी मे ७ र ८ तारिखमा एसिया साहित्य सम्मेलन गर्ने जानकारी दिँदै संस्थाका अध्यक्ष क्रिश गुल्मेली बाबुले यसका लागि सहयोग गर्न कोरियाका नेपाली संघ-संस्था र व्यक्तिहरुलाई आग्रह गरे । सम्मेलनमा नेपालसहित एसियाका अन्य मुलुकहरूबाट कवि, साहित्यकारहरू निम्त्याउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment