Comments Add Comment

‘अनागरिक’ नेपाली हिरोः बक्सिङ खेलाडी सुशील थापा

१५ चैत, काठमाडौं । हरेक मानिसले आआफ्नै लक्ष्य राख्छन्-कोही डाक्टर बन्न चाहन्छन्, कोही इन्जिनियर । कोही पाइलट त, कोही खेलाडी । बक्सिङ खेलेरै राष्ट्रिय च्याम्पियन बनिसकेका नक्सालका २३ वर्षीय सुशील थापाको भने एउटै लक्ष्य छ- नेपाली नागरिक भएको आधिकारिक प्रमाणपत्र पाउने ।

सुशीलका आमाबाबु सानैमा काठमाडौं पसेका थिए । बाल्यकालमै गाउँ छाडेका शिव थापा नक्सालको एक मोटर ग्यारेजमा काम गर्न थाले । आफू कुन ठाउँबाट राजधानी छिरेको हो, त्यो पनि उनलाई हेक्का भएन । राजधानीको ठूलो भीडमा उनी भने सहाराविहीन थिए । त्यस्तै अन्योल थियो, सुशीलकी आमा शान्तिको पनि । उनलाई सानै उमेरमा काकाले डोर्याउँदै काठमाडौं ल्याएका थिए । नक्सालको एउटा घरमा काम गर्न राखेर हिँडेका उनका काका कहिल्यै फर्केर आएनन् ।

समयले कोल्टे फेर्दै गयो । सानैमा काठमाडौं छिरेका शिव र शान्ति जवान भए । नक्सालमै ओहोरदोहोर गर्दागर्दै आँखा जुध्यो । मनको बह साटासाट भयो अनि बिरानो सहरमा एकअर्काको सहारा बनेर जीवन बिताउने निधो गरे । उनीहरूले नक्सालमै कोठा लिएर गुजारा चलाउन थाले । शान्तिले घरव्यवहार समालेपछि शिवले ग्यारेजमै दिन बिताउन थाले । उनीहरूले न बिहे दर्ता गरे, न त नागरिकता नै बनाए । त्यसको आवश्यकता उनीहरूलाई कहिल्यै परेन । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

यस्तैमा २०५१ सालमा जेठो सन्तानका रूपमा सुशीलको जन्म भयो । समय बित्दै गयो । सुशील नक्सालको नन्दी माविमा पढ्न थाले । त्यहीं पढ्दै गर्दा उनका बुबाले काम गर्ने वर्कसपका साहूले एसएलसी पास गरेपछि नागरिकता बनाइदिने आश्वासन दिए । उनकै सल्लाहमा एसएलसीको फाराम भर्दा सुशीलले कीर्तिपुरको ठेगाना राखे । कडा मेहनत गरेर एसएलसी पास गरे तर साहूले नागरिकता बनाइदिने आफ्नो वाचा पूरा गरेनन्् । त्यसपछि उनी आफैंले धेरैपटक प्रयास गरे । धेरैसँग हारगुहार गरे । बुबाआमाकै नागरिकता नभएपछि उनले पनि नागरिकता पाउन सकेनन् ।

यस्तैमा उनलाई साथीले राष्ट्रिय खेलाडी भएपछि नागरिकता पाउने आस देखाए । त्यही आसमा उनी बक्सिङको रिङमा छिरे । नक्साल बक्सिङ सेन्टरबाट ‘बक’ हान्न सिकेका उनले चर्चित खेलाडी बन्ने लक्ष्य लिएर दिनरात मेहनत गरे । ‘मैले आफ्नो लक्ष्य नै नागरिकतालाई बनाएँ । त्यही लक्ष्य लिएर हरेक प्रतियोगितामा रिङमा ओर्लन्थें’, गत पुसमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक जितेका सुशीलले भने ।

२०७१ सालमा बुबाको निधन भएपछि भने आफूले नागरिकता पाउने आस गुमाएको सुशील बताउँछन् । ‘बुबा छउन्जेल नागरिकता पाउँछु भन्ने आस थियो तर उहाँ बितेपछि आस मरेको छ’, उनी भन्छन् । उनका एक भाइ पनि छन् । अहिले नौ कक्षामा पढ्दै गरेका भाइले पनि नागरिकता नपाउलान् भन्ने चिन्ता उनलाई छ । ‘मैले त लक्ष्य नै नागरिकता बनाएको छु । जीवनभर यही लक्ष्यमै हुनेछु तर भाइले चाहिँ मैलेजस्तो समस्या नबेहोरोस् भन्ने हो’, उनी भन्छन्, ‘राष्ट्रको वास्तविक नागरिक बन्ने चाहनाले बक्सिङको रिङमा छिरें । कडा परि श्रमपछि राष्ट्रिय च्याम्पियन पनि बनें । खेलकुद क्षेत्रमा लागेपछि राष्ट्रले सम्मान त दियो तर सक्दो प्रयास गर्दा पनि पहिचान पाउन सकिनँ ।’

सातौं राष्ट्रिय खेलकुदमा मध्यमाञ्चलको टोलीबाट स्वर्णपदक जित्नुअघि पनि उनी धेरै प्रतियोगितामा भिडे । विभागीय टोलीको दबदबा रहेको अवस्थामा उनले धेरैपटक हार बेहोरे । नहारी जित्न सकिन्न भन्ने बुझेका उनले हारलाई नै जितको मन्त्र बनाए । गत भदौमा सातदोबाटोमा आयोजना भएको खुला राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक जितेपछि भने उनले पछि फर्कनुपरेको छैन । सातौं राष्ट्रिय खेलकुदमा नेपाली सेनाका सुवास विकलाई हराउँदै उनले स्वर्णपदक जितेका थिए ।

सन् २०१९ मा नेपालमै आयोजना हुने भनिएको १३ औं साग र अर्को वर्ष हुने एसियाली खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पदक जित्ने सम्भावना भएका विभिन्न खेलको राष्ट्रिय टोली निर्माण गरी प्रशिक्षण दिँदै आएको छ । ४९ केजी तौलसमूहका राष्ट्रिय च्याम्पियन सुशीलले पनि त्यहाँ नियमित प्रशिक्षण लिइरहेका छन् । तर नागरिकता नहुँदा विदेशमा हुने प्रतियोगितामा सहभागी हुन पाउँदिनँ कि भन्ने चिन्ताले उनलाई सताइरहेको छ । ‘नागरिकता नभई पासपोर्ट बन्दैन । पासपोर्ट नै नभएपछि विदेशमा कसरी सहभागी हुन पाउनु’, नागरिकताका लागि धाउँदाधाउँदै निराश बनेका सुशील प्रश्न गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment